बालकुमारीमा पुस १३ गते कोरियन भाषाको तयारी गरिरहेका २ युवकको ज्यान गयो। प्रहरीको गोली लाग्दा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो।
अहिले प्रश्न उठिरहेको छ, ईपीएस कोरिया शाखाविरुद्ध ग्वार्काेमा आन्दोलनरत युवाको भिडलाई उत्तेजित पार्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला त्यहाँ किन गए?
मन्त्री ज्वालाले भने २ युवकको ज्यान जानुमा आफ्नो दोष नभएको स्पष्टीकरण दिएका छन्। यसका लागि उनले मुख्यतः ३ वटा तर्क गरेका छन्-
मन्त्री ज्वाला भन्छन्– हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको बैठक कान्तिपुर गार्डेन पार्टी प्यालेसमा चलिरहेको थियो। बैठक सकेर सिंहदरबारको मन्त्रिपरिषद् बैठकमा जाँदै थिए। बालकुमारीको तनावबारे सूचना पाइनँ।
प्रदर्शनकारीले मन्त्रीको गाडी सडकमा घेरे। तत्काल सुरक्षाकर्मी पठाउनुपर्यो भनेर पीएसओले सञ्चार गरेको २०–२२ मिनेटसम्म सुरक्षाकर्मी नआएको कुरा आफूले पछि मात्र थाहा पाएको मन्त्रीको जिकिर छ। त्यस्तै गाडीमा आगजनी भयो कि गोली प्रहार भयो भन्ने पनि आफूलाई थाहा नभएको उनी बताउँछन्।
त्यस्तै मन्त्री ज्वालाले फायरिङ गर्न आदेश दिनेले आफ्नो कमजोरी ढाकछोप गर्न आफूमाथि दोषरोपण गरेको तर्क पनि गरेका छन्। आफूलाई बालकुमारीको तनावबारे सूचना नै नदिएको हुँदा आफू र आफ्नो मन्त्रालय पीडित पक्ष भएको मन्त्री ज्वालाको भनाइ छ।
के मन्त्रीले यसो भनेर छूट पाउँछन् त ? सांसदहरूले भने मन्त्रीको यस खालको रवैयालाई गैरजिम्मेवार भनेर टिप्पणी गरेका छन्। संसदको राज्य व्यवस्था समितिमा सत्तारुढ कांग्रेसका सांसद गगन थापाले मन्त्री ज्वालाकै लापरवाहीले यो घटना भएकाले उनीमाथि पनि कारबाही हुनुपर्ने आवाज उठाए।
बालकुमारी घटनामा कसको कति दोष भन्ने त न्यायिक छानबिनले पनि देखाउला। तर, राज्यका जिम्मेवार पदाधिकारी नै आफूलाई निर्दोष देखाउन अरुमाथि दोष थोपर्न थालेका छन्। यो कति स्वाभाविक हो ? यसतर्फ पनि बहस गर्ने कि?
प्रतिक्रिया