हङकङमा क्वारेन्टिनको नयाँ नियमबारे जान्नुपर्ने कुराहरु

हङकङमा क्वारेन्टिनको नयाँ नियमबारे जान्नुपर्ने कुराहरु

नेपालखबर
साउन २४, २०७९ मंगलबार १०:६, हङकङ

हङकङमा शुक्रबारबाट बाहिरबाट आउने मानिसहरुका लागि होटल क्वारेन्टिनको नियम परिवर्तन हुँदै छ। अब बाहिरबाट आउने मानिसले ३ दिन मात्र होटल क्वारेन्टिनमा बसे पुग्छ। अहिले सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ। 

नयाँ व्यवस्थाअनुसार बाहिरबाट आउने मानिसले ३ दिन होटल क्वारेन्टिन र बाँकी ४ दिन होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ। यहाँ हङकङले अहिले सार्वजनिक गरेको नयाँ नियमबारे जान्नुपर्ने केही कुरा उल्लेख गरिएको छ– 

१. ३+४ को नीति किन ल्याइयो? 
हङकङका स्वास्थ्यमन्त्री लो चुङ–माउले सोमबार यो निर्णय वैज्ञानिक तथ्यलाई आधार बनाएर लगाइएको बताएका छन्। उनका अनुसार अधिकांश कोरोना संक्रमण होटल क्वारेन्टिनको सुरुवाती ३ दिनभित्र पुष्टि भएका छन्।

करिब आधाजसो संक्रमित विमानस्थलमै पीसीआर परीक्षणको क्रममा भेटिएका छन्। त्यस्तै जुलाई ८ देखि अगष्ट ४ सम्मको तथ्यांकअनुसार क्वारेन्टिनमा फेला परेकामध्ये पनि ८० प्रतिशतमा दुई दिनभित्र संक्रमण पुष्टि भएको छ। 

बाहिरबाट आउने एक हजार जनामध्ये ४० जनामा मात्र कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये २० जनालाई विमानस्थलमा नै कोरोना संक्रमण पुष्टि भएको छर १२ जनालाई होटल क्वारेन्टिनमा बसेको २ दिनभित्र संक्रमण पुष्टि भएको छ। केवल ८ जनालाई मात्र तेस्रो दिन वा त्यसपछि संक्रमण पुष्टि भएको छ। 

हङकङका प्रमुख कार्यकारी जोन ली का–चिउले स्वास्थ्य जोखिम र आर्थिक आवश्यकताको बीचमा सन्तुलन कायम राख्दै नयाँ नीति ल्याइएको उल्लेख गरेका छन्। 

२. नयाँ नीतिले पर्यटकलाई के फाइदा पुग्छ? 
अहिलेको व्यवस्थाअनुसार ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। यो अवधिमा प्रत्येक दिन र्‍यापिड एन्टिजेन टेस्ट (र्‍याट) गराउनुपर्छ।

त्यस्तै तेस्रो र पाँचौं दिन पीसीआर परीक्षण गराउनुपर्छ। उनीहरुको परीक्षणको नतिजा नेगेटिभ आएको अवस्थामा मात्र उनीहरुलाई सातौं दिन क्वारेन्टिनबाट निस्किन दिइन्छ। तर, पोजेटिभ आए उनीहरुलाई सरकारी आईसोलेसन केन्द्रमा पठाइन्छ। 

अगष्ट १२ बाट भने ताइवान र विश्वका अन्य भागबाट आउने मानिसहरुले केवल ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। बाँकी चार दिन उनहिरुले होम आइसोलेसन वा अन्य सामान्य होटलमा मेडिकल निरीक्षणसहित बिताउनुपर्ने हुन्छ। यो अवधिमा उनीहरुले खोप लगाएको कार्ड अनिवार्य नहुने कार्यस्थल, शपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर र वेट मार्केटमा जान पाउनेछन्। 

उनीहरुले सार्वजनिक यातायातमा भ्रमण पनि गर्न पाउनेछन् तर मास्क फुकाल्ने र केयर होम, विद्यालयजस्ता उच्च जोखिमको क्षेत्रमा भने प्रवेश गर्न पाउँदैनन्। 

३. ३+४ को नियम कसरी लागू हुन्छ? 
मानिसहरु हङकङ पुगेको दिनलाई १ दिनको सट्टामा ० दिन मानिनेछ। परीक्षणमा पास भए विमानस्थलबाट सोझै निर्धारित होटलमा लगिनेछ।

२ दिन वा हङकङ झरेको तेस्रो दिन अर्को एउटा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। चौथो दिन बिहान त्यसको नतिजा नेगेटिभ आए छिटोमा बिहानको नौ बजे होटल क्वारेन्टिन छाड्न सकिन्छ। 

त्यसपछि उनीहरुले घर वा अर्को होटलमा जान सार्वजनिक यातायात चढ्न सक्छन्। हङकङ झरेको दिनदेखि १० दिनसम्म र्‍याट टेस्ट गर्नुका साथै ४,६ र ९ दिनमा सामुदायिक परीक्षण केन्द्रमा वा मान्यताप्राप्त संस्थामा पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ। 

४. हेल्थ कोड प्रणालीले क्वारेन्टिन घटाउन कसरी सहयोग पुग्छ? 
हेल्थ कोड प्रणालीमा पहेँलो, रातो र निलो कोड हुन्छन्। जुन मंगलबारदेखि कार्यान्वयनमा आउनेछन्। हङकङ आउनेहरुले ‘लिभ होम सेफ’ नामक मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ। उनीहरुले ३+४ को अवधिमा पहेँलो रङको क्युआर कोड प्राप्त गर्छन्।

होम आइसोलेसनमा संक्रमितलाई रातो कोड दिइन्छ। उनीहरुलाई घर छाड्न रोक लगाइनेछ। होम आइसोलेसन र मेडिकल निरीक्षण सकिएपछि उक्त कोड निलोमा परिणत हुनेछ। 

५. पहेँलो कोड पाउनेले के के गर्न पाउँछन्? 
पहेँलो कोड पाएका मानिसले कार्यस्थ, शपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर र सार्वजनिक यातायातजस्ता स्थानमा जान पाउँछन्। यद्यपि उनीहरुलाई अनिवार्य परीक्षण आवश्यक पर्ने रेष्टुरेन्ट, जिम, नाइट क्लब, स्विमिङ पुल, ब्युटि पार्लर र सैलुनमा भने जान पाउनेछैनन्।  त्यस्तै उच्च जोखिम रहेको स्थानमा पनि उनीहरु जान पाउँदैनन्। 

यद्यपि कुनै अध्ययन वा कामको लागि उच्च जोखिमको क्षेत्रमा जानुपर्ने छ र पहेँलो कोड पाएका छन् भने उनीहरुलाई अनुमति दिइनेछ। यद्यपि यस्तो स्थानमा जाँदा उनीरुले एक्लै बसेर खानुपर्ने र अन्य मानिसहरुसँगको सम्पर्कमा आउन भने पाउँदैनन्। 

यो नियम पालना नगर्नेलाई १० हजार हङकङ डलरबराबरको जरिवाना र जेल सजाय हुन सक्छ। 

६. शुक्रबारअघि नै हङकङ पुग्नेलाई के हुन्छ? 
शुक्रबारअघि नै हङकङ पुग्नेलाई भने केही फरक व्यवस्था छ।

अधिकारीहरुका अनुसार अगष्ट ३ देखि ८ को बीचमा हङकङ आउनेलाई नियमितरुपमा नै नेगेटिभ पीसीआर रिपोर्ट आएको अवस्थामा अगष्ट ९ देखि १२ भित्र होटल छाड्न दिइनेछ तर उनीहरुले त्यसपछि पनि सोही किसिमको घरमा नै मेडिकल निरीक्षणको अवधि भने बिताउनुपर्ने हुन्छ। उनीहरुलाई यो अपधिमा पहेँलो कोड दिइनेछ। 

अगष्ट ९ मा आउनेले पनि ३ दिन होटल क्वारेन्टिन पूरा गरेर छाड्न पाउनेछन्। यद्यपि सरकारले उनीहरुको चेक आउटका लागि भने केही ढिला हुन सक्ने बताएको छ। 

७. आएको तेस्रो दिन संक्रमण पुष्टि भए के हुन्छ? 
होटल क्वारेन्टिनमै रहेको बेला कोरोना संक्रमण पुष्टि भए उनीहरुलाई सरकारी आइसोलेसन केन्द्रमा पठाइनेछ। उपयुक्त वातावरण छ भने उनहिरुलाई होम आइसोलेसनमा पठाइनेछ। उनीहरुलाई रेड कोड र ट्र्याकिङ ब्रासलेट दिइनेछ। साउथ चाइना मर्निङ पोस्टबाट 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .