हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले ठूलो मात्रामा जित हासिल गरेको छ।
सोमबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार प्रो डेमोक्रेशी पक्ष १८ मध्ये १७ जिल्लामा विजयी भएको छ। ती जिल्लाहरूमा यसअघिका चुनावमा सरकार समर्थक पार्टी विजयी भएका थिए।
सोमबार बिहान सोमबार बिहान १२ बजेसम्मको मत परिणाम अनुसार १८ जिल्ला परिषदका ४५२ सिटमध्ये प्रो डेमोक्रेटले ३४४ सिट, सरकार समर्थकले ५८ सिट र स्वतन्त्रले ४१ सिट जितेका छन्।
प्रो डेमोक्रेशी पक्ष हङकङको विपक्षी राजनीतिक धार हो, जसले ६ महिनादेखि चलेको हङकङको आन्दोलनमा समर्थन र सहभागिता जनाउँदै आएको थियो।
चुनावी परिणामले सरकार रक्षात्मक देखिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा लिएका छन्।
हङकङको आन्दोलनमा युवाहरूको सहभागिता अत्याधिक थियो, जुन सहभागिता निर्वाचनमा पनि देखिएको छ। पहिलो पटक मतदान गर्ने युवाहरूले सरकारको विपक्षमा लोकतान्त्रिक पक्षलाई मतदान गरेको पाइएको छ।
लोकतान्त्रिक पक्षका अधिकांश नयाँ युवा उम्मेदवार जसमध्ये धेरै ६ महिनादेखि चलेको सरकार विरोधी आन्दोलनमा संलग्न भएका थिए, उनीहरू विजयी भएका छन्।
यो चुनावी नतिजाले हङकङको प्रमुख कार्यकारी निर्वाचित गर्ने चुनाव समितिमा प्रो डेमोक्रेशी धारको बाहुल्यता बढ्ने छ, जसले आगामी प्रमुख कार्यकारीको चुनावमा प्रभाव पार्ने ठानिएको छ।
हङकङको संसद लेजिसलेटिभ काउन्सिलमा अहिले पनि सरकार समर्थककै बहुमत छ।
प्रतिक्रिया