नेपाल प्रजा परिषदका नेता टंकप्रसाद आचार्य भर्खरै (१३ माघ २०१२–११ साउन २०१३) प्रधानमन्त्री बनेका थिए। उनको निवास काठमाडौँको नक्साल भगवती बहालबाट ज्ञानेश्वर जाने सडकको आडैमा थियो।
प्रधानमन्त्री बनेको केही दिनपछि एक सहयोगीले झिसमिसेमै एक अग्ला, गोरा युवकलाई प्रधानमन्त्री निवासपछिल्तिरको गेटबाट सीधै आचार्यको बेडरुमसम्म पुर्याए।
ती युवक प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गौरीभक्त प्रधान थिए। आफ्नै बेडरुममा आइपुगेका प्रधानसँग आचार्यले सोधे, ‘गौरी भाइ, चीनबाट कहिले आइपुग्यौ?’
भूमिगत रूपमा चीन पुगेर फर्केको कुरा प्रधानमन्त्री आचार्यले कसरी थाहा पाए होलान् भन्ने कुराले उनलाई आश्चर्यमा पार्यो।
गौरीभक्तले जवाफ दिए, ‘प्रधानमन्त्रीको हैसियतमा सोध्नुभएको हो भने म चीन गएको छैन। दाजुभाइका नाताले सोध्नुभएको हो भने चीनबाट म भर्खरै फर्केको हुँ।’
नेपाल–चीनबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध १ अगस्ट १९५५ (१७ साउन २०१२) मा स्थापना भएको थियो। तर त्यसभन्दा ३ वर्षअघि २००९ मा प्रधान नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सम्बन्ध स्थापनाका लागि पेकिङ (बेइजिङ) पुगिसकेका थिए।
प्रधानले मोलेको जोखिमकै कारण नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा ३ वर्षअघि नै ३ वर्ष उमेरको नेकपा र ३० वर्षे उमेरको चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध कायम भएको थियो।
सीपीसीसँग सम्बन्ध स्थापना गर्न ६९ वर्षअघि प्रधानले लिएको जोखिमको कथा नेपाली कम्युनिस्ट आन्दोलनका नयाँ पुस्ताले पढ्न पाएको छैन। पुरानो पुस्ताका नेता पनि यसबारे बेखबर भेटिन्छन्।
सीपीसी–नेकपा नाता जोड्ने र त्यसको कथा बताउन सक्ने गौरीभक्त प्रधान (१० माघ १९७९–८ पुस २०६९) अहिले यो संसारमा छैनन्। उनले पुर्याएको योगदानको भने नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले उच्च मूल्यांकन गरेका छन्।
‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ पुस्तकमा श्रेष्ठले भनेका छन्, ‘पार्टीको फैसला शिरोपर गरी उनी एक्लै हिमालय पहाड नाघी चीन पुगी हिमालयवार गरी आए। यो उनको पार्टीप्रतिको भक्ति र अदम्य उत्साहको लक्षण थियो।’
मुस्ताङ हुँदै ताक्लाकोट
के.आई. सिंहको असफल सिंहदरबार विद्रोह (८ माघ २००८) पछि १० माघ २०१० मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेकपाविरुद्ध प्रतिबन्ध घोषणा गरेका थिए। यसपछि नेकपाका नेताहरू कलकत्ता (भारत) तर्फ लागे।
प्रतिबन्धपछि कलकत्तामा भएको केन्द्रीय समिति बैठकले सीपीसीसँग भाइचारा सम्बन्ध स्थापना गर्ने निर्णय गर्यो। निर्णय कार्यान्वयनका लागि महासचिव पुष्पलालले भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का नेता श्रीपद अमृत डाँगेसँग सहयोग मागे।
सीपीसीसँग डाँगेको सम्बन्ध सुमधुर थियो। यसबाहेक उनी सीपीसीका नेताहरू सहभागी ‘फेडेरेसन अफ इन्टरनेसनल ट्रेड युनियन (एफआईटीयू) को कार्यसमिति सदस्य थिए। फेडेरेसनको बैठक जेनेभा (स्विट्जरल्यान्ड) मा हुँदै थियो।
महासचिव श्रेष्ठले नेकपाका तर्फबाट सम्बन्ध स्थापना गर्न गौरीभक्त प्रधानलाई गोप्य रूपमा चीन पठाउने निर्णय गरे। जेनेभा पुगेपछि डाँगेले चिनियाँ नेताहरूलाई प्रधानको चीन यात्राबारे जानकारी दिने भए।
त्यसपछि प्रधान गोरखपुरबाट बुटवल निस्केर मुस्ताङ हुँदै तिब्बतको ताक्लाकोट पुगे। त्यहाँ पुग्नुअघि ५ दिन मुस्ताङको टुकुचेमा बसेर तयारी गरे। स्थानीय स्कुलमा शिक्षक एवं पार्टी संगठन निर्माण गरिरहेका हर्ष स्याङ्बो (हाल ९५ वर्ष) ले प्रधानलाई सघाए।
‘उहाँ गोप्य रूपमा चीन जाँदै हुनुहुन्थ्यो, म पार्टीकै योजनाअनुसार शिक्षकको भेषमा संगठन निर्माणमा संलग्न थिएँ,’ स्याङ्बोले सम्झे, ‘तिब्बत प्रवेशका लागि आवश्यक सामाग्री संकलनमा मैले सहयोग गरेँ।’
प्रधान कम्युनिस्ट कार्यकर्ता शमशेर शेरचनको सहयोगमा गोरखपुरबाट मुस्ताङसम्म पुगेका थिए। चीन यात्राका लागि घोडा, पाल, भाँडाकुँडा र भरियालगायत आवश्यक बन्दोबस्त शेरचनले नै गरेका थिए।
मुस्ताङको जोमसोममा भर्खर भारतीय सेनाको चेकपोस्ट स्थापना भएको थियो। जसले तिब्बत जाने र त्यहाँबाट फर्किने मानिसको निगरानी गर्ने गर्थ्यो। तर टुकुेचेदेखि थकाली पोसाक लगाएर अघि बढेका प्रधानलाई भारतीय चेकपोस्टले बाहिरिया व्यक्ति हुन् भनेर अनुमान गर्न सकेन।
शेरचनले व्यवस्था गरिदिएको भरियाका साथ उनी तिब्बतको ताक्लाकोट पुगे।
‘भारतीय कम्युनिस्टहरूले आफ्नो सुरुका दिनमा काराकोरम पहाड नाघी सोभियत संघ जाने/आउने जुन उत्साहको कहानी हामी सुन्छौँ,’ पुष्पलालले त्यस पुस्तकमा लेखेका छन्, ‘प्रधानको चीन यात्रा त्यो भन्दा कुनै मानेमा पनि कम साहसको यात्रा थिएन।’
ताक्लाकोट पुगेपछि प्रधानले त्यहाँस्थित जनमुक्ति सेनाको टुकडीसँग सम्पर्क गरे। साथमा रहेका भरियालाई फिर्ता पठाइदिए। ती भरियामार्फत शेरचन र शेरचनमार्फत पुष्पलालले प्रधान ताक्लाकोट पुगेको जानकारी पाए।
ताक्लाकोटस्थित सैन्य टुकडीले एक हप्तापछि प्रधानलाई गारतोकतर्फ लग्यो। त्यहाँ चिनियाँ जनमुक्ति सेनाको पश्चिम सैनिक कमान्डको मुख्यालय थियो। सीमा सुरक्षाका लागि त्यहीँबाट ताक्लाकोटमा सानो सैन्य टुकडी आएर बसेको थियो।
जेठा छोरा महेशले आफ्ना बुबा गौरीभक्तको चीन यात्राका अप्ठेरा सुनाउँदै नेपालखबरसँग भने, ‘जाँदै गर्दा मानसरोवरनिर भारी मात्रामा हिउँ परेछ। खानेकुरा सकिएर साथमा रहेको घोडा मारेर खानु परेको कथा उहाँले हामीलाई सुनाउनुभएको थियो।’
सिन्जियाङ हुँदै पेकिङ
गारतोक पुगेपछि सैन्य मुख्यालयले प्रधानको आगमनबारे सीपीसीको केन्द्रीय कार्यालयलाई खबर गर्यो। तर उनीबारे सीपीसी अनभिज्ञ थियो। त्यसैले राजधानी पेकिङबाट खबर आउने प्रतीक्षामा प्रधान झन्डै ६ महिना गारतोककै सैन्य मुख्यालयमै रहे।
गारतोकमा रहेकै बेला सोभियत संघका सर्वाेच्च नेता जोसेफ स्टालिनको निधन भएको कुरा स्वयं प्रधानले ‘मेरा सम्झनाहरू’ मा उल्लेख गरेका छन्। स्टालिनको निधन २२ फागुन २००९ (५ मार्च १९५३) मा भएको थियो।
त्यसैबीच डाँगेले जेनेभा पुगेका सीपीसीका नेताहरूलाई प्रधान चीन गएकोबारे जानकारी गराए।
डाँगेबाट जानकारी पाएपछि नेताहरूले तत्काल बेइजिङस्थित पार्टी केन्द्रलाई खबर पठाएर प्रधानबारे सोधखोज गर्न अह्राए। सबैतिर उनको खोजीका लागि सर्कुलर जारी गरियो।
त्यो सर्कुलर गारतोक पनि पुग्यो। सर्कुलर पुगेकै साँझ सैनिक कमान्डरहरूले प्रधानको सम्मानमा रात्रिभोज आयोजना गरे। र, पेकिङबाट उनीबारे खबर आएको जानकारी गराउँदै १५ दिनपछि पेकिङ प्रस्थान गर्ने समय निर्धारण गरे।
गारतोकबाट प्रस्थान गरेको डेढ महिनापछि आफूहरूको टोली प्राचीनकालमा चीन–मध्यएसिया–युरोपबीच व्यापारका लागि प्रचलनमा रहेको ‘सिल्क रोड’ पुगेको कुरा प्रधानले पुस्तकमा उल्लेख गरेका छन्।
सिल्क रोडमा ९ दिन हिँडेपछि उनी सिञ्जियाङको यारकन्द सहर पुगे। यसको सीमानजिकै तत्कालीन सोभियत (हाल उज्वेकिस्तान) को समरकन्द सहर पर्छ। प्रधानलाई यारकन्द पुर्याएपछि करिब डेढ सय संख्याको सैनिक टोली गारतोक फिर्ता भयो।
यारकन्दसम्मको यात्रा पैदल, घोडा र ऊँटबाट भएको थियो। यारकन्दबाट मोटरयात्रा गरी उनीहरू सिन्जियाङ प्रान्तको राजधानी उरुम्की पुगे।
‘त्यहाँ पुग्दा म बिरामी परेको थिएँ, त्यसैले दुई हप्ता उरुम्कीमा बिताएँ,’ उनले भनेका छन्, ‘म त्यहीँ रहेका बेला संयुक्त राष्ट्र संघको मध्यस्थतामा कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्नेसम्बन्धी सम्झौता भएको थियो।’
यस हिसाबले हेर्दा उनी २७ जुलाई १९५३ (१२ साउन २०१०) मा उरुम्कीमा रहेको देखिन्छ। दुई हप्तापछि उनलाई उरुम्कीबाट हवाईजहाजमा लान्चाओ, सिआन हुँदै पेकिङ पुर्याइयो।
पेकिङमा प्रधानका लागि सीपीसी केन्द्रीय कार्यालयले तियानमेन स्क्वायर नजिकै बस्नका लागि बंगला र छुट्टै गाडी व्यवस्था गरेको थियो।
पेकिङ पुगेको ३ दिनपछि पार्टी केन्द्रीय कार्यालयका नेताहरूले प्रधानसँग भेट गरे। र, प्रधानका लागि राजनीतिक प्रशिक्षण, सैनिक तालिम र भ्रमण कार्यक्रम तय गरिएको जानकारी दिए।
पेकिङमै गुरिल्ला तालिम
पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुराना कम्युनिस्ट नेताहरूको संस्मरण ‘फर्केर हेर्दा’ (सम्पादक: विष्णु रिजाल) मा प्रधानले ‘कलकत्ता बैठकमा चीनका अलावा भियतनाम र बर्मालगायत मुलुकमा सशस्त्र आन्दोलन भइरहेको र नेपालमा पनि हतियार उठाउनुपर्छ भन्ने निर्णय भएपछि आफू चीन पुगेको’ उल्लेख गरेका छन्।
सम्भवतः पेकिङमा प्रधानलाई सीपीसीका नेताहरूले यसबारे जानकारी गराए। त्यसैले प्रधानका लागि राजनीतिक प्रशिक्षण र सैनिक तालिम १० महिना तोकिएको थियो। प्रशिक्षण अवधिभर सीपीसीका एक नेता पनि साथै रहे।
ती नेताले प्रधानलाई चिनियाँ नेता माओको जीवनी, सीपीसीको इतिहास, चिनियाँ जनजीवन आदिबारे प्रशिक्षण दिए। माओले गुरिल्ला युद्धमार्फत सफलता प्राप्त गरेकाले प्रधानलाई गुरिल्ला युद्धकला पनि सिकाइयो।
‘चीनको दक्षिणी मध्यभागमा रहेको तालिम केन्द्रमा लगेर सुरुङ युद्धबारे तालिम दिइएको थियो,’ प्रधानले ‘मेरा सम्झनाहरू’ मा भनेका छन्, ‘उनीहरूले जंगल युद्धकलासम्बन्धी तालिम पनि दिएका थिए।’
१० महिने प्रशिक्षणपछि ६ महिना चीनका ऐतिहासिक सहरहरूको भ्रमण गराइयो। त्यस क्रममा उनले सांघाई, थेनचेन, हान्चाओलगायत सहर घुमे, पार्टीका स्थानीय नेताहरूसँग अन्तरक्रिया गरे।
नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना नभए पनि उनलाई त्यहाँ उच्च सम्मान दिएर राखिएको थियो। चीनको राष्ट्रिय दिवसमा उनी सैनिक पोसाकमा उपस्थित हुन्थे। चिनियाँहरूले उनको नाम ‘कमरेड मालिनो’ राखिदिएका थिए।
माओसँग भेट
‘मेरा सम्झनाहरू’ मा प्रधानले चिनियाँ राष्ट्रपति ल्यु शाओची, प्रधानमन्त्री चाओ एन लाइ र देङ सियाओ पिङलगायत नेतासँग सीपीसीको केन्द्रीय कार्यालयमै भेट भएको उल्लेख गरेका छन्।
जेठा छोरा महेशका भनाइमा, चीन बसाइका क्रममा चिनियाँ सर्वाेच्च नेता माओसँग ५–६ पटक भेट भएको कुरा प्रधानले परिवारलाई सुनाएका थिए। महेशले सम्झे, ‘चिनियाँ प्रधानमन्त्री चाओ एन लाइसँग बुबाको त्यो भन्दा पनि धेरैपटक भेट भएको रहेछ।’
राष्ट्रपति शाओची, चाओ एन लाइलगायत नेताले प्रधानसँगको भेटमा नेपालको कम्युनिस्ट आन्दोलन र पार्टी नेतृत्वमा भएको किसान आन्दोलनप्रति सीपीसीको सहानभूति रहेको र समर्थन गरेको उल्लेख गरेका थिए। यसैगरी नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाबारे पनि कुराकानी भएको थियो।
प्रधान पेकिङमा रहेका बेला सिंहदरबार काण्डका नायक डा. केआई सिंह पनि त्यहीँ थिए। तर डा. सिंह र प्रधानबीच पेकिङमा कहिल्यै भेट भएन। प्रधानका भनाइमा, डा. सिंहको बसोबास उनको निवासनजिकै रहेको जानकारी भए पनि डा. सिंहसँग भेट्न चाहेनन्।
कम्युनिस्ट जितमा भोज
पेकिङमा रहँदा चिनियाँहरूले नेपालबारे प्रकाशित समाचारका कटिङ प्रधानलाई उपलब्ध गराइरहन्थे। तिनैका आधारमा उनी नेपालका राजनीतिक गतिविधिबारे जानकारी पाउँथे।
एकपटक उनले काठमाडौं नगरपालिका निर्वाचनबारेको समाचारको कटिङ पाए। जसमा कम्युनिस्ट उम्मेदवार जनकमान श्रेष्ठ मेयरमा दुईतिहाइ बहुमत ल्याएर विजयी भएको उल्लेख थियो।
त्यो निर्वाचनमा नेकपा उम्मेदवार साधनादेवी (प्रधान) ले विजय हासिल गरेकी थिइन्। असन, भोटाहिटी क्षेत्र समेटिएको सो वडाबाट विजयी महिला साधनादेवी खासमा गौरीभक्तकी आफ्नै बहिनी थिइन्।
गौरीभक्त चीन जाँदा बहिनीहरू साधनादेवी र साहनाको बिहे भएको थिएन। ‘स्मृतिका आँखीझ्यालबाट’मा साहना प्रधानले लेखेकी छन्, ‘दाजु गौरीभक्त पार्टी सम्पर्कका लागि चीन रहेका बेला मेरो पुष्पलाल र दिदी साधनाको मनमोहन अधिकारीसँग विहे भएको हो।’
निर्वाचनमा कम्युनिस्टले प्राप्त गरेको सफलताबाट चिनियाँहरू पनि खुसी थिए। आफ्नै बहिनीसमेत विजयी भएको जानकारी पाएपछि त्यसको खुसियालीमा ‘चिया पार्टी’ आयोजना गरिएको प्रधानले उल्लेख गरेका छन्।
माओको सन्देश
झन्डै ३ वर्ष प्रशिक्षण र घुमघामपछि गौरीभक्त २०११ को अन्त्यताका चीनबाट फर्के।
के आई. सिंह. काण्डपछि पार्टी प्रतिबन्धका कारण भारत प्रस्थान गरेका नेकपा नेताहरू भूमिगत रूपमा काठमाडौं फर्किसकेका थिए। हराएका गौरीभक्त तालिमका लागि मुस्ताङ हुँदै चीन गएको हल्ला फैलिसकेको थियो।
त्यसैले उनी फर्कन सक्ने सम्भावित उत्तरी नाकाहरूमा सरकारले निगरानी बढाएको थियो। उत्तरी नाकाहरूमा भारतीय सैनिक चेकपोस्ट रहेकाले भारतीय सुरक्षाकर्मीहरू पनि उत्तिकै सतर्क थिए।
‘तीन वर्ष चीनमा रहँदा बुबासँग एक बाकस त पैसा नै जम्मा भएको रहेछ, सरसामान पनि त्यत्तिकै रहेछन्,’ कान्छा छोरा प्रमेशले भने, ‘फर्किंदा जोखिम हुने भएका कारण उहाँले आवश्यक थोरै रकम र २–४ जोर कपडा मात्र लिएर फर्कनुभएको रहेछ।’
उनलाई चिनियाँ सैनिकहरूले मुस्ताङको सीमासम्म ल्याएर छाडेका थिए। रातको समयमा जोमसोम (मुस्ताङ) पारिको डाँडाबाट उनले जोमसोमस्थित भारतीय चेकपोस्टलाई छले। सीधै कलकत्ता पुगेका उनी त्यहाँ कुनै नेता नभेटिएपछि भूमिगत रूपमा काठमाडौँ आइपुगे।
नेकपा अझै प्रतिबन्धित अवस्थामै थियो। पार्टीविरुद्ध प्रतिबन्धका कारण कतिपय नेता प्रजापरिषदको सदस्यता लिएर भूमिगत रूपमा नेकपाको संगठन गरिरहेका थिए।
प्रधान काठमाडौं आएको जानकारी प्रजापरिषदका नेतासमेत रहेका प्रधानमन्त्री आचार्यले पाउनु र गोप्य रूपमा उनलाई बोलाएर सोधखोज गर्नाको कारण पनि यही थियो।
काठमाडौं फर्किंदा उनको साथमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङले पठाएको शुभकामना सन्देश पनि थियो। पुष्पलालले लेखेका छन्, ‘त्यो सन्देशमा माओले नेकपा गठन भएकामा खुसियाली व्यक्त गर्नाका साथै भाइचाराको शुभकामना पठाएका थिए।’
नेपाल फर्केपछि गौरीभक्तले पार्टीलाई चीन भ्रमणबारे अंग्रेजीमा लेखेको सात पृष्ठको प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन पुष्पलालका अलावा मनमोहन अधिकारीलाई पनि दिएका थिए। त्यो बेला प्रधानका अर्का बहिनी–ज्वाइँ अधिकारी पार्टी महासचिव भइसकेका थिए।
पार्टीमा विवाद
प्रधान गोप्य रूपमा चीन प्रस्थान गरेको कुरा सुरुमा श्रेष्ठ र अधिकारीबाहेकका नेतालाई जानकारी थिएन। तर बिस्तारै जब अन्य नेताले यस विषयमा जानकारी पाए। त्यसपछि यो विषयले नेकपाभित्र विवाद निम्त्यायो।
चीनबाट फर्केपछि यो विवाद झनै चर्कियो। प्रधानले पार्टीमा बुझाएको प्रतिवेदनमा ‘सशस्त्र संघर्षको पक्षपोषण गरेको’ भन्दै उनको चीन भ्रमणको विरोध गरिएको थियो।
तर प्रधानका भनाइमा, तीन वर्ष चीनमा रहँदाका गतिविधि मात्र समेटिएको प्रतिवेदनमा सशस्त्र संघर्षको पक्षपोषण गरिएको थिएन।
पुष्पलाल महासचिव पदबाट अपदस्थ भएका कारण चीनबाट फर्केपछि प्रधानले खासै जिम्मेवारी पाएनन्। उताबाट फर्केपछि उनको बिहे पनि भयो। पार्टीभित्र विवाद र आर्थिक समस्याका कारण उनी खेतीपातिका लागि चितवन लागे।
‘२०१७ को फौजी काण्डपछि गौरीभक्त र म मिलेर ढाडीसँग लडाइँ गर्दै धान, मकै खेती गरेर धेरै वर्ष बितायौं,’ पुराना कम्युनिस्ट नेता लक्ष्मीभक्त उपाध्याय (९१ वर्ष) भन्छन्, ‘त्यस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेको नेता पार्टीको बेवास्ताका कारण निराश भएर खेतिपातीका लागि चितवनतर्फ लाग्नुप¥यो।’
राप्ती दुन विकास परियोजनाअन्तर्गत सरकारले उपलब्ध गराएको ५० बिघा जग्गामा प्रधानले रेशम र अन्य खेती गरेका थिए। सफल नभएपछि उनी जग्गा फिर्ता गरेर काठमाडौं फर्के।
तर चितवनमा होस् वा त्यहाँबाट फर्केपछि– उनी सदैव पार्टीप्रति प्रतिबद्ध रहे। पुष्पलाल स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष प्रधान निधन (८ चैत २०६९) का बेला नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार थिए।
चीनमा छुटेको त्यो बाकस
पेकिङ बसाइका क्रममा चिनियाँहरूले उपलब्ध गराएको पैसा यति धेरै थियो कि त्यसले एउटा बाकस नै भरिएको थियो। तर नेपाल फर्किंदा उनले त्यो रकम ल्याएनन्।
‘सीमा काटेर नेपाल प्रवेश गरेपछि आफ्नै ज्यान बाँच्ला–नबाँच्ला भन्ने थियो,’ उनले लेखेका छन्, ‘त्यसैले त्यो पैसा पेकिङमा पार्टी हेडक्वार्टरमै छाडेँ। चिनियाँहरूले त्यो रकम चिनियाँ बैंकमा खाता खोलेर राखिदिने भनेका थिए।’
तर नेपाल फर्केपछि चितवनमा खेतिपाती गरेर बसेका बेला प्रधान परिवारले निकै हण्डर/ठक्कर बेहोर्नुपर्यो। आम्दानी भन्दा खर्च बढी थियो। घर–व्यवहार चलाउन नसकेर उनले श्रीमतीले दाइजोमा पाएका गहनासमेत बेच्नुपर्यो।
‘त्यो बेला आर्थिक कठिनाइ यति धेरै थियो कि चीनमा छाडेर आएको एक बाकस पैसाको सम्झना भइरहन्थ्यो,’ महेश भन्छन्, ‘आमा त्यो पैसा कसैगरी ल्याउन पाए कति सजिलो हुँदो हो भनेर कल्पिनुहुन्थ्यो।’
जीवनको उत्तरार्द्धसम्म पनि गौरीभक्त आफूले चीनमा छाडेर आएको सरसामान र रकमको सम्झना गरिरहन्थे।
‘बुबा भन्नुहुन्थ्यो– त्यो बाकसमा मैले आफ्नो नाम पनि लेखेर छाडेको छु,’ महेश भन्छन्, ‘त्यो बाकस अझै सुरक्षित छ होला भन्ने उहाँको विश्वास थियो।’
कान्छा छोरा प्रमेशका भनाइमा, गौरीभक्तले पटक–पटक चीनमा छाडेर आएका सामानको सम्झना गरिरहेपछि नेपालका लागि तत्कालीन चिनियाँ राजदूत सुन हेपिङ (२०६० भदौ–२०६३ चैत) लाई भेटी त्यो बाकस खोजी गरिदिन परिवारले आग्रह गरेको थियो।
‘पैसा भएको बाकसबाहेक बाँकी बाकसमा अन्य सामान पनि थिए रे,’ उनले भने, ‘पैसा भन्दा पनि उहाँका सामान महत्त्वपूर्ण हुने ठानेर चिनियाँ राजदूतसँग हामीले ती सामान खोजीका लागि अनुरोध गरेका थियौं।’
राजदूत हेपिङले सहयोग गर्ने वचन दिएका थिए।
चिनियाँ शासन प्रणालीको एउटा विशेषता बलियो ‘रेकर्ड सिस्टम’ पनि हो। हजारौं वर्ष पुराना सामाग्री चिनियाँहरूले सुरक्षित गरेका हुन्छन्। गौरीभक्तको बाकसभित्र पैसा मात्र पक्कै थिएन, चीनमा प्रशिक्षण–तालिम लिँदाका तस्बिर र दस्तावेज पनि थिए होलान्।
कति राम्रो हुने थियो, सीपीसीको यो शतवार्षिकीको अवसरमा नेकपा–सीपीसी सम्बन्ध स्थापनासँग सम्बन्धित ती दस्तावेज खोजेर नेपाल ल्याउन पाए!
Shares
प्रतिक्रिया