करुणा जन्मिँदा उनकी आमा नर्स थिइन्। त्यो समय स्वास्थ्य क्षेत्रमा महिलाहरु निकै कम थिए। उनकी आमा तिनैमध्ये एक थिइन्। तर, छोरी जन्मिएपछि आमाले नर्सिङ पेसालाई निरन्तरता दिन सकिनन्। चाहेको भए उनलाई रोक्ने कोही थिएन। छोरी छाडेर काम गर्न उनकी आमाले चाहिनन्। त्यही भएर आफूलाई हुर्काउन आमाले जागिर छाडेको चर्चा सुन्दै करुणा हुर्किइन्। उनको मनमा परिरह्यो, ‘आमा हुनु भनेको धेरै कुरा छुट्नु रहेछ।’
उनका बुबा पनि जागिरे। पुरुषलाई जति सहज थियो घरबाहिर निस्कन, महिलालाई थिएन। उनकी आमाले पनि छोरीका लागि राम्रो जागिर छाड्नि। करुणापछि दुई भाइबहिनी जन्मिए। छोराछोरी हुर्काउँदा हुर्काउँदै आमाले पुनः काममा फर्किन पाइनन्। तर, आमाले गुनासो गरेको उनले कहिल्यै सुनिनन्।
करुणा स्कुलबाट फर्किदा आमा आँगनमा हुन्थिन्। बाटोबाटै आमालाई बोलाउँथिन्। छोरी आउँदै गरेको हेरेर उनकी आमा मुस्कुराउँथिन्। आमाको खुसी देखेर उनलाई लाग्थ्यो, ‘छोराछोरी त आमाका खुसी रहेछन्।’ सायद त्यसैले होला करुणाले ‘एकदिन आमा बन्नु पर्छ’ भन्ने चेत उनले त्यतिबेलै प्राप्त गरिन्।
करुणाको अठोट थियो, ‘पहिला मास्टर्स त्यसपछि विवाह।’ घरमा बिहेको कुरा चल्दा करुणा भन्थिन् ‘मैले बिहे गर्ने मान्छेलाई मैले भेट्न पाउनु पर्छ, केही समय कुरा गर्न पाउनु पर्छ।’ तर सोचेको जस्तो भएन। करुणाको गजेन्द्र विष्टसँग मागी विवाह भयो। बिहे गर्दा करुणा मास्टर्स सकेर काउन्सिलर भइसकेकी थिइन्।
विवाहको चार महिनामा गर्भवती
विवाहलाई लिएर उनका ठूला सपना थिएनन्। उनलाई त सामान्य जीवन सहजताका साथ बाँच्नु थियो। त्यो सपनासँग उनको गहिरो लगाव थियो। एक वर्षपछि गर्भवती हुने उनको योजना थियो। तर, बिहेको चार महिना नबित्दै उनी गर्भवती भइन्।
गर्भवती भएपछि करुणा दुई किसिमको मनोदशाबाट गुज्रिन पुगिन्। एकातिर उनलाई रमाइलो अनुभूति भयो। अर्कोतिर, अब मैले के गर्ने भन्ने अन्योल थपियो। भविष्यका लागि बनाउँदै गरेका केही योजना तत्कालका लागि रोकिए। तर, उनी खुसी थिइने। करुणाभन्दा खुसी देखिन्थिन् उनकी आमा। श्रीमान र सासूको खुसीले पनि उनलाई झन् उत्साहित तुल्यायो।
गर्भावस्थाको सुरुवाती चरणबाटै उनलाई खाना रुच्दैनथ्यो। खाएको पेटमा अडिदैनथ्यो। शरीर कमजोर भएको महसुस हुन्थ्यो। तर, उनलाई झिँजो लाग्दैनथ्यो। उनी पेटमा बच्चा चल्न थालेपछिको खुसी व्यक्त गर्ने त कुनै शब्द थिएन उनीसँग। उनलाई गर्व हुन थाल्यो। भन्छिन् ‘मसँग कति ठूलो क्षमता रहेछ, त्यो क्षमताले मभित्र अर्को एउटा जीव हुर्काइरहेको छ।’
पहिलो गर्भावस्था भएकाले करुणाले धेरै कुरा सिक्नुपर्यो। आफैँमा आएका परिवर्तनहरुका बारेमा ज्ञान हुँदैनथ्यो। सानासाना कुरा आमाहरुलाई सोध्नु पथ्र्यो। तर उनी गर्भावस्थामा पनि सक्रिय थिइन्।
गर्भावस्थामा सबैले उनलाई ध्यान दिए। सबैजनाले माया गर्थे। के खान्छौ भनेर सोधिरहन्थे। मन लागेको कुरा ल्याइदिन्थे। करुणा गर्भवती हुँदा काँक्रोको सिजन थिएन। उनलाई काँक्रो खान मन लाग्थ्यो। उनका श्रीमान् काँक्रो खोज्न बजारमा भौँतारिन्थे।
‘श्रीमानले खोज्ने कोसिस गर्नु भयो। सकेको ख्याल राख्न खोज्नु भयो। त्यो प्रयास नै मलाई ठूलो लाग्थ्यो,’ उनी भन्छिन्।
सबैको माया र हेरचाह देखेर करुणालाई आफू महत्वपूर्ण महसुस हुन्थ्यो। आमाहरुका लागि गर्भावस्थाको खुुसीले ठूलो अर्थ राख्ने करुणाले पछि बुझिन्। उनी सुझाव दिन्छिन्, ‘खुसी आमाले खुसी बच्चा जन्माउँछिन्। गर्भवतीलाई सकेको खुसी दिने प्रयत्न गर्नुहोस्। गर्भावस्थाको बेला उनीहरुको हर्मोन सन्तुलनमा हुँदैन। यस्तो बेला अरुले उनीहरुलाई बुझ्नु जरुरी छ।’
गर्भावस्थाका सुरुवाती दिनमा करुणालाई पनि केही गाह्रो भयो। बिहे गरेको छोटो समयमै गर्भवती भएकी करुणालाई घरका मान्छेको स्वभाव राम्रोसँग थाहा थिएन। घरका मान्छे उनको स्वभावसँग परिचित थिएनन्। परिवार भन्थ्यो, ‘तागतिलो खानेकुरा खाऊ।’ उनलाई खान मन लाग्दैनथ्यो। सोच्थिन्, ‘उहाँहरुलाई मैले बहाना गरिरहेको भन्ने भान पो भइरहेको छ कि?’ यो भावना लामो समय टिकेन।
गर्भावस्थाको सुरुवाती दिन उनलाई सामान्य लागे। बेलाबेला उनी गर्भवती छु भन्ने पनि बिर्सिन्थिन्। पेट बढ्दै गएपछि गर्भवती भएकोमा ढुक्क हुन थालिन्। बच्चा चलमलाउन थालेपछि आफूलाई विशेष महसुस गर्न थालिन्। सुत्केरी हुने समय नजिकिँदै जाँदा करुणा आफैँ कोल्टे फेर्न नसक्ने भइन्। श्रीमानलाई मलाई अर्कोतिर फर्काइदिन भन्थिन्। श्रीमानको मायाले उनलाई झन् धेरै पगाल्थ्यो।
सुत्केरी हुने अघिल्लो रात करुणालाई योमरी खान मन लाग्यो। उनले भाइलाई भनिन्। भाइले ल्याइदिए। बेलुका उनी दुई वटा योमरी खाएर सुतिन्। राति उनलाई सुत्केरी व्यथा लाग्यो। करुणा अस्पताल भर्ना भइन्। रातभरि व्यथा लाग्ने र छाड्ने भइरह्यो। भन्छिन्, ‘दुखाइले गर्दा भित्तामा झुण्डिएको घडी नै नघुमेको जस्तो हुँदो रहेछ।’
नर्सहरु १२ घर खुलेपछि बच्चा जन्मिन्छ भन्थे। उनी नर्स डाक्टर आएपिच्छे ‘मेरो कति घर खुल्यो?’ भनेर सोध्थिन्। त्यसको संख्या बढ्दै जान्थ्यो। दुखाइ पनि बढ्दै जान्थ्यो। ६ घर खुलेपछि भने लामो समयसम्म रोकियो। करुणाले डाक्टरलाई भनिन्, ‘के मिस्टेक भयो? बाँकी कहिले खुल्छ?’
डाक्टरले भने, ‘अझै दुईतीन घन्टा लाग्छ।’ उनलाई त्यो तीन घन्टा कहिले बितेर जान्छ भनेर गन्न थालिन्। उनले सुनेकी थिइन्, ‘प्रसव व्यथाको बेला महिलाहरुले श्रीमानलाई गाली गर्छन्।’ करुणालाई भने श्रीमानसँग न रिस उठ्यो, न गाली गर्न आयो। उनको मनमा केवल ‘यो पीडा किन लिएँ, यो पीडा मैले लिनै पर्ने थियो त?’ भन्ने प्रश्न जन्मिरह्यो। फेरि उनी सोच्थिन्, ‘यो दुखाइ सकिएर बच्चा जन्मिएपछि त रमाइलै भइहाल्छ नि।’
अस्पतालमा उनीसँगै आमा हुने तयारीमा अन्य महिला पनि थिए। अरु महिलाका बच्चा जन्मिए भनेको सुन्दा मेरो कतिबेला जन्मिन्छ भनेर उनको मन अतालिन्थ्यो। आमा बन्ने पर्खाइमा रहेका अन्य महिलाभन्दा पहिला मेरो बच्चा जन्मिए हुन्थ्यो भन्ने लाग्थ्यो। बच्चा जन्मिने बेलामा उनीसँग दुई जना नर्स थिए। एउटा नर्सको हातमा पञ्जा रहेनछ। उनले खाली हातले बच्चा तानिन्। प्रसव व्यथाले छट्पटाइरहेकी करुणाले भनिन्, ‘तिम्रो र मेरो दुवै जनाको लागि यो जोखिम हो।’ भर्खरकी ती नर्सने भनिन्, ‘सरी दिदी। बच्चा आउनै लागिसक्यो, पञ्जा नभएको याद नै भएन।’ करुणाले उनलाई सम्झाइन्। दुख्दादुख्दै पनि बच्चा जन्मनेबित्तिकै संसार भुलेर नर्सलाई सम्झाउन सक्ने भइन्।
करुणाले अस्पतालमा छोरीलाई जन्म दिइन्। करुणाको घरमा छोरी बच्चा नजन्मिएको तीन पुस्ता भएको थियो। माइतीपट्टि उनकी छोरी नै पहिलो बच्चा थिइन्। उनकी छोरीले निकै महत्व पाइन्। ‘आफूले पाएको महत्वले भन्दा पनि आफूले जन्माएको बच्चाले पाएको महत्वले झन धेरै खुसी दिँदो रहेछ,’ करुणाले सुनाइन्।
जन्मिएको एक घन्टापछि छोरीलाई नर्सहरुले सफा गरेर ल्याइदिए। करुणाले छोरीलाई दूध चुसाइन्। छोरीले दूध चुस्न कोसिस गरिन्। त्यो क्षणको जस्तो स्वर्गीय आनन्द करुणालाई फेरि अहिलेसम्म भएको छैन। भन्छिन्, ‘त्यो नै मेरो छोरी र मबीचको पहिलो कम्युनिकेसन थियो। अहिले मेरो छोरी १६ वर्षकी भइन्। त्यो क्षण सम्झिँदा मलाई अहिले पनि ताजा अनुभूति हुन्छ।’
छोरीसँगको हरेक क्षण रमाइलो
पहिलो बच्चा कसरी हुर्काउने करुणालाई थाहा थिएन। छोरी रुन्थिन्। किन रोइन् भन्ने पनि उनलाई थाहा हुँदैनथ्यो। बोली नभएकी छोराका कुरा बुझ्न सुरुका केही दिन निकै गाह्रो भयो। करुणा बिस्तारै बानी पर्दै गइन्। त्यसपछिका छोरीसँगको हरेक क्षण राम्रो लाग्छ। भन्छिन्, ‘उसँगको जर्नी धेरै सिक्दै सिकाउँदै अगाडि बढ्यो। मलाई परिपक्व आमा बन्न उसले धेरै कुरा सिकाएको छ।’
सुत्केरी भएको ११ दिनमा करुणा माइत गइन्। घर र माइती दुवैतिर उनले राम्रो स्याहार पाइन्। करुणालाई अहिले पनि लाग्छ, ‘त्यस्तो विलासी जीवन मैले कहिल्यै बाँचेको छैन।’ त्यतिबेला उनलाई लाग्थ्यो, ‘सुत्केरी भनेको त यस्तो रमाइलो पो हुने रहेछ। मेरो जिन्दगी त अब सधैँ यस्तै हुन्छ कि क्या हो!’ राति राम्रो निदाउन नपाउँदा मात्रै करुणालाई ‘यो समय कहिले सकिएला’ भन्ने हुन्थ्यो।
करुणा छोरी जन्मिएको ६ महिनापछि मात्रै काममा फर्किन्। छोरी छोडेर काममा जाँदा पहिलाजस्तो सजिलो भएन। मन आत्तिएर घरमै पुगिरहेको हुन्थ्यो। उनकी छोरीलाई स्याहार गर्ने परिवारप्रति कुनै शंका थिएन। उनलाई थाहा थियो, उनले भन्दा राम्रोसँग उनको परिवारले छोरीको स्याहार गर्छन्। तैपनि आमा मन आत्तिरहन्थ्यो। उनलाई सबैभन्दा धेरै गाह्रो त छाती चस्किएपछि हुन्थ्यो। उनलाई ग्लानि हुन्थ्यो। उनी सोच्थिन्, ‘मैले उसले खाइरहेको दूध छुटाएर पाप गरिरहेछु।’ आफूलाई हुर्काउन जागिर छोडेकी आमा सम्झिन्थिन्। आमाको त्यागले शून्य बनाउँथ्यो उनको मन। उनले आमाले जस्तैगरी छोरीका लागि काम छोड्न सकिनन्। भन्छिन्, ‘त्यो समय मैले धिमा गतिमा काम गरेँ।’
दोस्रो पटक आमा
छोरी हुर्कंदै गर्दा करुणालाई दोस्रो सन्तानको चाहना थियो। उनकी छोरीले पनि ‘मलाई भाइ चाहिन्छ’ भनिरहन्थिन्। छोरी पाँच वर्षकी हुँदै गर्दा करुणा दोस्रो पटक गर्भवती भइन्। त्यसबेला उनले सोचिन्, ‘म फेरि गर्भवती हुन्नँ। यो समयका सबै कुरा महसुस गरेर बाँच्छु।’
पछिल्लो पटक गर्भावस्थाको समय उनलाई वाक्वाकी लागेन। जे खाए पनि मिठो लाग्थ्यो। करुणा झन् धेरै खुसी थिइन। त्यो समय उनको अनुहारको चमक हेरेर उनका साथी भन्थे, ‘मलाई पनि गर्भवती हुन मन लाग्यो।’ गर्भावस्थाको हरके समय उनलाई रमाइलो लाग्थ्यो। खाने कुरामा पनि सबै कुरा चाख्थिन्। उनको अफिसमा एउटा विदेशी साथी थियो। उसले भन्थ्यो, ‘तिम्रो बच्चा पछि बलियो हुन्छ होला, तिमीले सबैकुरा टेस्ट गरिरहेकी छौ।’
छोरीको पालामा भन्दा सबैकुरा अलग थियो। उनका आफन्तले भन्थे, ‘पहिलाको भन्दा फरक छ, तिम्रो छोरा जन्मन्छ।’ करुणालाई छोरा नै होस् भन्ने त थिएन तर छोरा जन्मियो भने छोराछोरी दुवैको अनुभूति गर्न पाइन्छ भन्ने सोचेकी थिइन्।
नभन्दै उनले दोस्रो पटक छोरालाई जन्म दिइन्। छोरा जन्माउन छोरीको पालामा जस्तो गाह्रो भएन, लामो प्रसव व्यथा लागेन। उनले डाक्टरलाई सोधिन्, ‘पहिला यस्तो गाह्रो भएको अहिले किन भएन?’ डाक्टरले भने, ‘सबैलाई दोस्रो पटक कम गाह्रो हुन्छ।’
करुणा गर्भवती भएपछि नै पाँच वर्षकी उनकी छोरीले भाइ आउँछ अब भनेर आमाको कोठा छाडेकी थिइन्। भाइसँग उनी रमाउँथिन्। भाइलाई राम्रोसँग स्वीकारेकी थिइन्। तर भाइ जन्मिएको १०/१५ दिनपछि उनी छिनछिनमा लुगा फेरेर आमा भएको ठाउँमा जान्थिन्। देखाउँथिन्। उनको बालमनोविज्ञानले आमाको ध्यान खोजेको रहेछ भनेर करुणाले निकै पछि थाहा पाइन्। तर, उनकी छोरीले भाइको रिस गरिनन्। दुई वर्षपछि भाइले चकचक गर्न थालेपछि भने एकदिन करुणाकी छोरीले भनिन्, ‘मैले यस्तो भाइ भनेको होइन। मैले अर्कै भाइ भनेको। ममीले कस्तो भाइ पाइदिनु भयो!’
उनले सोधिन्, ‘कस्तो भनेको थियो त?’
उनी पुतली देखाउँथिन् र भन्थिन्, ‘यस्तै भनेको।’
भाइप्रति करुणाकी छोरीको असन्तुष्टि त्यति नै हो। अन्यथा अहिलेसम्म पनि दिदीभाइ निकै मिल्छन्। भाइलाई धेरै कुरा सिकाउँछिन्। भाइ पनि दिदीले सिकाएकोमा खुसी हुन्छन। छोराछोरीको खुसी देखेर करुणा सबै थकान बिर्सिन्छिन्।
करुणाका छोरा हुर्कंदै छन्। छोरी भने कलेज पढ्ने भइन। उनीसँग धेरै जिज्ञासा छन्। किशोरावस्थामा प्रवेश गर्दैगर्दा छोरीमा महिनावारीबारे जिज्ञासा हुन्थे। अलिपछि प्रेम, क्रस र आकर्षणका बारेमा। अहिले भविष्यका योजना छन्। करुणाले हरेक समय छोरीलाई सहज हुने तरिकाले उनीसँग कुरा गरिन्। छोरीलाई हरेक परिस्थिति सामान्य लागे। आमाछोरीको सम्बन्ध धेरै राम्रो छ।
करुणाले उनका छोराछोरीले बुझ्ने नहुँदै कथा सुनाउने समय राखिन्। हरेक साँझ सँगै राखेर उमेर अनुसार कथाको ढाँचा परिवर्तन गर्दै लगिन्। त्यसैले नै बच्चा र अभिभावकबीच निकटता बढेको उनको बुझाइ छ। भन्छिन्, ‘हरेक आमाबाबुले आफ्ना बच्चाहरुका लागि समय छुट्याउनु पर्छ।’
करुणाले तत्काल छोराछोरीका लागि राम्रो शिक्षाबाहेक अर्को कुनै सपना देखेकी छैनन्। करुणालाई आफ्ना छोराछोरीले आफ्नै गन्तव्य लिएर आएका छन् भन्ने लाग्छ। भन्छिन्, ‘उनीहरुलाई त्यो गन्तव्यमा पुग्नका लागि साथ दिने मात्रै हो।’ उनी छोरीलाई भनिरहन्छिन् ‘तिम्रो जीवनको सपना तिमी आफैँ देख। तिमीले देखेको सपनासम्म तिमीलाई पुर्याउन तिम्रो मामु तिम्रो साथमा छु।’
Shares
प्रतिक्रिया