हङकङको पिक ट्राम शनिबारदेखि सेवामा फर्किएको छ। मर्मतसम्भार तथा कोरोना महामारीको कारण १४ महिना बन्द रहेको पिक ट्रामले शनिबारदेखि आफ्नो सेवा पुनः सुरु गरेको हो।
यद्यपि यसको टिकट भने ७० प्रतिशत महँगिएको छ। मानिसहरुको आकर्षण भने नघटेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। शनिबार पिक ट्राम खुल्नुभन्दा पहिला नै सयौं मानिसहरु रेलको पर्खाइमा लाइनमा बसेका थिए।
यसको स्तरोन्नतिको लागि भन्दै सन् २०२१ को जुनबाट यो सेवा बन्द गरिएको थियो। त्यसपछि कोरोना महामारीको कारण यो सेवा पुनः सुरु हुन सकेको थिएन। यसको स्तरोन्नतिको लागि करिब ८० करोड हङकङ डलर खर्च भएको सञ्चालकले बताएको छ। त्यसैले ट्रामको भाडा पनि बढाइएको उनीहरुको भनाइ छ।
१३४ वर्ष पुरानो यो ट्राम सेवाको छैटौँ पुस्ता हो। यसको रङ तेस्रो र चौथो पुस्ताको जस्तै हरियो राखिएको छ। नयाँ ट्राममा एक पटकमा २१० जनासम्म यात्रु चढ्न सक्छन्। यो संख्या अघिल्लो पुस्ताको तुलनामा ७५ प्रतिशत बढी हो।
अहिले एक जना वयष्कको टिकट ८८ डलर तोकिएको छ। यसअघि टिकटको मूल्य ५२ डलर थियो। २०१८ मा पनि टिकटको मूल्य वृद्धि गरिएको थियो। त्यतिबेला ४५ डलरबाट ५२ डलर पुर्याइएको थियो।
ट्राम सञ्चालक कम्पनी पिक कम्प्लेक्सका महाप्रबन्धक मे साङ यिङ मेइले महामारीका कारण अत्यधिक खर्च भएको बताए।
‘महामारीले निर्माण, खरिद र बन्दोबस्तीमा निकै ढिलाइ गरिदियो। त्यही खर्च टिकटको नयाँ मूल्यमा देखिएको छ,’ साङले भने।
विशेषगरी मुख्यभूमि चीनसँगको सीमा खुलेपछि पर्यटक बढ्ने उनको भनाइ छ।
ट्राममा तल फर्केका २२ सिट थपिएका छन्। जसले गर्दा पिकबाट तल झर्दै गर्दा यात्रुहरु भिक्टोरिया हार्बरतिर फर्किएका हुनेछन्। अपाङ्गता भएका तथा केटाकेटीलाई लक्षित गर्दै ह्विल चेयर र बेबी क्यारिजका लागि पनि ठाउँ थपिएको छ।
यात्रुलाई दृश्यावलोकनको मजा दिलाउन ट्रामको झ्याल फराकिलो पारिएको छ। स्टेसनबारे सूचना दिन स्क्रिन जडान गरिएको छ। यात्रुको सुरक्षाका लागि ध्यान दिइएको छ।
ट्रामकारको मर्मत र स्तरोन्नतिका अलावा सेन्ट्रल टर्मिनसमा पनि सुधार गरिँदै छ। जहाँ १३ सय यात्रु अट्ने गरी प्रतीक्षालय बनाइँदै छ।
ट्राममा चढ्न सजिलो होस् भनेर ट्रामको ढोकामा रहेका सिँढी हटाएर लिफ्ट सिस्टम राखिएको छ।
पिक ट्राम पहिलो पटक मे १८८८ मा खुलेको थियो। १९९० मा यसको पाँचौँ पुस्ताका रुपमा रातो ट्राम कार सञ्चालनमा ल्याइएको थियो। जसले तीन दशकसम्म यात्रुको सेवा गरेपछि यसको स्तरोन्नति गरिएको हो।
Shares
प्रतिक्रिया