हङकङमा सन् २०१९ मा स्वतन्त्र हङकङको पक्षमा लाखौंले प्रदर्शन गरेका थिए। सो आन्दोलन ७ महिनाभन्दा बढी चलेको थियो।
यतिबेला सोही प्रदर्शनमा उत्रने एक व्यक्तिलाई ९ वर्षको जेल सजाय भएको छ। त्यसबेला ‘हङकङलाई मुक्त गरौं, हाम्रो समयको क्रान्ति’ भन्ने नारा हङकङ शहरको सर्वव्यापी नारा थियो, दशौं हजार लोकतन्त्र समर्थकले एकै स्वरमा यो नारा लगाएका थिए।
तर यसैहप्ता सोही नारा लेखिएको झण्डा बोक्ने तोङ यिङ–कित अपराधी करार भए र जेल सजाय काटिरहेका छन्।
‘हङकङलाई मुक्त गरौं, हाम्रो समयको क्रान्ति’ सन् २०१६ यता प्रचलित भएको नारा हो। यो नारा हङकङका राजनीतिज्ञ इडवार्ड लिउङले उप–चुनावका दौरान प्रयोग गरेका थिए।
त्यसबेला उनी हङकङका आदिवासीका एक नेता थिए जसले हङकङलाई चीनबाट स्वतन्त्र बनाउनुपर्छ भन्ने भनाइ राख्दथे। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी भन्थे,‘यो नाराले स्वतन्त्रतामा विश्वास गर्ने, स्वतन्त्रतालाई अंगाल्ने, र स्वतन्त्रताको लागि रगत र पसिना बगाएर लड्न इच्छुक व्यक्तिहरुको प्रतिनिधित्व गर्दछ।’
तोङ यिङ–कित
तर चुनावमा बहुमतले स्वतन्त्र हङकङको अवधारणालाई अस्वीकार गर्यो। त्यसको ठिक तीन वर्षपछि अर्थात् सन् २०१९ मा आएर भने ‘स्वतन्त्र हङकङ’को अवधारणा बृहत आन्दोलनमा परिणत भयो।
हङकङको संसदमा सुपुर्दगी विधेयक प्रस्तुत भएको थियो। सो विधेयक पारित भएको भए हङकङका अपराधीलाई चीन सुपुर्दगी गर्न सकिन्थ्यो। तर सो विधेयक पारित हुन नपाउँदै लाखौं हङकङबासीले विरोध जनाए।
विधेयक पारित भए चिनियाँ हस्तक्षेप बढ्ने र हङकङले पाउँदै आएको स्वतन्त्रता गुम्ने आन्दोलनकारीको त्रास थियो।
त्यसबेला हङकङमा चिनियाँ झण्डा जलाइयो, चिनियाँ राष्ट्रिय गानको विरोध गरियो। समग्रमा हङकङ चीनबाट अलग्याउनुपर्छ भनेर नारा लाग्यो।
सन् २०१६ मै त्यहाँकी कार्यकारी प्रमुख क्यारी लामले स्वतन्त्र हङकङको नाराले राष्ट्रिय सार्वभौमिकतामाथि चुनौती थपेको र त्यसले एक देश दुई प्रणालीको अवधारणामा असर गरेको बताएकी थिइन्।
तर यतिबेला हङकङ एकाएक परिवर्तन भइसकेको छ। हङकङमा अहिले स्वतन्त्र हङकङको नारा लगाएमा जेल सजाय हुन्छ।
गतवर्षको जुन ३० तारिखमा मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि हङकङमा चीन विरोधी गतिविधि गर्न पाइँदैन। चिनियाँ राष्ट्रिय झण्डा र राष्ट्रिय गानको विरोध गर्दा त्यस्ता व्यक्तिलाई अपराधी ठहर गर्दै जेल सजाय दिइन्छ।
त्यति मात्र होइन मुख्यक्षेत्र चीनले हङकङमा निर्वाचन सम्बन्धी कानून पनि लागू गरिदिएको छ। यो कानुनअनुसार हङकङको निर्वाचनमा देशभक्ति व्यक्तिले मात्र उम्मेदवार हुन पाउँछन्। यसको अर्थ जसले चीनको विरोध जनाउँदैनन् उनीहरु मात्र निर्वाचनमा उठ्न पाउँछन्।
सन् २०१९ मा सरकार र चीनविरद्ध आन्दोलनमा उत्रिने व्यक्तिहरु यतिबेला धमाधम गिरफ्तार हुन थालेका छन्। हङकङकी कार्यकारी प्रमुख लामका अनुसार मुख्यक्षेत्र चीनले लागू गरेको कानून हङकङको सुरक्षाकै लागि महत्वपूर्ण छ। बीबीसी
Shares
प्रतिक्रिया