रातको ११ बजे त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको छिँडीमा पलेटी कसेर जोडजोडले आवाज निकालेर दीपेन्द्रकुमार यादव पढिरहेका थिए। किन उनी यसरी पढिरहेका हुन्? केही कुरा गर्ने कि भन्ने नलागेको होइन। तर, हामी पढाइमा मग्न दीपेन्द्रलाई बाधा नपार्ने विचार गरेर त्रिवि रात्रि अध्ययन कक्षतिर लाग्यौं।
त्रिविले करिब छ महिनायता रात्रिकालीन अध्ययन कक्ष पनि चलाएको छ। चौबीसै घण्टा पुस्तकालय खुल्ला भएपछि लोकसेवालगायत परीक्षाको तयारी गरिरहेका विद्यार्थी आफूलाई पायक पर्ने समयमा पुस्तकालय आउँछन्। पुस्तक वितरण भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र हुन्छ।
शाखा अधिकृतको तयारी गरिरहेका विक्रम साहु साँझ ६–७ बजे पुस्तकालयको अध्ययन कक्षमा आउँछन्।
‘दिउँसो पढ्ने विद्यार्थीको संख्या धेरै हुन्छ तर राति ३०–४० जना यहाँ पढ्न आउँछौं,’ उनले भने ‘पुस्तकालयको नयाँ भवन सञ्चालनमा ल्याउन सके सजिलो हुन्थ्यो।’
तीन वटा कोठालाई अध्ययन कक्ष बनाइएको छ। पुस्तकालय भवन बाहिर जस्ताले छाइएको छ ती भवनलाई। तर सिटको अभावमा दिउँसो एउटा टेबुलमा ६ जनासम्म बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीले सुनाए। विद्युतको वैकल्पिक व्यवस्था भएकाले रातिमा पनि विद्युतको समस्या छैन।
पुस्तकालय भवनबाहिरका अध्ययन कक्षमा पुगेर फर्किँदा पनि दीपेन्द्र एकचित्तले पढिरहेका थिए। यहाँ बसेर किन पढिरहनुभएको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मेरो आवाज निकालेर पढ्ने बानी छ। साथीहरूलाई ‘डिस्टर्ब’ नहोस् भनेर यहाँ पढ्छु।’
दीपेन्द्र सगरमाथा इन्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ पढिरहेका छन्। ‘परीक्षा चलिरहेको छ,’ उनले भने ‘कोठामा भन्दा यता पढ्न जाँगर चल्छ।’
० ० ०
पुस्तकालयमा पढ्ने ठाउँ, स्वच्छ खानेपानीको अभाव रहेको गुनासो विद्यार्थीहरूको छ। पुस्तकालयका कर्मचारीका लागि छुट्टै व्यवस्था गरिएको भए पनि विद्यार्थी पानी किन्नुपर्ने बाध्यतामा छन्।
‘पुस्तकालयले उपलब्ध गराएको पानी सफा नहुँदा साथीहरूले पानी किनेर ल्याउनुहुन्छ,’ हरिस जोशीले भने ‘वर्षको ११ सय शुल्क तिर्दा पनि पानी किनेर खान्छौं।’
विद्यार्थी अनिलकुमार मण्डल भन्छन्, ‘यहाँका कर्मचारीका लागि सफा खानेपानीको व्यवस्था छ,’ उनले भने, ‘तर हामी पानीका लागि वाटर एटीएम (वाटर भेन्डिङ मेसिन) मा जानुपर्छ। पैसा लाग्छ।’
त्रिवि पुस्तकालयबाट करिब ६ सय विद्यार्थीले अध्ययन सदस्यता लिएका छन्। अध्ययन कक्ष मुख्य भवनमा र भवनबाहिर ३ वटा सञ्चालनमा छन्। अध्ययन कक्षको अभावमा विद्यार्थीले पुस्तकालय वरिपरिका रुखको छहारी र चौरमा पढिरहेको दिउँसोको समयमा देख्न सकिन्छ।
२ हजार विद्यार्थी क्षमताको पुस्तकालयको नयाँ भवन गएको पुस २० गते भारतीय विदेशमन्त्री एस जयशंकरबाट उद्घाटन भइसकेको छ। भारतको सहयोगमा बनेको तीन तले नयाँ भवन अपांगमैत्री रहेको त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले बताए।
‘नयाँ भवनमा प्रवेश गर्न प्रयासरत छौं। नयाँ भवन पूर्णतः अपांगमैत्री छ,’ उनले भने, ‘इन्टरनेट राख्ने काम बाँकी छ। सकेसम्म दसैंअघि नयाँ भवन सञ्चालन गरौं भन्ने हाम्रो प्रयास छ।’
अहिले केन्द्रीय पुस्तकालयमा ३१ जना कर्मचारी कार्यरत छन्। पुस्तक वितरण साँझ ७ बजेसम्म मात्र हुन्छ। नयाँ भवनलाई रिसोर्स लाइब्रेरी र हालको भवनलाई डिपोजिटरी लाइब्रेरीका रूपमा सञ्चालन गर्ने निमित्त प्रमुख सुवेदीले बताए। तर, विश्वविद्यालयको हाता खुला भएकाले रातिको अध्ययनका लागि त्रिविले बिजुलीका खम्बामा चिमको व्यवस्था गर्नुपर्ने बताए।
तस्बिरहरू: सरोज नेपाल/सरोज बैजु
प्रतिक्रिया