जीवनका अनेक रङ हुन्छन्। रङअनुसारको जीवनको स्वाद फरक हुन्छ। त्यही स्वादअनुसार जीवनका अनुभूति फरक हुन्छन्। तर, ३० वसन्त पार गरेर छोरी, बुहारी, श्रीमती, आमा लगायतका फरकफरक भूमिका निर्वाह गरिसक्दा पनि लिलीलाई लाग्थ्यो, ‘मान्छेको जीवनमा दुःख पनि छ र?’ अर्थात् उनलाई दुःखको रङ थाहा थिएन। पतिको मृत्युपछि पहिलो पटक उनले गहिरो दुःख महसुस गरिन्।
त्यसबेला उनलाई छोराछोरी टुहुरा हुनुले ज्यादा पीडा दिएको थियो। छोराछोरी हुर्किंदै जाँदा उनीहरुका आँखाले बुबा खोज्दै लुकेर झारेका आँसु, अरुका छोराछोरी बुबाको हात समातेर हिँड्दा मुटुमा परेको गाँठोको अलग्गै कहानी छ लिलीसँग।
बुबाआमा सबैथोक
अहिले फर्किएर हेर्दा लिलीलाई लाग्छ, उनको बाल्यकालको सुनौलो थियो। लिली हुर्कने बेलासम्म उनका बुबाका ५ दाजुभाइ सगोलमा थिए। ठूलो कम्पाउन्ड भएको घर थियो।
त्यो समय समुदायको छुट्टै महत्व थियो। एउटाको घरमा केही पर्दा वल्लो–पल्लो टोलका मानिस जम्मा हुन्थे, एकले अर्कोलाई मद्दत गर्थे। टोलभरिका केटाकेटी जम्मा हुन्थे र खेल्थे। सबै मान्छे एकै परिवारका हुन् भन्ने लाग्थ्यो। टिभी थिएन। तेलकासा, गट्टा खेल्दै कालिकास्थानमा हुर्किएकी लिलीलाई बुबाआमा सबथोक हुन् भन्ने लाग्थ्यो।
सैन्य परिवारमा हुर्किएकाले जेठी छोरी भएर पनि लिलीले सानोमा खासै जिम्मेवारी उठाउनु परेन। सैनिक मुख्यालयबाट उनको बुबाको हातमा सरुवा पत्र परिरहन्थ्यो। त्यससँगै लिलीको स्कुल फेरिन्थ्यो। लिलीले बाल्यकालमै देशका धेरै भूभागको जीवन देखिन्, हेरिन। एसएलसी पास गर्दासम्म लिलीलाई समाजमा छोरा र छोरीबीच विभेद छ भन्ने पनि राम्रोसँग थाहा भएन।
लिलीको सपना थियो डाक्टर बन्ने। बिरामीको सेवा गर्ने र सन्तुष्टिको स्वास फेर्ने। त्यतिबेला डाक्टरी पढ्न धेरै दिल्ली जान्थे। अरु देश जाने पनि थिए। तर नेपालमा पढाइ सुरु भएको थिएन। एसएलसी पास गरेपछि उनको स्वच्छन्द जीवनमा लगाम लाग्यो। उनलाई भनियो, ‘छोरी भएर बाहिर पढ्न जाँदा डर हुन्छ।’ लिलीको डाक्टरी पढ्ने सपना तुहियो। उनी मानविकीमा भर्ना भइन्। त्यसपछि लिलीले राम्रोसँग बुझिन्, छोरा र छोरीलाई गरिने व्यवहार फरक रहेछ।
तर, बुबाआमासँग बहस गर्ने समय थिएन त्यो। उनी पद्मकन्या क्याम्पस भर्ना भइन् र बीए उत्तीर्ण गरिन्।
बुबाको इच्छा पुरा गर्न विवाह
बीए पास गरेपछि उनी पढ्न दिल्ली गइन्। उनी भर्खर भर्ना भएकी थिइन्। बुबा लामो समय बिरामी परे। दिल्लीमै एक वर्ष उपचार गराएर नेपाल फर्किए। उपचारपश्चात घर फर्किए पनि उनी बाँच्छन् भन्ने आशा आफन्तहरुलाई थिएन। दोस्रो अप्रेसन गर्नु पर्ने थियो। अप्रेसनअघि बुबाले भने, ‘जेठी छोरीको विवाह गरेर मात्रै दोस्रो अप्रेसनमा जान्छु।’
त्यो खबर आएपछि लिली नेपाल फर्किइन्।
लिलीको विवाह नक्सालको थापा परिवारमा भयो। उनका श्रीमान् सेनाकै डाक्टर थिए। श्रीमानको अनुहार पहिलो पटक उनले स्वयंवरमै देखिन्।
विवाहपश्चात लिलीको जीवन परिवर्तन भयो। स्नातकोत्तरको पढाइ छुट्यो। श्रीमान् बुझ्ने थिए। तैपनि उनी पढाइलाई निरन्तरता दिन दिल्ली जान पाइनन्। त्यसैले उनले श्रीमानसँग गुनासो गरिरहिन्, ‘तिमीले गर्दा मेरो पढाइ छुट्यो।’
दुई गर्भ खेर गए
विवाह गर्दा लिलीको उमेर परिपक्व भएकै थिएन। बिहेलगत्तै गर्भवती भएकी लिलीको पहिलो गर्भ खेर गयो। दोस्रो पटकको भ्रूण पनि हुर्किन पाएन। उनलाई त्यति धेरै पीडा भएन। तर, उनकी सासू भने ‘गर्भको ख्याल गर्नु पर्ने, आफ्नो गर्भको ख्याल गरिनौ’ भनिरहन्थिन्।
लिली तेस्रो पटक गर्भवती भएपछि भने उनका श्रीमानले ख्याल गरे। लिलीलाई डाक्टरले पूर्णरुपमा आराम गर्न भनेका थिए। गर्भावस्थाका सुरुवाती ३ महिना उनले वीर अस्पतालमै बसेर बेड रेस्ट गरिन। घर फर्किएर पनि उनले काम गरिनन्।
लिलीलाई समय काट्न निकै मुस्किल हुन्थ्यो। त्यसबेला भर्खर सीडी प्लेयरमा फिल्म हेर्ने चलन सुरु हुँदै थियो। उनका श्रीमान् हरेक साँझ घर फर्किंदा फिल्मका ४/५ वटा सिडी बोकेर पुग्थे। लिली ती सबै फिल्म एकै दिन हेर्थिन्। हरेक दिन डाक्टर दिव्यकुमारी राणा उनको घरमा आउँथिन् र सुई लगाइदिन्थिन्। गर्भावस्थामा सबैभन्दा धेरै पीडा लिलीलाई त्यहि सुई लगाउने समयमा हुन्थ्यो। डाक्टर आउपुगेको सुन्नासाथ उनको ज्यान फुलेर आउँथ्यो।
अस्पतालमा हुँदा उनलाई गुन्द्रुकको अचार मात्रै खान मन लाग्थ्यो। उनका श्रीमानलाई आमासँग भन्न लाज लागेछ। आमाले भान्सामा भर्खर भिजाएर राखेको गुन्द्रुक चोरेर उनी अस्पताल पुगे। खाँदा त्यसमा नुन, अमिलो केही थिएन। गुन्द्रुकको स्वाद कस्तो भयो लिलीलाई थाहा छैन, श्रीमानको माया भने निकै मिठो लाग्यो।
मासु नखाने उनी अत्यन्त कमजोर भएकी थिइन्। श्रीमानले मासुको रसमा अरु तरकारी हालेर दिन्थे। उनी त्यसैलाई शाकाहारी खाना मानेर खान्थिन्।
लिलीलाई पहिलो गर्भबाटै छोरीको रहर थियो। तर, उनलाई छोरा जन्माइन्। जेठो छोरा जन्मिएको ठ्याक्कै १२ महिनापछि अर्को छोरा जन्माइन्।
छोरीका लागि तेस्रो सन्तान
दोस्रो सन्तानपछि अर्को बच्चा जन्माउने कि नजन्माउने, दोधारमै लामो समय बित्यो। तर छोरी मोहले गर्दा उनले तेस्रो पटक आमा बन्ने निर्णय गरिन्। लिली तेस्रो पटक गर्भवती भएकै बेला श्रीमानले उनलाई मास्टर्स भर्ना गरिदिए। नेपालमा पहिलो पटक कम्प्युटर शिक्षा भित्रिएको थियो। त्यो पनि सिंहदरबार भित्र सिकाइन्थ्यो। लिली त्रिभुवन विश्वविद्यालयबाट एउटा कक्षा छाडेर कम्प्युटर सिक्न सिंहदरबार आउँथिन्।
बिहान कलेज जाने बेला कालिकास्थान माइतीमा छाडेको छोरो लिएर साँझ घर फर्किन्थिन्। त्यसैले तेस्रो गर्भावस्था भने सक्रियताकै माझ सकियो। उनले यसपटक छोरीको धेरै कल्पना गरिन्। यस पटक पनि उनले सोचेजस्तो भएन। लिलीले तेस्रो सन्तान पनि छोरालाई जन्म दिइन्।
लिलीले तेस्रो छोरा जन्माउने बेला डा. अरुणा उप्रेतीले भर्खर थापाथली अस्पतालको प्रसूति वार्डमा काम गर्न थालेकी थिइन्। अरुणा र लिली पहिलेदेखिकै साथी। डा. अरुणाले ‘तिम्रो छोरा भयो’ भन्दा लिली रुन थालिन्। साथी रोएको देखेर अरुणाले मजाकमा भनिन्, ‘तिम्रो छोरासँग अर्कैको छोरी साटिदिऊँ त?’
लिलीले जवाफ दिइन्, ‘हुन्छ।’
अहिलेसम्म पनि अरुणा लिलीको कान्छो छोरा भेट्दा भन्छिन् ‘तिम्रो ममीले तिमीलाई झण्डै साटिदिएको!’
लिलीलाई अहिले रमाइलो लाग्छ।
सन्तानसँग जोडिएको आँसु
लिलीसँग आँसुका थुप्रै कथा छन्। पीडाले दिएका आँसु मात्र होइन, आँसुले दिएका शक्तिका कथा पनि छन्। ती धेरै कथा उनका छोराहरुसँग गाँसिएका छन्। सन्तानसँग गाँसिएको लिलीको पहिलो आँसुको कथा भने वीर अस्पतालको प्रसूति वार्डमा कोरियो। उनले लामो प्रसव व्यथा सहेर छोरालाई जन्म दिइन्। जन्मिएपछि सबैभन्दा पहिला छोराको हात देखिन्। छोराको अति सानो हात देखेर लिलीका आँसु थामिएनन्। उनको मनमा के–के आयो, त्यो अहिले ठ्याक्कै याद छैन। तर आँसुको भल बग्यो। त्यो आँसुमा मातृप्रेम बगेको रहेछ, धेरै पछि उनले यो कुरा बुझिन्।
लिलीको परिवारमा लामो समयपछि बच्चा जन्मिएको थियो। छोरा जन्मिएको खुसियालीमा लिलीका श्रीमानले अस्पतालमै लड्डु बाँडे। अस्पतालबाहिर बसेका गरिबहरुलाई लुगा र मिठाइ दिए। दुई पटक गर्भपतन भएर जन्मिएको नातिलाई घरमा सबैले कृष्ण भगवान् भन्थे। आफ्नो छोरालाई सबैले माया गरेको देख्दा ढक्क फुलेर आउँथ्यो लिलीको मन।
लिली पहिलो पटक सुत्केरी हुँदा भर्खर जाडो सिजन सुरु भएको थियो। उनलाई घाममा बस्न र तेल लगाउन मन नलाग्ने। तेल लगाउन आउने दिदीलाई भन्थिन्, ‘आमाले सोध्नु भयो भने लगाएको भन्दिनु है।’ हात र खुट्टामा मात्रै तेल घसेर लिली कौसीबाट झर्थिन्। पछि मात्रै यसको महत्व उनले बुझिन्। भन्छिन् ‘सुत्केरीमा लगाएको तेलले आमाको शरीरलाई बलियो बनाउँछ, लगाउनु पर्छ।’
लिलीलाई छोरा हुर्काउन भने खासै गाह्रो भएन। संयुक्त परिवार, त्यसमाथि सहयोगी श्रीमान्। रातको समय प्रायः श्रीमानले नै बच्चा हेर्थे। लिलीलाइ लाग्छ, ‘म निकै भाग्यमानी श्रीमती थिएँ।’
माइलो छोरा जन्मिएपछि लिलीका श्रीमानको झापा पोस्टिङ भयो। उनी जेठो छोरा मावली छोडेर श्रीमानसँग झापा गइन्। काखमा माइलो छोरा त थिए, लिली भने काखबाट उछिट्टिएको जेठो छोरा सम्झिन्थिन् र रुन्थिन्। महिनैपिच्छे लिली काठमाडौं आउँथिन्। सेनाको हेलिकप्टरमा आउ–जाउ गर्थिन्। शारीरिक रुपमा कष्ट थिएन।
‘तर, मनको कष्ट उतार्ने कुन शब्द हुन्छ र? त्यसमाथि पनि सन्तानको सम्झनाको गाह्रो अर्कै हुन्थ्यो,’ लिली भन्छिन्। लामो समय लिलीका जेठो छोरो मामाघर नै बसे।
पतिवियोग
लिलीको मास्टर्सको थेसिस बाँकी थियो। कान्छा छोरा तीन वर्ष लाग्दै थिए। त्यही समय शान्तिसेनामा गएका उनका श्रीमान् उतै बिते। पतिवियोगले लिलीलाई यस्तो चोट दियो, उनलाई उठेर हिँड्न लामो समय लाग्यो। त्यसपछि लिलीले जीवनका लागि नै संघर्ष गर्नु पर्यो।
श्रीमान् बितेको १३ दिनसम्म उनले छोराहरु देख्न पाइनन्। उनका छोराहरु कालिकास्थान माइतीमा थिए। १३ दिनको दिन उनलाई भेटाउन ल्याउँदा आमाको उडेको रङरुपले उनका कान्छा छोराको सातो गयो। त्यसपछि ४५ दिनसम्म उनले पुनः छोराहरु देख्न पाइनन्। ४५ दिनपछि भने सबैको आग्रहमा उनले लुगा फुकाइन। रातोबाहेकका कपडा लगाइन्।
त्यो समय लिलीका सासूससुराको देहान्त भइसकेको थियो। विधवा छोरीलाई एक वर्ष नभई माइती लानु हुँदैन भनिन्थ्यो। तर लिलीकी आमा र भाइले विरोध गरे र लिली माइती गइन्। त्यसपछि उनी झण्डै एक वर्ष माइतीमै बसिन्। श्रीमान बित्दा लिलीको उमेर २९ वर्षको थियो। लिलीको माइतीमा थुप्रै केटाकेटी थिए। शोक बोकेर माइती गएकी लिलीका छोराहरुलाई मावलीका सबैले धेरै माया गरे।
त्यसपछि लिलीले आफूलाई तयार पारिन्, ‘मैले मेरा छोराहरुका लागि आमाबाबु दुवै भएर बाँच्नु पर्छ। उनीहरुका लागि बलियो भएर उठ्नु पर्छ।’ श्रीमानको बर्खान्त सकेर लिलीले माइती छाडिन। तर नक्साल घरमा फर्किन लिलीले सकिनन्। उनका श्रीमानले विशाल नगरमा जग्गा किनिदिएका दिए। त्यहीँ नयाँ घर बनाएर लिली माइतीबाट निस्किन्। उनले माइती छोडेपनि उनकी आमाले लिलीलाई छोडिनन्। उनीसँगै गएर आमाले नातिहरुको स्याहार गरिन। लिली बलियो हुँदै गइन्।
‘आमाहरु जति कष्ट सहेर पनि बच्चाका लागि बाँच्ने रहेछन्। बच्चाको मायाले जस्तो सुकै परिस्थितीमा पनि आमालाई बचाउँदो रहेछ,’ लिली भन्छिन्।
उनका श्रीमान् हुँदै लिलीले रोजबड स्कुल सुरु गरेकी थिइन्। उनी स्कुलमै सक्रिय भइन्। सामाजिक कार्यमा हात हालिन्। श्रीमानको वियोगकको घाउ के ले पूर्ति हुन्थ्यो र! तैपनि सबैको जाने बाटो त्यही हो भनेर उनले मन बुझाइन्। बिस्तारै शोक शक्तिमा परिवर्तन हुँदै गयो। आमा र नन्दको साथले उनलाई बलियो हुन थप बल दियो।
समय बित्दै जाँदा लिलीले श्रीमानका कामहरुलाई निरन्तरता दिन थालिन्। श्रीमानका सपना पछ्याउन थालिन्। उनी हरेक वर्ष आफ्ना छोराहरुलाई ठूलो होटलमा लैजान्थे, त्यहाँको खानको स्वाद चखाउँथे, काँटा–चम्चाले खान सिकाउँथे। छोराहरु आफ्नो सपनाको बाटो समातेर देशपरदेश हुनु अघिसम्म श्रीमानको यो परम्परालाई लिलीले पछ्याइरहिन्।
श्रीमान् हरेक वर्ष फागुपूर्णिमामा छोराहरुलाई रङ, पिच्कारी बोकेर होस्टल पुग्थे। श्रीमानको मृत्यु भएको वर्ष लिलीले रङ बोकेर छोराको होस्टल जाने मन गरिनन्। होलीको दुई दिनपछि उनकी नन्दले फोन गरेर भनिन्, ‘भाउजू, हजुरले बाबुहरुलाई होलीमा रङहरु लगिदिनु भएन, दाजुले सपनामा आएर तेरो भाउजूले बाबुहरुलाई होलीको रङ लगिदिइन भनेर दुःखी हुनुभयो।’ दुबै नन्दभाउजू डाँको छोडेर रोए। त्यसपछि लिलीले छोराका लागि श्रीमानले गर्ने गरेका हरेक कार्यलाई निरन्तरता दिइन्।
उनका सानो छोरालाई बुबाको धेरै सम्झना थिएन। ठूला दुई छोरा भने आमाभन्दा बाबुका प्रिय थिए। बुबालाई खुब धेरै मिस गर्थे। भन्न केही नसके पनि छोराहरुले महसुस गरेको बुबाको स्नेहको अभाव लिली सहजै थाहा पाउँथिन्। आमा रोएको देखेर पनि उनका छोराहरु भित्रभित्रै पिल्सिन्थे। आमालाई केही भन्दैनथे। राम्रो पढाइ भएका छोराहरुको केही समय पढाइ बिग्रियो। त्यसपछि छोराहरुले देख्नेगरी लिली कहिल्यै रोइनन्।
सन्तान विभाजनको प्रस्तावले दिएको पीडा
२९ वर्ष टेक्दै गरेकी विधवा हुँदा आमाको मन कति पिल्सिएको थियो, अनुमान गर्न सकिन्छ। उनलाई निकै माया गर्ने नन्द पनि लिलीको पुनः विवाह होस् भन्ने चाहना थियो।
एकदिन उनकी आमा र नन्दले विवाहको प्रस्ताव राखे। विवाहको प्रस्तावसँगै अघि सारियो सन्तान विभाजनको योजना। आमा र नन्दले उनका तीन छोरालाई तीन भाग लगाइदिएः एउटा छोरा फूपुको भागमा, एउटा आमाको भागमा र अर्को लिलीको भागमा। सन्तान विभाजनको प्रस्तावले उनलाई असह्य भयो। उनी छिनमै आक्रोशित भइन्। आमा र नन्दलाई ‘मेरो घरबाट गैहाल, गैहाल, गैहाल’ भनेर निकालिदिइन। उनी लामो समय उनीहरुसँग बोलिनन्। त्यसपछि कसैले उनीसामु विवाहको प्रस्ताव लिएर आउने हिम्मत गरेनन्।
अहिले त लिलीका छोरा हुर्किसके। उनका दुई छोरा विदेशमा छन्। एक जना छोरा नेपालमा छन्। सबैको कमाइ राम्रो छ। लिली राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य छिन्। उनका दुई नाति र दुई नातिनी छन्। नातिनी जन्मिएपछि भने उनले छोरीको अभाव मेटिएको छ। जिन्दगीका हर घाउ बिर्सिएर लिलीले निर्वाह गरेको आमाको भूमिकासँग उनी आफैँ सन्तुष्ट छिन्।
श्रीमान् हुँदासम्म ‘महिलालाई पनि दुःख हुन्छ र?’ भन्ठान्ने लिलीले श्रीमानको मृत्युपछि बल्ल दुःखको रङ देखिन्। त्यसपछि उनले मजस्तै कति होलान् भनेर खोज्दै गइन्। र, महिला अधिकारका क्षेत्रमा स्थापित भइन्। कहिले बच्चाका लागि करिअरसँग सम्झौता गरिन्, कहिले करिअरका लागि बच्चासँग सम्झौता गरिन्। आजसम्मको यात्राले लिलीलाई सिकाएको एउटै कुरा हो, ‘आमालाई हर परिस्थितिसँग हार्ने छुट छैन।’
Shares
प्रतिक्रिया