विशेषज्ञ भन्छन्– हङकङमा कोरोनाको भयावह अवस्था आउँदैन

विशेषज्ञ भन्छन्– हङकङमा कोरोनाको भयावह अवस्था आउँदैन

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १०:१, काठमाडौँ

गत साता हङकङमा कोभिड–१९ का दैनिक नयाँ संक्रमितको संख्या १० हजार नाघेको थियो। यससँगै हङकङका मानिसहरुमा कोरोनाको बारेमा चिन्ता थपिएको छ। अब यो संक्रमणले हङकङमा कस्तो रुप लिन्छ होला भन्ने धेरैको चासोको विषय बनेको छ। 

स्वास्थ्य विशेषज्ञहरु भने हङकङमा कोरोनाको पाँचौं लहरको जस्ता अवस्था सिर्जना हुने सम्भावना निकै कम रहेको बताउँछन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय हङकङमा देखिएको कोरोना संक्रमण धेरै कारणले पाँचौं लहरभन्दा फरक पाइएको छ।

पछिल्लो संक्रमण पहिलाको जस्तो तीव्र गतिमा भने बढेको छैन। त्यस्तै मृतकको संख्या कम छ भने समुदायमा कोरोना खोप लगाउनेको संख्या पनि धेरै छ। 

श्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर लेउङ चि–चिउ अहिले फैलिरहेको कोरोना संक्रमण गत मार्चको जस्तो गम्भीर नरहेको बताउँछन्। मार्चमा एकैदिन ५८ हजारसम्म नयाँ संक्रमित थपिएका थिए। उनका अनुसार पछिल्लो समय धेरै मानिसमा कोभिड प्रतिरोधी क्षमता विकास भइसकेको छ। धेरै मानिसलाई यसअघि नै कोरोना संक्रमण भइसकेको छ। 

हङकङ युनिभर्सिटीका महामारीविद् प्राध्यापक बेन्जामिन कोउलिङ पनि यसअघिको जस्तो तीव्र गतिमा कोरोना संक्रमण बढ्ने सम्भावना निकै कम रहेको बताउँछन्। उनका अनुसार गत जनवरीका तुलनामा अहिले हङकङमा संक्रमण निकै सुस्त गतिमा फैलिरहेको छ। 

अहिलेको अवस्थामा सरकारले सामान्य लक्षण देखिएका मानिसहरुलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने लेउङले बताए। यसले आम अस्पतालको भार कम हुने उनको विश्वास छ। त्यस्तै खोप अभियानलाई पनि थप विस्तार गर्नुपर्ने उनको बुझाइ छ। 

हङकङ सरकारका महामारी सल्लाहकार प्राध्यापक डेभिड हुई शु अहिलेको अवस्थामा संक्रमण बढ्दै गए पनि दैनिक २० हजारभन्दा धेरै कोरोना संक्रमित नथपिने बताउँछन्।

पछिल्लो समय बढ्दो संक्रमणका बीच सरकारले कडा किसिमको प्रतिबन्ध भने नलाग्ने स्पष्ट पारिसकेको छ। लामो समयपछि हालै मात्र बिस्तारै खुल्न थालेको हङकङमा पुनः प्रतिबन्ध लगाउँदा त्यसले झन् नराम्रो असर पार्न सक्ने विशेषज्ञहरुले बताएका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .