बाल्यकालमा उनी दुब्ली थिइन्। त्यसैले साथी र आफन्त भन्थे, ‘तँ नराम्री छेस्। तेरो बिहे हुँदैन।’
आफ्नाले भनेपछि उनलाई पनि नराम्रै रहेछु भन्ने लाग्थ्यो। आफ्नो रुप र शरीरसँग ग्लानि हुन्थ्यो। मोटाघाटा साथीहरुका सामु उभिँदा धर्मराउँथ्यो आत्मविश्वास। त्यहीकारण अरुणा उप्रेतीले प्रण गरिन्, ‘मैले अरुभन्दा विशेष केही गरेर देखाउनु पर्छ। स्वाबलम्बी बन्नु पर्छ।’
त्यसपछि उनले आफ्नो सम्पूर्ण शक्ति अध्ययनमा खर्च गरिन्। स्कुल पढ्दादेखि नै उनले थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यका किताब पढिन्। मनोबल कमजोर भएका बेला उनमा ‘तिमी विशेष हौ’ भनेर सम्झाउन उनका बुबा नजिकै हुन्थे। छोरीले भनेका किताब किनेर ल्याइदिन्थे। यसरी विभिन्न भाषाका किताब अध्ययनले अरुणालाई संसार बुझ्न सहज बनायो। स्कुल पढ्दै उनका बुवाले एउटा डायरी दिएर भनेका थिए ‘तिम्रो हरेक दिनको दैनिकी लेख्नू।’
उनको त्यो बानी अहिले पनि कायमै छ।
पढ्नेबाहेक अन्य कुरामा घरमा कडा अनुशासन पालना गर्नु पथ्र्यो। घरबाहिर निस्कन अनुमति माग्नु पर्ने, अनुमतिबिना साथीभाई भेट्न पनि नपाइने स्थिति थियो। अहिलेको तुलनामा समाज निकै पछाडि थियो। धेरै छोरीहरुलाई त घर, परिवार र बच्चाभन्दा पर आफ्नो जिन्दगी हुन्छ भन्ने पनि थाहा थिएन। तर, त्यो बेला अरुणाका बुबाले भने उनको चेतनामा एकै पटक दुई सपनाको बिज रोपिदिएका थिए– ‘तिमी डाक्टर र लेखक बन्नु पर्छ।’
७ वर्षको प्रेमपछि विवाह
बुबाले देखाएको बाटो। आफैँले गरेको प्रतिज्ञा। जसका कारण जन्मिएको अध्ययनको भोक। त्यही भोक मेट्न उनी विदेश पुगिन्। त्यहीँ डाक्टरी पढ्न पुगेका विश्वबन्धु शर्मासँग उनको भेट भयो। चिनजान मित्रता हुँदै प्रेममा परिणत भयो। उनीहरु एकअर्काको प्रेममा गहिरोसँग पर्न नपाउँदै विश्वबन्धुको नेपाल फर्किने समय भइसकेको थियो। अरुणाको भने भर्खर पढाइ सुरु भएको थियो। विश्वबन्धु फर्किए। अरुणा उतै बसिन्।
झण्डै ६ वर्ष यो जोडीले आफ्नो प्रेम पत्रमा आदानप्रदान गरिरह्यो। टेलिफोन निकै महंगो थियो। संवादका लागि चिठीबाहेक अर्को विकल्प थिएन। अध्ययन सकेर अरुणा नेपाल आएपछि विवाह भयो।
अरुणाले विवाह गर्दा उनीसँगै पढ्ने प्रायः साथी आमा भैसकेका थिए। अरुणाको उमेर पनि परिपक्व भैसकेको थियो। त्यसैले पनि उनले आमा बन्न धेरै ढिला गरिनन्। विवाह गरेको अर्को वर्ष उनी आमा बन्ने भइन्। प्रसूति अस्पतालमा काम गर्ने अरुणाले महिनावारी रोकिएपछि आफैँले काम गर्ने अस्पतालमा परीक्षण गरिन्। प्रेगनेन्सी रिपोर्ट पोजिटिभ आउँदा उनी निकै खुसी भइन्।
पेट बढ्दै जाँदा लाज बढ्दै जान्थ्यो। नियमित चेकअप गर्ने चलन भर्खर सुरु भएको थियो। नियमित हिँडडुल, स्वस्थ खाना, सामान्य काम गरिरहेकी अरुणालाई गर्भावस्थाको समयमा कुनै समस्या देखिएनन्। हिजोआज गर्भावस्थामा विशेष ख्याल गर्नु पर्ने, हिँडडुल गर्नै नहुनेजस्ता भ्रमित मान्यता विकास हुँदै गएकोमा अरुणा चिन्ता व्यक्त गर्छिन्। भन्छिन्, ‘सामान्य हिँडडुल, हलुका कामले राम्रो गर्छ। त्यसैले जटिल अवस्था छैन भने सामान्य काम र हिँडडुल गरौँ।’
अन्य समयमा भन्दा गर्भावस्थाको बेला पारिवारिक मेल नभए महिला निकै विक्षिप्त हुने उनले देखेकी छन्। अरुणाको भने पारिवारिक वातावरण निकै सुन्दर थियो।
जुम्ल्याहामध्ये एक भ्रूणको मृत्यु भएपछि
परिवारको राम्रो साथ। स्वस्थ र समस्यारहित गर्भावस्था। उनको मनस्थिति निकै बलियो थियो। तर, अस्पतालमा काम गर्ने अरुणाले कयौँ मृत बच्चा जन्मिएको दृश्य देखिन्। कयौँ महिलाले बच्चा जन्माउन नसकेर मृत्युवरण गरे। यी सबै दृश्य नजिकबाट नियालेकी अरुणाको मन बेलाबेला कमजोर हुन्थ्यो। उनी सोच्थिन्, ‘मेरो बच्चालाई पनि केही भयो भने!’ फेरि स्वस्थ बच्चा जन्माएका आमालाई हेर्थिन्, प्रसूति वार्डमा खेलिरहेका बच्चा नियाल्थिन् र आत्मविश्वास फर्काउँथिन्। पहिलो पटक उनले प्राकृतिक रुपमै स्वस्थ छोरी जन्माइन्।
जेठी छोरी दुई वर्ष भएपछि अरुणा दोस्रो पटक गर्भवती भइन्। यो पटक उनको पेट थोरै समयमै निकै बढेको थियो। उनको पेट हेरेर आफन्तले भन्थे, ‘तिम्रो पेटमा दुई वटा बच्चा छन्।’ उनले ५ महिनापछि सोनोग्राम गराइन्। डाक्टरले पनि भने, ‘तिम्रो पेटमा दुई वटा बच्चा छन्। तर एउटा मरिसकेको छ। अलि चाँडै आएको भए गर्भपतनका लागि सुझाव दिन्थेँ। अब निकै ढिला भयो।’
अरुणा छाँगाबाट खसेजस्तै भइन्। मृत बच्चासँगै हुर्किएको जीवित बच्चामा शारीरिक तथा मानसिक अपाङ्गता आउन सक्छ भन्ने अरुणा आफैंलाई थाहा थियो। सोही कुरा डाक्टरले पनि सुनाए। यो समय अरुणा निकै ठूलो पीडाबाट गुज्रिन्।
उनलाई कमजोरी महसुस हुन्थ्यो। बारम्बार उनको दिमागमा आउँथ्यो, ‘मेरो बच्चा स्वस्थ जन्मिएन भने के गरौँला? कसरी स्याहार गरौँला, कसरी हुर्काउँला?’ यस्तै भावनाको असर दिमागमा बोकेर हिँडेकी अरुणालाई जतिबेलै रुन मन लाग्थ्यो। रुन्थिन्। श्रीमानसँग पनि छलफल हुन्थ्यो। श्रीमान् भन्थे, ‘जे हुन्छ, त्यो भोग्नु पर्छ चिन्ता नगर।’ श्रीमानको कुराले थोरै आँट त आउँथ्यो। फेरि, सम्झिन्थिन्, ‘मेरो पेटमा दुइटा बच्चा छ। एउटा मरिसक्यो अर्कोमा पनि अपाङ्गता हुन सक्छ।’ उनलाई आफैँसँग कहाली लागेर आउँथ्यो।
महिना पुगेपछि बच्चा उल्टो बस्यो। उनले प्राकृतिक रुपमा बच्चा जन्माउन सकिनन्। टिचिङ अस्पतालमा अप्रेसन गरेर उनको बच्चा निकालियो। गर्भमै मरेको बच्चा सुकेर बसेको थियो। उनले राम्रोसँग हेर्न सकिनन्। स्वस्थ जन्मिएकी छोरीलाई पनि अरुणाले झट्ट हेर्न सकिनन्। आँखा चिम्म गरिन् र कामना गरिन्, ‘हे भगवान जन्मिएको बच्चा ठीकठाक होस्।’ छोरी हेर्ने आँट जुटाउन उनलाई लामो समय लाग्यो।
यसपटक उनलाई ‘पोस्ट डेलिभरी डिप्रेसन’भयो। डिप्रेसनका कारण अरुणालाई आफ्नै बच्चाको माया लाग्दैनथ्यो। लाग्न त उनलाई त्यो समय आफ्नै पनि माया लागेन। दिनहरू निकै उदास लाग्थे। खान मन लाग्दैनथ्यो। उनका श्रीमान् मानसिक रोग विशेषज्ञ हुन्। श्रीमानले भने, ‘अरुणा तिमीलाई डिप्रेसन भयो।’ अरुणा श्रीमानको कुरा मान्न तयार भइनन्। भन्थिन् ‘मजस्तो बहादुर मान्छेलाई कहाँ डिप्रेसन हुन्छ, हुनै सक्दैन।’ यही विषयलाई लिएर श्रीमानसँग उनी झगडै गर्न तयार हुन्थिन्।
त्यो समय सुत्केरीपछिको अवस्थालाई लिएर छलफल, बहस नै हुँदैनथ्यो। आफैँ डाक्टर भएकी अरुणालाई समेत थाहा थिएन, ‘पोस्ट डेलिभरी डिप्रेसन’ हुन्छ भनेर। त्यतिबेलासम्म महिलाको गर्भावस्था र सुत्केरीपछिको मानसिक तथा शारीरिक स्वास्थ्यलाई लिएर नेपालीमा कुनै सामग्री प्रकाशित भएको उनले देखेकी थिइनन्। त्यहीबेला उनले एक अंग्रेजी पत्रिकामा ‘महिलामा सुत्केरीपछि हुने डिप्रेसन’का बारेमा लेखिएको लेख पढिन्। त्यसपछि बल्ल आफूलाई डिप्रेसन भएको स्वीकार गरिन। केही समय औषधि खाइन्। बिस्तारै ठिक भएपछि उनी काममा फर्किन्। अहिले अरुणा गर्भवती र सुत्केरीलाई आफ्नो अनुभव सुनाउँछिन् र आत्मबल प्रदान गर्छिन्। आफू गर्भमा हुँदा आमाले भोगेको मानसिक उतारचढाव, जन्मिएपछि भएको डिप्रेसनबारे सुन्दै हुर्किएकी अरुणाकी कान्छी छोरी अहिले मानसिक रोग विशेषज्ञ छिन्।
‘बलिया महिला पनि कमजोर आमा हुने रहेछन्’
अरुणा सयुंक्त परिवारमा थिइन्। उनको परिवारमा त्यतिबेला २५ जना थिए। ठूलो परिवारका बेफाइदा पनि थिए होलान्। तर, उनका लागि ठूलो परिवार शक्ति साबित भयो। परिवारकै कारण उस्तै उमेरका दुई छोरी हुर्काउन उनलाई समस्या भएन। भन्छिन्, ‘अहिलेको पुस्तालाई बच्चा हुर्काउन गाह्रो हुनुका पछाडि साथमा परिवार, पाको पुस्ता नहुनु हो। अहिलेका आमाहरुले बच्चा हुर्काउन गर्नु परेको सम्झौता हेर्छु अनि सोच्छु, मलाई त कति सजिलो भएको रहेछ।’
सुत्केरी भएको ३ महिनापछि अरुणा नियमित काममा फर्किएकी हुन्। कामको समयमा बच्चाले के खायो होला, रोयो होला भनेर पिर लिनु परेन। तैपनि आमाको मन आत्तिरहन्थ्यो। कतिबेला घर पुगौँ र छोरीलाई काखमा लिऊँ भन्ने हुन्थ्यो। सधैँ हिँडेको बाटो लामो लाग्थ्यो। बाटोमा थोरै जाम पर्दा चिटचिट पसिना आउँथ्यो।
‘बच्चा बिरामी हुँदा आमालाई निकै पीडा हुने रहेछ,’ अरुणा आफ्नो अनुभव सुनाउँछिन्। ठूली छोरी डेढ वर्षकी हुँदा निकै बिरामी परिन्। झाडा पखालाले सिकिस्त भएकी छोरी भर्ना गरेर कान्ति अस्पतालमा बसेकी अरुणाले त्यो समय सोच्न हुने कुरा पनि सोचिन्, सोच्न नहुने कुरा पनि सोचिन्। आफूलाई बलियो महिला ठान्ने अरुणाले आँसु झारेर कयौँ रात काटिन्। भन्छिन्, ‘सबै हिसाबले बलिया महिला पनि कमजोर आमा हुने रहेछन्।’ आफू अस्पतालमा हुँदा अरुको बच्चाको उपचारमा संलग्न अरुणा आफ्नो बच्चाको अवस्था हेरेर डाक्टरसँग भन्थिन् ‘मेरो छोरी मर्न त मर्दिन होला नि!’
बच्चा छाडेर काममा हिँड्ने आमाका आफ्नै खाले दुःख पनि छन्। अरुणाका छोरीहरू एक समय उनीसँग भन्दा परिवारका अन्य सदस्यसँग झ्यामिन्थे। आफ्ना छोरीहरू आफूसँग टाढा भएको देख्दा उनलाई बारम्बार पोल्थ्यो। सोच्थिन्, ‘मैले काम, करिअर भनेर गल्ती त गरिरहेकी छैन?’
‘छोराछोरीले आमाबाबुबाट टाढा नहुने भनेर पढ्छौँ, पढाउँछौँ। तर भनेजस्तो हुँदैन रहेछ,’ उनी भन्छिन्। हजुरआमासँग हुर्किएकाले होला, अरुणाका छोरीहरुको हजुरआमाप्रतिको आशक्ति अहिले पनि उस्तै छ।
अहिले छोरीलाई सोध्छिन्— बच्चा चलिरहेको छ नि?
अहिले पनि एउटी महिलाले पहिलो सन्तान छोरा जन्मियो भने आफू सुरक्षित भएको महसुस गर्छिन्। समाजमा छोराको चाहना अहिले पनि उस्तै छ। आजभन्दा ३०/३२ वर्षअघि अझै गाह्रो थियो। अरुणाका दुई छोरी हुर्कँदै गर्दा उनले कयौँ पटक ‘छोरा कहिले?’ भन्ने प्रश्नको सामना गर्नु पर्यो। केही समयअघिको घटना सम्झँदै अरुणा भन्छिन्, ‘म कामको सिलसिलामा अछाम गएकी थिएँ। छोरो पाउने आशमा ३५ वर्षकी एक महिलाले १२ औँ पटक गर्भाधान गरेकी थिइन्। यसपटक उनले मृत बच्चा जन्माइन्, उनको पाठेघर फुट्यो। छोराका लागि एउटा महिलाको जीवन नै दाउमा राख्ने समाज हो हाम्रो।’
अरुणालाई भने यस्ता प्रश्नले असर गरेन। उनका श्रीमानसँग अन्य कुरामा मतान्तर हुन्थ्यो। बहस हुन्थ्यो। तर सन्तानलाई लिएर कहिल्यै मतभेद भएन। छोराछोरी एकै हुन्, यिनीहरुलाई राम्रो शिक्षा दिनुपर्छ भन्नेमा अरुणा र उनका श्रीमानको एक मत थियो। त्यसैले समाजका प्रश्न सामना गर्न सजिलो भयो।
अहिले उनकी एउटी छोरी डाक्टर र अर्को वकिल छन्।
अरुणाकी कान्छी छोरी आमा हुने तयारीमा छिन्। छोरीहरू जन्माउने बेलामा नआएको उत्साह र कौतुहल हजुरआमा बन्ने बेला आएको छ अरुणामा। भन्छिन्, ‘माया उल्टो बग्छ भनेको यही होला सायद। अहिले चाहिँ म उत्साहित छु।’
उनलाई हिजोआज निकै आनन्दको अनुभूति भइरहेको छ। हजुरआमाको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने तयारीमा रहेकी अरुणा हरेक दिन छोरीलाई फोन गर्छिन् र सोध्छिन् ‘बच्चा चलिरहेको छ नि?’
Shares
प्रतिक्रिया