बेइजिङ समर्थक लिबरल पार्टीले हङकङका स्थायी बासिन्दाहरुलाई १० हजार हङकङ डलर सहयोग भौचर प्रदान गर्न सरकारलाई आग्रह गरेको छ।
आन्दोलनले तहसनहस भएको हङकङको परिस्थितिलाई मध्यनजर गर्दै उक्त पार्टीका सांसदहरूले सोमबार वित्तीय सचिव पौल चानसँग भेट गर्दै आगामी बजेटमा हङकङका स्थायी बासिन्दालाई १० हजार हङकङ डलर प्रदान गर्ने प्रस्ताव पेस गर्न सुझाब दिएको आरटीएचकोले बताएको छ।
क्याटरिङ क्षेत्रका सांसद टोमी चेउङले उपभोक्ताका लागि उनीहरुको ईच्छा अनुसार खर्च गर्न अतिरिक्त पैसा नभएको बताउँदै सन् २०११ मा सरकारले ६ हजार नगद वितरण गर्दा व्यापार उकास्न प्रभावकारी भुमिका खेलेको समेत स्मरण गराए। साथै सहायता भौचरहरू उपलब्ध गराईए मानिसहरूले उक्त भौचर रेस्टुरेन्टहरू र उनीहरूको मनपर्ने अन्य खुद्रा सामग्रीहरु किन्नमा खर्च गर्न सक्ने बताए।
उनले थपे, ‘यदि यसो गर्दा पौल चानले प्रशासनिक बोझ ठान्छन् भने हामी नगद लिन समेत कुनै आपत्ति मान्दैनौं, जसरी २०११ मा ६ हजार डलर बितरण गरिएको थियो।’
साथै पार्टीको अन्य प्रस्तावहरुमा अल्पकालीनका निमित्त सब्जी बजार स्टल, खुद्रा पसल र गोदामहरूका मालिकहरूले ५० प्रतिशतसम्म भाडा कटौती गर्न समेत सुझाब दिएका छन् भने ५० हजारसम्म तलब कर छुट गरिदिन समेत सुझाब दिएका छन्।
उनीहरूको सुझाबमा आगामी फेब्रुअरीमा प्रस्तुत गरिने बजेट प्रस्तुतिमा साना र मध्यम वर्गका व्यवसायका लागि थप आर्थिक सहयोग र सरकार विरोधी चलिरहेको आन्दोलनमा क्षतिग्रस्त भएका निजी सवारी साधनहरूको मर्मतका लागि अनुदान उपलब्ध गराउन आग्रह गरिएको छ।
हङकङमा बिगत ६ महिनादेखि जारी सरकारबिरोधी आन्दोलनका कारण व्यापार व्यवसाय लगायत पर्यटन व्यवसायहरु तहसनहस भएको छ। कतिपय पसलहरु बन्द भएका छन् भने बन्द हुने क्रममा छन्।
प्रतिक्रिया