साहित्यकार विजय मल्लको चर्चित कथा छ, ‘कृष्णे र खुकुरी’। कथा पढ्न थाल्दा थाहा हुन्छ, कृष्णे ज्ञानी पात्र हो।
उसको घरमा एउटा खुकुरी पनि छ। सुन्दर श्रीमती पनि छिन्।
तर, जब घरमा बसिरहेका बेला उसले खुकुरी देख्छ, उसले खुकुरीबारे नानाथरिका तर्कवितर्क गर्न थाल्छ। खुकुरीको धारको क्षमताबारे उसमा कुतूहल जाग्छ। उसलाई खुकुरीको धारको क्षमता परीक्षण गरुँगरुँ लाग्छ।
तर्क–वितर्कसँगै खुकुरीको धारको परीक्षण ऊ आफ्नै श्रीमतीमाथि गर्न पुग्छ। खुकुरी धारिलो रहेछ भन्ने कुतूहल मेटाउन श्रीमतिमाथि खुकुरी प्रहार गर्छ।
खुकुरी प्रहारका कारण घाँटी छिनालिन्छ। श्रीमतीको तत्काल मृत्यु हुन्छ।
साहित्यकार मल्लको मनोवैज्ञानिक कथा ‘कृष्णे र खुकुरी’ ले दिन खोजेको सन्देश के हो भने हतियार साथमा भएपछि असल मान्छेले पनि त्यसको गलत प्रयोग गर्न सक्ने सम्भावना रहन्छ।
बाइस वर्षअघि २०५८ जेठ तेस्रो साता नेपालमा यस्तै घटना भयो। १९ जेठ (२०५८) का दिन नारायणहिटी राजदरबार, त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा भएको हत्याकाण्डमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित तत्कालीन राजपरिवारको वंशनाश नै हुन पुग्यो।
राजा–रानीमात्र होइन, वीरेन्द्रपछि राजगद्दीका उत्तराधिकारी युवराज दीपेन्द्र (२१ जेठमा मृत्यु) उनकी बहिनी अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजन पनि त्यो घटनामा मारिए।
अधिराजकुमारी शान्ति (राजा वीरेन्द्रकी दिदी), अधिराजकुमारी शारदा र कुमार खड्कविक्रम राजाका दिदी (भिनाजु), शाहज्यादी जयन्ती पनि त्यो घटनाको सिकार बने। राजाका कान्छा भाइ पूर्वअधिराजकुमार धीरेन्द्रको तीन दिनपछि २२ जेठमा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भयो।
प्रत्येक महिनाको तेस्रो शुक्रबार साँझ नारायणहिटीस्थित त्रिभुवन सदनमा शाही परिवारको जमघट हुने गथ्र्याे। त्रिभुवन सदन युवराज दीपेन्द्रको निवास थियो। आफ्नै निवासको त्यो जमघटमा युवराज दीपेन्द्रले प्रहार गरेको गोलीबाट भयानक नरसंहार हुन पुगेको थियो।
सत्ता–शक्ति हासिल गर्न इतिहासमा दरबारभित्र भएका अनेक हत्या श्रृङ्खला वा नेपालमा सदैव प्रभावशाली ‘कन्स्पिरेसी थ्योरी’ (षडयन्त्रको सिद्धान्त) का आधारमा दरबार हत्याकाण्डबारे अनेक भाष्य निर्माण भएका छन्।
तर,सबैभन्दा बलियो र प्रामाणिक मानिएको भाष्य के हो भने, आफ्नो विवाह र रोजाइकी केटी (देवयानी राणा) सम्बन्धमा दरबारभित्र देखिएको विवादका कारण युवराज दीपेन्द्रले त्यो शाही जमघटमा गोली चलाएका हुन्।
‘साहित्य समाजको ऐना हो’ भन्ने भनाइ छ। मल्लको कथाले दिन खोजेको सन्देशको चस्माबाट हेर्ने हो भने ‘कृष्णे र खुकुरी’ मा झैँ हतियार र त्यसले सिर्जना गरेको मनोवैज्ञानिक असरको पनि पो त्यो घटनामा भूमिका थियो कि भन्ने अनुमान गर्न सकिन्छ।
दरबार हत्याकाण्डका बेला युवराज दीपेन्द्रसँग ४ वटा हतियार थिए। ती हतियार प्रायःजसो उनको खोपी (सुत्ने कोठा) मा रहन्थे। के देखिन्छ भने १९ जेठका दिन दीपेन्द्रले हत्याकाण्डस्थल त्रिभुवन सदनको बिलियार्ड हलमा पुर्याएका थिए।
दीपेन्द्रसँग रहेका हतियार थिए– अमेरिकामा निर्मित एम–१६ कमान्डो राइफलको दोस्रो (ए टु) भर्सन, जर्मनीमा निर्मित एमपी– ५ के अटोमेटिक सब–मेसिनगन, इटलीमा निर्मित सिङ्गल ब्यारेलको १२ बोरको सटगन र अस्ट्रियामा निर्मित ग्लक पिस्तोल।
दरबार हत्याकाण्डको चौथो दिन गद्दी सम्हालेपछि शाही घोषणामार्फत् राजा ज्ञानेन्द्रले घटनाबारे छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए।
उच्चस्तरीय समितिले बयान लिएकामध्ये युवराज दीपेन्द्रका एडीसी (अंगरक्षक) सेनानी गजेन्द्र बोहोरा पनि थिए। बोहोराको भनाइमा घटनाको दिन दिउँसोदेखि साँझसम्म बाबुआमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग युवराज दीपेन्द्रको सम्बन्ध सामान्य र स्वाभाविक थियो।
त्यसदिन दिउँसोको खाना दीपेन्द्रले बाबुआमासँगै बसेर खाएका थिए।
‘श्री ५ युवराजधिराज सरकार दिउँसो २ः३० बजेतिर लन्चबाट फिर्ता भइबक्स्यो, लन्च बुबा–मुमासँगै गरिबक्सेको थियो,’ बोहोराले भनेका छन्, ‘दिउँसो ४ बजे नेसनल गेम्सका लागि सातदोबाटो (ललितपुर) सवारी भइबक्स्यो। सोपछि बुबा–मुमासँग सवारी हुनुपर्ने भएकाले त्यहाँबाट केही समयमै फिर्ती सवारी भइबक्स्यो। ५ः३० मा बुबामुमासँग ‘टी’ (चिया) का लागि सवारी हुनुपर्ने थियो।’
खासमा चियापानका लागि दीपेन्द्र बाबु वीरेन्द्र र आमा ऐश्वर्यसँग डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेको निवास पुगेका थिए। त्यहाँ उनीहरु करिब एकघण्टा रहे। बडागुरुज्यू निवासमा के कुराकानी भयो, सार्वजनिक भएको छैन।
पाण्डे (बडागुरुज्यू) निवासबाट फर्केपछि नारायणहिटी फर्कंदा राजा, रानी र युवराज नारायणहिटीको गणेश हिमाल कक्षसम्म सँगै थिए।
‘दरबार फिर्ती सवारीपछि अन्नपूर्णबाट महाराजधिराज सरकार आफ्नो अफिसतिर र बडामहारानी सरकार आफ्नो बंगलातर्फ सवारी होइबक्स्यो,’ सेनानी बोहोरा भन्छन्, ‘युवराजधिराज सरकार त्यहीँबाट विदा होइबक्स्यो। नर्मल्ली त्यसरी विदा हुने चलन छ। त्यहाँबाट फर्केर हामी त्रिभुवन सदन (दीपेन्द्रको निवास) मा आयौँ।’
अर्थात् त्यतिन्जेलसम्म पनि दीपेन्द्र सामान्य अवस्थामा थिए। साढे सात बजेदेखि त्रिभुवन सदनभित्र शाही परिवारका सदस्य र नातेदारहरुको जमघट सुरु हुँदा पनि दीपेन्द्र सामान्य अवस्थामा नै देखिन्थे। त्यही भएर हजुरआमा मुमा बडामहारानी रत्नलाई त्रिभुवन सदनसम्म ल्याउन दीपेन्द्र आफैँ महेन्द्र मञ्जिल पुगेका थिए। मुमा बडामहारानीको मर्सिडिज बेञ्जकार ड्राइभ गरी हजुरआमा रत्नलाई दीपेन्द्र आफैँले त्रिभुवन सदन नजिकैको पार्किङमा पुर्याएका थिए।
त्रिभुवन सदनभित्र शाही परिवारका सदस्य र नातेदारहरुको जमघट सुरु भइसकेको थियो। जमघटमा सबैभन्दा पछि राजा वीरेन्द्र पुगेका थिए। त्यसदिनका प्रमुख एडीसी महासेनानी सुन्दरप्रताप राणाको भनाइमा राजा वीरेन्द्र साँझ ८ः३०–३५ को समयमा त्रिभुवन सदन पुगेका थिए।
शाही परिवारका सदस्य–नातेदारहरुको आगमन चल्दै गर्दा दीपेन्द्रको मदिरापान सुरु भइसकेको थियो। त्रिभुवन सदनमा दीपेन्द्रको पोसाकसम्बन्धी जिम्मेवारीमा रहेका प्यूठ रामकृष्ण केसीका अनुसार त्यसबीचमा दीपेन्द्रले गाँजा र कालो पदार्थ (चरेस) मिसाइएको चुरोट पनि तन्काइसकेका थिए।
आदेश अनुसार चुरोटको खिल्लीभित्र गाँजा र चरेस मिसाएर प्यूठ केसीले युवराज दीपेन्द्रलाई दिएका थिए। गाँजा र चरेस मिसाइएका यस्ता ५–६ खिल्लीमध्ये एउटा दीपेन्द्रको आदेश अनुसार प्यूठ केसीले तत्कालीन शाहज्यादा पारसलाई समेत दिएका थिए।
रक्सीमाथि गाँजा र चरेससमेत मिसिएको चुरोट पिएपछि त्यसले दीपेन्द्रमाथि असर गर्न थाल्यो। साढे आठ बजेतिर राजा वीरेन्द्र त्रिभुवन सदनभित्र प्रवेश गर्दा दीपेन्द्र अनियन्त्रित जस्तो देखिन थाले।
‘त्यो बेला दाइ दीपेन्द्र हामीसँग भित्र होइबक्सन्थ्यो, जहाँ घटना (हत्याकाण्ड) भयो, त्यही कोठामा होइबक्सन्थ्यो,’ शाहज्यादा पारसले बयानमा भनेका छन्, ‘एकदमै लागेको जस्तो (गरी) ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो।’
दीपेन्द्र ढलेपछि पारस, कुमार गोरख शमशेर (अधिराजकुमारी श्रुतिका पति) र डा. राजीव शाही (शाहज्यादी पूजाका श्रीमान्, धीरेन्द्र शाहका जेठा ज्वाइँ) ले उठाएर दीपेन्द्रलाई उनी सुत्ने कोठासम्म पुर्याएका थिए। त्यसपछि उनीहरु बिलियार्ड हलमा फर्के।
जब बिलियार्ड हलमा शाही जमघट सुरु भयो, प्रेमिका देवयानी राणासँग दीपेन्द्रले दुई पटक मोबाइल फोनमा कुराकानी गरिसकेका थिए। भाइ–ज्वाइँहरुको सहयोगमा कोठामा पुर्याइएपछि उनले देवयानीलाई राति ८ः३९ मा तेस्रो पटक फोन गरे। ३२ सेकेन्डको त्यो कुराकानी दीपेन्द्र–देवयानीबीचको अन्तिम फोनवार्ता थियो।
‘हुकुम (फोनमा) भयो मलाई– भोलि बिहान मात्र तिमीलाई फोन गर्छु, गुडनाइट भनेर हुकुम भो, अनि मैले पनि गुडनाइट भनेँ,’ देवयानीले भनेकी छन्, ‘त्यसपछि फेरि हुकुम भयो– ‘अब म सुत्न लागेको छु है! म भोलिबिहान फोन गर्छु, गुडनाइट’ भनी फेरि (फोन) राखिबक्सियो।’
दरबार हत्याकाण्डमा दीपेन्द्रले जे–जति हतियार प्रयोग गरे, ती सबै हतियार त्यही कोठामा थिए।
देवयानीसँगको प्रेम र उनैसँग बिहे गर्ने चाहना, तर आमा ऐश्वर्यको असहमतिले सिर्जना गरेको तनाव दीपेन्द्र्रमा थियो। सम्भवतः दुई घण्टाअघि डिल्लीबजारस्थित बडागुरुज्यू नरेन्द्रराज पाण्डेको निवासमा पनि यसै विषयमा छलफल भएको हुँदो हो। सम्भवतः पाण्डे निवासमा पनि दीपेन्द्रले देवयानीसँग बिहे हुन नसक्ने जवाफ पाएका थिए।
तत्कालीन शाहज्यादा पारस शाहका भनाइमा बिहेबारे मुमा (ऐश्वर्य) आफूमुमा (मुमाबडामहारानी रत्न) सँग कुरा गरे पनि दुवै जनाले अस्वीकार गरेकाले आइतबार (२१ जेठ २०५८) मा बुबा (राजा वीरेन्द्र) सँग बिहेका कुराकानी गर्ने योजना दीपेन्द्रले उन (पारस) लाई सुनाएका थिए।
हत्याकाण्डअघि देवयानीसँगका फोनवार्ता, जमघटअघि पारससँगको उपरोक्त कुराकानीका आधारमा के भन्न सकिन्छ भने दीपेन्द्र त्यस्तो घटना गराउने योजनामा थिएनन्।
योजना हुँदो हो त देवयानीसँग भोलिबिहान कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गर्ने थिएनन्। आफ्नो बिहेबारे २१ जेठमा वीरेन्द्रसँग कुराकानी गर्ने योजना पारसलाई सुनाउने थिएनन्।
तर, रक्सी र गाँजा–चरेस मिश्रित चुरोटले लठ्ठ र बिहेका कारणले तनावमा रहेका दीपेन्द्र आफ्नो खोपीमा पुगे, उनको मुड बदलियो।
दीपेन्द्र साढे ८ बजे खोपीमा पुर्याइएका थिए। खोपीबाटै देवयानीसँग दीपेन्द्रको अन्तिम कुराकानी ८ः३९ बजे भएको थियो। यस हिसाबले उनी खोपीमा पुगेको र देवयानीसँग अन्तिम कुराकानी गरेको समयान्तर करिब ९–१० मिनेट थियो।
दीपेन्द्रको जीवन र राजतन्त्रको इतिहासमा यही ९ मिनेटको अवधि निर्णायक भयो। कथाकार मल्लले उपरोक्त कथामार्फत् दिन खोजेको सन्देशमा विश्वास गर्ने हो भने आफूसँग रहेका हतियारको परीक्षण गर्ने निर्णय युवराज दीपेन्द्रले त्यही अवधिमा गरे।
मल्लको कथामा खुकुरी कृष्णेको आडैमा भएजस्तै आधुनिक हतियार पनि दीपेन्द्रको खोपीमा, आँखैअगाडि जो थिए। नेपाली सेनाको महासेनानी समेत रहेका दीपेन्द्रले कोठामा ह्याङ्गरमा झुुण्ड्याइएका सैनिक पोसाक र बुट लगाए।
त्यसपछि दीपेन्द्रले खोपीमा रहेका तीन राइफल र एउटा पिस्तोल पालैपालो झिके। त्यसमध्ये अमेरिका निर्मित एम–१६ एटु (कोल्ट कमान्डो) राइफल एकातिर भिरे, इटाली निर्मित १२ बोरको राइफल अर्काेतिर। जर्मन कम्पनी हेक्लर एन्ड ककले निर्माण गरेको एमपी–५ के राइफल हातमा समाते। पिस्तोल कम्मरमा भिरे।
उनको खोपी त्रिभुवन सदन परिसरको उत्तरतर्फको भवनमा थियो। उनी खोपीबाट ओर्ले। त्यहाँबाट उनी परिसरभित्रैको बिलियार्ड हलतर्फ लागे, जहाँ राजा वीरेन्द्रसहित राजपरिवारका अन्य सदस्यहरुको जमघट र खानपिन सुरु भइसकेको थियो।
खोपीको भर्याङ्गबाट ओर्लेर प्यासेज हुँदै दक्षिण–पश्चिमतर्फ रहेको बिलियार्ड हलतर्फ के प्रवेश गरेका थिए, उनले हलको सिलिङ, पश्चिमी भित्तोमा अन्धाधुन्ध फायरिङ सुरु गरे। राजा वीरेन्द्रको घाँटीमा गोली लाग्यो।
साथमा रहेका चारमध्ये जर्मन राइफलबाट उनले फायर खोलेका थिए। यो हतियार उनको हातमा थियो। बाँकी दुई हतियार शरीरको दायाँ–बायाँतर्फ झुण्डिइरहेका थिए।
जर्मनीमा निर्मित सब–मेसिनगन प्रकृतिको त्यो हतियार नेपाली सेनाले विसं २०५० को दशकमा खरिद गरेको हो। सिरियल नम्बर १०६४६, दुई किलो तौलको यो हतियारले प्रतिमिनेट ९ सय गोली प्रहार गर्न सक्थ्यो। यसको प्रभावकारी फायरिङ रेन्ज २ सय मिटर थियो। आफ्नो जिम्मामा रहने गरी दरबारको कोतबाट दीपेन्द्रले यो हतियार २८ कात्तिक २०५६ मा लगेका थिए।
उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका अनुसार सिलिङ र भित्तोमा फायर गरेका बेला राजा वीरेन्द्र बिलियार्ड टेबुलको पूर्व छेउमा रहेर अरुहरुसँग कुरा गरिरहेका थिए। भित्तो र सिलिङपछि दीपेन्द्रले राजा वीरेन्द्रमाथि प्रहार गरे।
घटनाकी प्रत्यक्षदर्शी पूजा शाह (धीरेन्द्र शाहकी जेठी छोरी) का भनाइमा गोली वीरेन्द्रको घाँटीमा लागेको थियो।
‘ढ्याङ्ग अटोमेटिक गन चल्यो, म सक्ड भएँ। हिज म्याजेस्टी (श्री ५ महाराजधिराज) लाई हानिबक्स्यो,’ पूजा भन्छिन्, ‘गोली घाँटीमा लागेको थियो, त्यो पनि मैले देखेँ।’
गोली लागेपछि वीरेन्द्र ढले। वीरेन्द्रकी कान्छी बहिनी शोभा शाहीले गएर दाजु वीरेन्द्रलाई उठाउने प्रयास गरिन्।
‘दाइ लडिबक्स्यो, मैले गएर समातेँ,’ अधिराजकुमारी शोभाले बयानमा भनेकी छन्, ‘हि वाज ट्राइङ टु स्ट्यान्डिङ, हि ट्राइड टु गेट अप। (राजा वीरेन्द्र उठ्न खोजिरहेका थिए।)’
माथि नै भनिसक्यौँ, दरबार हत्याकाण्डमा पहिलो गोली जर्मन सब–मेसिनगनबाट चलेको थियो। अब प्रतिकारमा अर्काे हतियारबाट गोली चल्ने सम्भावना देखियो।
दीपेन्द्रको आक्रमणको प्रतिकार गर्न ‘क्रस फायर’ स्वरुप चल्न लागेको हतियार अस्ट्रिया निर्मित ‘ग्लक पिस्तोल’ थियो।
खासमा प्रतिकारका लागि यो पिस्तोलको प्रयोग राजा वीरेन्द्र आफैँले गर्न खोजेका थिए। प्रायःजसो साथमा रहने यो पिस्तोल त्यसदिन पनि उनले कम्मरमा लुकाएर गएका थिए।
तर, वीरेन्द्रले यो पिस्तोल चलाउन पाएनन्। बहिनी शोभाले नै उनलाई रोकिन्। शोभालाई त्यतिन्जेलसम्म मिस फायर (गल्तीले बन्दुक पड्केको) भएको होला भन्ने लागिरहेको थियो।
‘मैले त मिस फायर होला भन्ठान्या,’ कम्मरमा रहेको त्यो पिस्तोल वीरेन्द्रले निकाल्न खोजेकोतर्फ संकेत गर्दै शोभाले बयानमा भनेकी छन्, ‘मैले यो (पिस्तोल निकालेर दीपेन्द्रविरुद्ध प्रयोग गर्न) छोडिबक्स्योस् भनेँ। मैले (पिस्तोल) ट्याप्प थुतेँ। म्याग्जिन (बन्दुक–पिस्तोलमा प्रयोग हुने गोली भर्ने केस) आयो, मैले फालिदिएँ।’
दरबार हत्याकाण्डका बारेमा छानबिन गर्न गठिन समितिले जेठ २८ (२०५८) घटनास्थलबाट पाँच वटा बन्दुक संकलन गरेको थियो। त्यसमध्ये शोभाले खोसिदिएको त्यही अस्ट्रियन पिस्तोल थियो।
त्यसपछि पनि त्रिभुवन सदनमा गोली चलिरह्यो। तर, जर्मनी निर्मित त्यो सब–मेसिनगनबाट होइन।
वीरेन्द्रले पिस्तोल निकाल्न खोज्दा दीपेन्द्र अघिल्तिर फायर गर्दै आफू भने सावधानीपूर्वक पछि हटिरहेका थिए। पछि हट्दै जब उनी हलको मूल ढोकामा पुगे, त्यसपछिमात्र गोली चल्न बन्द भयो।
बिलियार्ड हलको ढोकाबाट निस्केर दीपेन्द्र हलको आडैमा पूर्वतर्फको बगैँचामा पुगे। साथमा रहेका चार हतियारमध्ये इटली निर्मित १२ बोरको सटगन त्यहीँ फ्याँके र कत्ति ढिला नगरी फेरि बिलियार्ड हलतिर फर्के।
दोस्रो पटक बिलियार्ड हल प्रवेश गरेपछि दीपेन्द्रले अमेरिका निर्मित एम–१६ (ए टु) कोल्ड कमान्डो राइफल प्रयोग गरेका थिए।
पहिलो बन्दुकबाट राजा वीरेन्द्रलाई मात्रै घाइते बनाएका थिए। दोस्रो बन्दुकको फायरले भने राजा वीरेन्द्रसहित राजपरिवारका १० सदस्यलाई सोत्तर बनायो। झण्डै आधा दर्जन सदस्य घाइते भए।
खासमा यो हतियार संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपाली सेनाको शान्ति मिसनका लागि नेपाली सेनाले विसं २०५३–५४ ताका खरिद गरेको थियो। शान्ति मिसनका लागि खरिद गर्न राजाले यो हतियार खरिदको स्वीकृति दिएका थिए। त्यही उनको वंशनाश गरायो।
सिरियल नम्बर ए ००७३९४३ रहेको टेलिस्कोप जडित यो राइफल अर्ध–स्वचालित र स्वचालित दुवै मोडमा चलाउन मिल्थ्यो।
२.४४ केजी तौल, प्रतिमिनेट ७ सयदेखि एक हजारसम्म गोली प्रहार गर्नसक्ने यो राइफलबाट त्यसदिन दीपेन्द्रले ४७ वटा गोली प्रहार गरे।
हतियार प्रयोग भएको स्थान र मृत्यु–घाइते भएका मानिसहरुका आधारमा दीपेन्द्रले त्यसदिन यो राइफलबाट तीन चरणमा गोली प्रहार गरेको देखिन्छ।
एक, पुन बिलियार्ड हलमा प्रवेश गरेका दीपेन्द्रले सुरुमा राजपरिवारका पुरुष सदस्यमाथि गोली प्रहार गरे। त्यसक्रममा राजा वीरेन्द्र, कुमार गोरख शमशेर, पूर्वअधिराजकुमार धीरेन्द्र र कुमार खड्कविक्रममाथि गोली लाग्यो।
त्यसमध्ये राजा वीरेन्द्र, धीरेन्द्र र खड्कविक्रमको निधन हुन पुग्यो। घाइते गोरख शमशेर चाहिँ लामो उपचारपछि बाँच्न सके।
बिलियार्ड हलको बीचमा पुगेर राजा वीरेन्द्रसहित वरिष्ठ शाही सदस्यहरुमाथि प्रहार गरेपछि उनी फेरि पहिलेजसरी सावधानीपूर्वक गोली चलाउँदै पछि फर्के।
त्यसपछि यो राइफलबाट दोस्रो चरणको गोली चल्न सुरु भयो। उनले राजपरिवारका महिला सदस्यहरुमाथि गोली चलाए। त्यसक्रममा अधिराजकुमारी श्रुति, कोमल (पूर्वराजा ज्ञानेन्द्रपत्नी) शान्ति र शारदा (वीरेन्द्रका दिदीहरु) र शाहज्यादीहरु जयन्ती र केतकी चेस्टरमाथि गोली लाग्यो। यसमध्ये श्रुति, शान्ति, शारदा र जयन्तीको निधन भयो।
तेस्रो लटको गोली चाहिँ बिलियार्ड हलबाहिर त्यही बगैँचामा चल्यो, जहाँ केही समय अघि मात्र उनले इटाली निर्मित १२ बोरको बन्दुक फ्याँकेका थिए।
विलियार्ड हलमा भएको अन्धाधुन्द गोली प्रहारबाट रानी ऐश्वर्य र अधिराजकुमार निराजन जोगिएका थिए। निराजन शाहज्यादा पारससहितको युवाटोलीमा रहेकाले जोगिएका थिए। त्यो टोलीलाई दीपेन्द्रले निसाना बनाएका थिएनन्।
रानी ऐश्वर्य भने दीपेन्द्रले गोली चलाउना साथ सजग बनेकाले जोगिएकी थिइन्। दीपेन्द्रलाई नियन्त्रणमा लिन उनको दौडधुप सुरु भएको थियो। महिलाहरुमाथि समेत गोली चलाएर बिलियार्ड हलबाहिरर निस्केका दीपेन्द्रलाई ऐश्वर्यले खेद्न थालिन्। अधिराजकुमार निराजन पनि त्यसपछि पारसको टोलीबाट निस्केर आमाको पछि–पछि दौडन थाले।
अधिकांशलाई सखाप पारिसकेपछि दीपेन्द्र आफ्नो खोपीतर्फ जाँदै थिए। उनी त्यो भवनको भर्याङ उक्लेर माथिल्लो तलामा पुगिसकेका थिए।
खोपीमा पुगेपछि सम्भवतः उनको योजना नारायणहिटी सुरक्षाको जिम्मेवारीमा रहेको सेनालाई राजा वीरेन्द्रको मृत्यु भएको जानकारी गराउनु र आफू राजा भएको घोषणा गर्नु थियो। राजगद्दी उत्तराधिकार सम्बन्धी कानुन अनुसार बहालवाला राजाको निधनपछि गद्दीका उत्तराधिकारी उनै थिए।
तर, आमा ऐश्वर्य र भाई निराजनले पछ्याएपछि दीपेन्द्रले व्यवधान महसुस गरे। उनले आफ्नो खोपी रहेको तलाको प्यासेजबाट उही अमेरिकी राइफलबाट फेरि गोली प्रहार सुरु गरे। यो अमेरिकी राइफलबाट भएको तेस्रो चरणको गोली प्रहारर थियो।
ऐश्वर्य र निराजनमध्ये दीपेन्द्रले पहिले कोमाथि गोली चलाए, प्रत्यक्षदर्शीहरु कसैले उल्लेख गर्न सकेका छैनन्। ऐश्वर्यलाई गोली लागेको र दीपेन्द्र–निराजनको शरीर रहेको ठाउँको विश्लेषणबाट चाहिँ के निष्कर्षमा पुग्न सकिन्छ भने दीपेन्द्रले पहिले आमा ऐश्वर्यमाथि गोली चलाएका थिए, त्यसपछि भाइ निराजनमाथि।
किनकि दीपेन्द्रको घाइते शरीर भाइ निराजनको नजिकै थियो। घाइते दीपेन्द्रको शरीर बगैँचाको बीचमा रहेको पोखरीको पुलको डिलमा र निराजनको त्यहाँबाट २–४ पाइला पर दक्षिणतर्फ थियो।
घटनापछि उद्धारमा पुगेका तत्कालीन शाही रक्षक सैनिक प्रहरीका हुद्दा लक्ष्मण खत्रीको बयान अनुसार रानी ऐश्वर्यको शरीर युवराज दीपेन्द्रको खोपीमा उक्लने भर्याङमा थियो।
गोलीले उनको टाउको र गिदी छरपष्ट भएको थियो। खासमा घटनाको अन्त्यतिर ऐश्वर्यलाई गोली लागेको थियो। तर, निर्मम प्रकारले गोली प्रहार गरेका कारण सबैभन्दा पहिले ज्यान गुमाउने रानी ऐश्वर्य नै थिइन्।
घटनास्थलबाट अस्पताल लगिँदा अधिकांश घाइतेको श्वास–प्रश्वास चलिरहेको थियो, मुुटुुमा धुकधुकी बाँकी थियो। तर, ऐश्वर्यको स्थिति त्यस्तो थिएन। उनको शरीरको स्थिति भयावह थियो।
‘हामीले हेर्दा (देख्दा) गिदी–ब्रेन त्यहाँ यत्ति थुप्रिएको छ, रगत उतापट्टि झरेको छ,’ ऐश्वर्यको शवलाई उद्धार गरेका शाही सैनिक प्रहरीका अर्का हुद्दा ध्रुवराज आचार्यले बयानमा भनेका छन्, ‘त्यस्तो अवस्थामा उहाँलाई गाडीमा हालेर लगिएको हो।’
उच्चस्तरीय समिति २८ जेठमा त्यहाँ पुग्दा पनि रानी ऐश्वर्यको गिदी छरपष्ट नै थियो। प्रतिवेदनमा घटनास्थलको वीभत्स दृश्य उल्लेख गर्दै भनिएको छ, ‘श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगराहरुसमेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराका टुक्राहरु रहेको, रगतका छिर्काहरु ठाउँ–ठाउँँमा लागेको, एक किसिमकोे रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ।’
खोपी रहेको तलाबाट गोली प्रहार गरेका दीपेन्द्र्र ऐश्वर्य ढलेपछि तल ओर्ले। अब उनको निसानामा भाइ निराजन थिए। आफूलाई निराजनले नियन्त्रणमा लिनसक्ने ठानेर हुनसक्छ वा परिवारका अधिकांशको मृत्यु भइसकेको स्थितिमा दुवै दाजुभाइको औचित्य नदेखेकाले हुनसक्छ, दीपेन्द्रले निराजनलाई निशाना बनाएका थिए।
आमाको हत्यापछि दीपेन्द्र जब फेरि तल ओर्ले, सुरक्षित हुन निराजन बगैँचाको दक्षिणतर्फ भागे। भाग्दै गरेका निराजनलाई दीपेन्द्रले खेद्न थाले र पटक–पटक गोली प्रहार गरे।
त्यसैक्रममा बगैँचाको बीचमा रहेको सानो पोखरीको दक्षिणतर्फ उनी ढले। उनी ढलेको स्थानमा रहेको भित्तोमा अहिले पनि गोलीका निशानाहरु देख्न सकिन्छ।
एम–१६ (ए टु) को एउटा म्याग्जिनमा ३० वटा मात्र गोली हुन्थ्यो। तर, घटनास्थलमा यो राइफलका गोलीका ४७ वटा खोेका फेला परे। यसबाट के देखिन्छ भने सुरुमा लोड गरिएको पहिलो म्याग्जिनको गोली अपुग भएपछि दीपेन्द्रले गोली लोड भएको दोस्रो म्याग्जिन राइफलमा प्रयोग गरेका थिए।
निराजन पनि ढलेपछि तेस्रो हतियारको प्रयोग सुरु भयो, जुन दीपेन्द्रले आफ्नै हत्या (अर्थात् आत्महत्या) का लागि प्रयोग गरे।
खासमा दीपेन्द्रले आत्महत्याका लागि प्रयोग गरेको यो अन्तिम हतियार त्यही प्रकृतिको थियो, दीपेन्द्रको प्रतिकारका लागि राजा वीरेन्द्रले प्रयोग गर्न खोजेका थिए।
अर्थात् अस्ट्रियामा निर्मित ९ एमएमको गोली प्रयोग हुने त्यही ग्लक पिस्तोल। राजा वीरेन्द्र, युवराज दीपेन्द्र मात्र होइन, अधिराजकुमार निराजन तीनै जनाले अस्ट्रियामा निर्मित त्यही पिस्तोल बोक्ने गरेका थिए।
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनका अनुसार ‘नाइन एमएम, जी–१९ ग्लक वाईवाई नम्बरको पिस्तोल समेत २०५५ माघ २२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुुनेगरी कोतबाट निकासा भएको’ राजदरबारबाट प्राप्त विवरणमा देखिएको थियो।
आफ्नो स्वामित्वमा रहेको त्यो पिस्तोल दुर्भाग्यवस निराजनले त्यसदिन बोकेका थिएनन्।
बहिनी शोभाले रोकेका कारण वीरेन्द्रले त्यो अस्ट्रियन पिस्तोल प्र्रयोग गर्न पाएनन्। र, दीपेन्द्र बचे।
निराजनसँग पनि त्यस्तैै पिस्तोल रहे पनि उनीबाट पनि दीपेन्द्र्र बचे। किनकि त्यसदिन निराजनले त्यो पिस्तोल बोकेका थिएनन्।
अस्ट्रिया निर्मित दुई–दुई पिस्तोलबाट जोगिएका दीपेन्द्रको मृत्यु भने तेस्रो अस्ट्रियन पिस्तोलबाटै भयो। त्यो खासमा त्यो उनको आफ्नै साथमा रहेको पिस्तोल थियो।
जब निराजन ढले, दीपेन्द्रले अहिलेसम्म प्रयोग गरिरहेको त्यो एम–१६ अमेरिकी राइफल फ्याँके। आफ्नो कम्मरमा रहेको ग्लक पिस्तोल निकाले।
उनी भाइ निराजनको लडिरहेको अचेत शरीरभन्दा ३–४ पाइला उत्तरतर्फ उभिए। त्यहाँ सानो पोखरी र त्यसमाथि पुल थियो। पुलको छेउमा उभिएर पिस्तोलबाट टाउकोमा गोली दागे। उनी पनि ढले।
शाही रक्षक सैनिक प्रहरीको टोली उद्धारमा पुग्दा दीपेन्द्रको शरीर उत्तानो अवस्थामा थियो। उनको मुखबाट घ्वारघ्वार आवाज आइरहेको थियो।
प्रतिवेदनका अनुसार अरुको हत्याका लागि उनले प्रयोग गरेको एम–१६ (ए टु) कमान्डो राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा थियो।
दीपेन्द्रले आत्महत्याका लागि प्रयोग गरेको त्यो पिस्तोल आठ दिनपछि पोखरीभित्र भेटियो।
Shares
प्रतिक्रिया