हङकङमा एकदिन सजेद रयान आफ्नो कामबाट निस्किँदा लिफ्ट कुरिरहेका थिए। त्यत्तिकैमा एउटा चिनियाँ परिवार पनि लिफ्ट चढ्न आइपुगे।
तर, उनीहरुले सजेदसँग केही दुरी कायम गरेर बसे र लिफ्ट आएपछि पनि सजेदलाई एक्लै जान भनेर उनीहरु अर्को लिफ्ट कुरेर बसे। उनले यसअघि यस्तो अवस्थाको सामना गर्नुपरेको थिएन।
पाकिस्तानमा जन्मिएका रयान २० वर्षको हुँदा आफ्ना अभिभावकहरुसँग हङकङ आएका थिए।
‘उनीहरुले मलाई कोरोना संक्रमण भएको जस्तो व्यवहार गरेको जस्तो लाग्यो’, ४३ वर्षीय सजेदले भने।
एउटा कपडा कम्पनीको म्यानेजरसमेत रहेका उनले पाकिस्तानी पहिचान बोकेको कपडा लगाएका थिए।
पछिल्लो समय हङकङमा कोरोना संक्रमण बढेसँगै धार्मिक अल्पसंख्यकमाथिको विभेद पनि बढेको छ। मानिसहरुले धार्मिक अल्पसंख्यक नागरिकलाई कोरोना संक्रमण फैलाउन सहयोग पु¥याएको आरोप लगाउने गरेका छन्। उनीहरुको अपमान गर्ने, हेप्ने र उनीहरुबाट टाढा रहनेजस्ता व्यवहार बढेको छ।
पाकिस्तानबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै हङकङमा धार्मिक अल्पसंख्यक अहिले निशानामा परेका छन्।
हङकङमा ५ लाख ८४ हजार बासिन्दालाई अल्पसंख्यकको रुपमा राखिएको छ। हङकङको समग्र जनसंख्यामा उनीहरुको हिस्सा ८ प्रतिशतको छ।
अहमद वाकस पनि आफूले प्रत्येक दिन विभेदको सामना गर्नुपरेको बताउँछन्। उनी आफूलाई सार्वजनिक यातायातमा यात्रा गर्नु पनि चुनौतीपूर्ण बनेको बताउँछन्। अधिकांश ट्याक्सीले उनलाई गन्तव्यमा पुर्याउन चाहँदैनन्।
‘एकपटक त मलाई यतिसम्म रिस उठ्यो कि मैले ट्याक्सी चालकलाई मेरो खोप कार्ड र कोरोना परीक्षणको सबै नतिजा देखाइदिएँ’, उनले भने।
पाकिस्तानमै जन्मिएका वाकस ३ वर्षको हुँदा आफ्ना अभिभावकहरुसँग हङकङ आएका थिए। हङकङको बसमा यात्रा गर्दा बरु मानिसहरु उभिएरै यात्रा गर्छन् तर उनको सिटको छेउमा कोही पनि बस्न चाहँदैनन्।
‘त्यसैले अहिले म सार्वजनिक यातायातमा यात्रा गर्दा उभिन रुचाउँछु ताकि मलाई र अरु कसैलाई अप्ठ्यारो नहोस्’, उनी भन्छन्। त्यसो गर्दा पनि अन्य यात्रुहरु आफूभन्दा टाढा भाग्ने गरेको उनको भनाइ छ।
‘सबै कुरा वर्णन गर्नु त्यति सहज छैन तर यो वास्तविकता हो। मैले यस किसिमको विभेद प्रत्येक दिन भोग्दै आएको छु’, उनी थप्छन्।
हङकङको शाम शुआई पोस्थित खात्मे नुबुवात इस्लामिक परिषदका सहयोगी ३३ वर्षीय अलि तयाब हङकङमा कोरोना संक्रमण फैलिएपछि यस किसिमका धेरै घटना आफूले सुनेको बताउँछन्। विशेषगरी पाकिस्तानबाट आएका मानिसहरुले धेरै यस किसिमको विभेदको सामना गर्नुपरेको उनको भनाइ छ।
‘हङकङमा धार्मिक अल्पसंख्यकमाथिको विभेद लामो समयदेखि चल्दै आएको मुद्दा हो तर अहिले अवस्था झन् खराब बनेको छ’, उनले भने।
तयाब महामारी भन्दा पहिला पनि धेरैपटक आफूले विभेदको सामना गरेको बताउँछन्।
यसअघि दक्षिण अफ्रिका र बेलायतमा बसिसकेका तयाब यी दुवै मुलुकमा हङकङमा जस्तो विभेदको सामना कहिले पनि गर्नु नपरेको बताउँछन्। उनले हङकङका मानिसहरुलाई विभेदको विरुद्धमा जनचेतना फैलाउनु आवश्यक रहेको बताए।
हङकङको सरकारले आफ्ना सूचना विभिन्न समुदायका मानिसहरुलाई उनीहरुकै भाषामा अनुवाद गरेर सुनाउने प्रयास गरे पनि केही भाषामा ती सूचनाहरु पढ्न निकै कठिन हुने उनको भनाइ छ।
तयाब आफ्नो समुदायका मानिसहरुले पनि सरकारको कोरोना भाइरसविरुद्धको लडाइँमा साथ दिनुपर्ने बताउँछन्।
शाम शुआई पो जिल्ला परिषदका सदस्य जय लि टिङ–फुङमा धार्मिक अल्पसंख्यक समुदायमा कोरोना परीक्षण पनि त्यति धेरै मात्रामा नभएको बताउँछन्। उनका अनुसार अझै पनि सरकारी सूचनाहरु अंग्रेजी र चिनियाँ भाषामा मात्र सीमित भएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ।
सरकारले विभिन्न भाषामा कोभिड–१९ बारे सचेतना फैलाउनुपर्नेमा उनले जोड दिए। धार्मिक अल्पसंख्यक समुदायले पनि अहिले कोरोनाविरुद्धको सरकारको लडाइँमा साथ दिइरहेको लिले बताए। उनका अनुसार धार्मिक अल्पसंख्यक समुदायका मानिसहरुले पनि उनीसँग सम्पर्क गरेर स्वास्थ्य एप डाउनलोड गरेका छन्।
हङकङको इस्लामिक धर्मका प्रमुख मुफ्ती मोहम्मद अर्सद आम नागरिकलाई धार्मिक अल्पसंख्यक मानिसहरुलाई कोरोना फैलाएको आरोप लगाउन नहुने बताउँछन्।
‘हामी पनि स्थानीय चिनियाँसरह नै जीवनयापन गरिरहेका छौं। हामीसँग निकै राम्रो सहकार्य गरेको र एकअर्कालाई सहयोग गरेको इतिहास छ’, उनले भने।
उनले एकअर्काबीच असमानता फैलाउनुको सट्टामा एकसाथ मिलेर महामारी नियन्त्रण गर्नुपर्ने बताए। भाइरस कुनै सम्प्रदायको मात्र शत्रु नभएकाले सबै मिलेर यसको सामना गर्नुपर्ने उनको भनाइ छ।
हङकङको समान अवसर आयोगका प्रमुख रिकी चु मान–किनले गत साता मानिसहरुलाई कोरोना संक्रमणमा आरोप/प्रत्यारोपको खेल खेल्न नहुने बताएका थिए।
उनका अनुसार पछिल्लो दुई वर्षमा धेरै डान्सर, घरेलु कामदार, बारमा काम गर्ने मानिस र जिम जाने मानिसहरुमाथि आरोप लगाउने काम भएको उनले बताए।
अहिले हङकङमा फैलिएको पाँचौं लहरमा भने विमानको चालक दलका सदस्य, पाल्तु जनावरको खरिद बिक्री गर्ने पसल र धार्मिक अल्पसंख्यक समुदायका मानिसहरु निशानामा परेका छन्। (साउथ चाइना मर्निङ पोस्टबाट)
Shares
प्रतिक्रिया