हङकङका स्वास्थ्य सल्लाहकारहरुले फेब्रुअरीसम्ममा कोरोना संक्रमणको नयाँ लहर अन्त्य हुन सक्ने बताएका छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार संक्रमणको अवस्था स्थिर रहेको र स्रोत नभएका संक्रमित नभेटिए लूनार पर्वभन्दा अगाडि नै हङकङमा नयाँ लहरको अन्त्य हुनेछ।
अहिले हङकङले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै भौतिक दुरीको नियमबारे पुनरवलोकन गर्दै गरेको अवस्थामा स्वास्थ्य सल्लाहकारहरुले यस्तो बताएका हुन्।
बेइजिङले हङकङमाथि सीमा खोल्नका लागि स्रोत नभेटिएका संक्रमित फेला पर्न नहुने भन्दै दबाब दिँदै आएको छ।
हङकङ युनिभर्सिटीका प्राध्यापक युएन क्वोक–युङले अहिले हङकङमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र त्यति ठूलो संख्यामा संक्रमित पनि नथपिएको बताएका छन्।
‘हामीले सबै संक्रमणको सञ्जाल फेला पार्न सक्यौं र स्थानीय संक्रमितको संख्या स्थिर रहेको अवस्थामा कोरोनाको यो लहर चिनियाँ नयाँ वर्षअघि वा सोभन्दा पछाडि अन्य हुन सक्छ’, उनले भने।
हङकङमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै बार र पब्ससहित १४ अन्य प्रकारका व्यवसायहरु बन्द गरिएको छ।
गत साता यो घोषणा गर्दै हङकङ प्रमुख क्यारी लामले सरकारले शुक्रबार कोरोना संक्रमणको अवस्थाबारे अध्ययन गर्ने र थप कडाइ गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताएकी थिइन्।
Shares
प्रतिक्रिया