एसीएमपीका अनुसार दशौंहजार मानिसहरु शान्तिपूर्ण भनिएको उक्त प्रदर्शनमा उत्रिएका छन्।
यसै वर्षको जुन ९ बाट हङकङमा सरकारविरुद्धको आन्दोलन सुरुवात भएको थियो। सोमबार डिसेम्बर ९ मा आन्दोलन ६ महिनामा प्रवेश गर्दैछ।
आन्दोलन छैठौं महिनामा प्रवेश गर्न एक दिन अगाडि हङकङका प्रदर्शनकारीले विशाल जुलुस निकालेका थिए।
प्रदर्शनकारीले शनिबार प्रदर्शन शान्तिपूर्ण हुने बताएका थिए। यद्यपी ११ प्रदर्शनकारीबाट पेस्तोल र चक्कु बरामद गरिएका कारण उनीहरुलाई प्रहरीेले नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरी अधिकारीहरुका अनुसार प्रदर्शनकारीबाट बरामद पेस्तोल र म्यागेजिनहरुले काम गर्छन्। शनिबार प्रहरीले प्रदर्शनलाई वैधानिकता दिएको बताए पनि हिंस्रक प्रदर्शन नसहने चेतावनी दिएको थियो।
आइतबार ९ जनाबाट घातक हतियार फेला पारेसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुवात गरेको छ।
आइतबार कजवे बेदेखि सेन्ट्रलसम्म प्रदर्शनकारीले विशाल जुलुस निकालेका थिए। यो ६ महिनाको अवधिमा ६ हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सरकारले प्रस्ताव गरेको सुपुर्दगी विधेयकलाई लिएर सुरुवात भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिँदापनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।
आन्दोलनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग गरेका छन्। प्रहरीले प्रदर्शनकारीमाथि ज्यादती गरेकाले यसको अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
गत महिना प्रदर्शनकारीले माग पुरा गर्नभन्दै पोलिटेक्निक विश्वविद्यालय १० दिनसम्म कब्जामा लिएर प्रदर्शन गरे। प्रहरीमाथि पेट्रोलबम तथा धनुवाण प्रहार भयो।
त्यस लगत्तै जिल्ला परिषद् निर्वाचन सम्पन्न भयो। निर्वाचनमा प्रजातन्त्र पक्षधर अर्थात् आन्दोलनकारीको मुद्दा बोकेका पार्टीले बहुमत ल्याए।
आइतबारको जुलुस प्रदर्शनकारीको मागलाई पुरा गर्न दबाब साथै प्रजातन्त्र पक्षधरको जितको संकेत स्वरुप निकालिएको जनाइएको छ।
Shares
प्रतिक्रिया