हङकङमा हाइकिङमा गएका दुईजनाको मृत्यु भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार भएको दुई छुट्टाछुट्टै घटनामा परी उनीहरुको मृत्यु भएको हो।
उनीहरु दुवैजना ६० को दशकका मानिसहरु रहेको समाचारमा उल्लेख छ।
साउथर्न लान्टाउस्थित लिङ वुईमा ६४ वर्षीय लो थर गरेका पुरुषको मृत्यु भएको समाचारमा उल्लेख छ। यसअघि नै उनी विभिन्न स्वास्थ्य समस्याको सामना गर्दै आएका थिए।
प्रहरीका अनुसार साथीहरुसँग हाइकिङमा जाँदै गर्दाको उनको मृत्यु भएको हो। उनका साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए।
त्यस्तै स्ट्यान्ली विल्सन ट्रेलमा ६३ वर्षीय अर्का वोङ थर गरेका पुरुषको मृत्यु भएको छ।
उनको पनि शनिबार नै मृत्यु भएको हो। उनीहरु दुवैलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। तर, अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो।
कोभिड–१९ को महामारीपछि हङकङमा हाइकिङ जाने क्रममा मृत्यु हुने घटना बढेका छन्।
सन् २०२१ मा हङकङमा ९५१ जना मानिसहरुलाई पर्वतीय क्षेत्रबाट उद्धार गरिएको थियो। जबकी २०२० मा यो संख्या ६०२ मात्र थियो।
यी घटनाहरुमा १४ जनाको मृत्यु भएको थियो भने ५९८ जना मानिसहरु घाइते भएका थिए। उद्धारको क्रममा १० जना उद्धारकर्मीहरु पनि घाइते भएका थिए।
Shares
प्रतिक्रिया