कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै हङकङमा बाहिरबाट आउने घरेलु सहयोगीको लागि क्वारेन्टिनको क्षमता क्षमता बढाइएको छ। आगामी महिनादेखि हङकङमा क्वारेन्टिनको लागि छुट्याइएको कोठाको संख्या ५० प्रतिशत बढ्नेछ।
जसमध्ये त्सिङ यीका होटलका थप पाँच सय रुम पनि क्वारेन्टिनको रुपमा प्रयोग हुनेछ।
शनिबार हङकङका श्रम प्रमुख ल चि कोङले फिलिपिन्स र इन्डोनेसियामा कोरोना संक्रमणको अवस्थामा सुधार आएसँगै हङकङमा यो कदम चालिएको बताएका छन्। हङकङका तीन लाख ७० हजारभन्दा धेरै घरेलु सहयोगीमध्ये यी दुई मुलुकबाट आउने सहयोगी धेरै छन्।
अहिले हङकङका घरधनीले पनि सहयोगी ल्याउनलाई भोगिरहेको समस्या पनि क्वारेन्टिनको क्षमता बढाएसँगै अन्त्य हुने अपेक्षा गरिएको छ। नोभेम्बर १ बाट अब हङकङमा १५ सय घरेलु सहयोगीलाई क्वारेन्टिनमा राख्न सकिन्छ।
शनिबार हङकङमा कोरोनाका ६ आयातित संक्रमित फेला परेका थिए। यससँगै हङकङमा समग्र कोरोना संक्रमितको संख्या १२ हजार ३१९ पुगेको छ भने संक्रमणको कारण अहिलेसम्म २१३ जनाको मृत्यु भएको छ।
Shares
प्रतिक्रिया