हङकङमा लामो समयदेखि व्यवसायमा सक्रिय सामाजिक अभियन्ता टंक रानालाई नेपाल सरकारले ‘समाजसेवा रत्न’ पदले विभूषित गरेको छ। संविधान दिवसको दिन ३ असोजमा रानाले यो सम्मान पाएका हुन्।
राना सन् १९९४ मा हङकङ प्रवेश गरेका थिए। सुरुमा बहुसंख्यक नेपालीझैँ निर्माण क्षेत्रमा लागेका उनी सन् २००७ सम्म सोही क्षेत्रमा सक्रिय थिए। हङकङमै फ्रान्सको एउटा प्रतिष्ठित कन्स्ट्रक्सन कम्पनीको नेतृत्व तहमा पुगेका रानाले त्यहाँबाट निस्केर सन् २००८ मा आफ्नै कन्स्ट्रक्सन कम्पनी दर्ता गराए र नयाँ उद्यम सुरु गरे। उनले त्यसअघि २००२ मा हङकङको युनलोङमा थालेको आफ्नो ग्रोसरी व्यवसाय पनि सञ्चालन गरिरहेका थिए।
नब्बेको दशकमा खुलेको हङकङ मगर संघबाट सामाजिक कार्यमा लागेको बताउने टंक त्यसपछि अन्य सामाजिक संस्थाहरुसंग पनि आवद्ध हुँदै गए। उनले सामाजिक कर्मसँगै आफ्नो व्यवसायलाई अघि बढाइरहे। २०१० मा उनी पर्यटन व्यवसायमा जोडिए र हङकङमै उनले नमस्ते ट्राभल एन्ड टुर्स खोले।
राना हङकङ सरकारको ‘सोसल वेलफेयर डिपार्टमेन्ट’ को शरणार्थीसम्बन्धी कार्यक्रम ‘एएसटीसी’ (एसाइलम सिकर एन्ड टर्चर क्लेम) को ठेक्का पाउने पहिलो नेपाली व्यवसायी हुन्। उनले २००८ देखि यो ठेक्का पाउन थाले। यस कार्यक्रम अन्तर्गत हङकङमा बसोबास गरिरहेका विश्वभरबाट आएका शरणार्थी आवेदनकर्ताहरुलाई खाना खुवाउने काम गरिन्छ। आर्जन गरेको विश्वासका कारण रानाले हङकङ सरकारबाट २०१५ सम्म यो परियोजना पाइरहे। त्यसबाट रानाले राम्रो आर्थिक उपार्जन पनि गरे।
२००८ मा हङकङका करिब २ दर्जन संस्थाको महासंघ हङकङ नेपाली महासंघको कोषाध्यक्षको रुपमा नेतृत्वमा आएका रानाले त्यसपछि निरन्तर नेतृत्वमा रहेर काम गरे। उनी २०१५ मा महासंघको उपाध्यक्षको रुपमा नेतृत्वमा उक्लिए।
२०१८ देखि २०२२ सम्म महासंघको अध्यक्ष पदमा रही सामाजिक सेवामा सक्रिय रहे। महासंघको नेतृत्व लिएपछि हङकङका नेपालीलाई स्थानीयसँग घुलमिल गराउन र सरकारसम्म तिनको आवाज पुर्याउने काममा मध्यस्थता गरेका रानाकै जोडबलमा महासंघले हङकङ सरकारबाट राम्रो आर्थिक सहयोग सहितको परियोजना ल्याउन सफल रहेको उनी बताउँछन्।
स्थानीय प्रशासनसँग नजिक रही काम गरेका रानाको चिनियाँ क्यान्टोनिज भाषामा राम्रो दक्खल छ। फरर्र चिनियाँ भाषा बोल्न सकेकै कारण स्थानीय सरकारसँग सहकार्य गर्न सकेको उनको बुझाइ छ।
उनी भन्छन्, ‘चिनियाँ भाषाले मलाई स्थानीयसँग काम गर्न सहज बनायो। त्यसको फाइदा नेपाली समाजले पायो।’
तीन वर्षअघि कोभिड महामारी फैलिएपछि रानाले हङकङका स्थानीय उद्यमीहरुसँग सहयोग बटुली देशका नेपालका ७७ वटै जिल्लाका स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डर, औषधि र मेडिकल उपकरण बाँड्ने काम गरे। हङकङको नेपाली समाजमा केन्द्रित हुनुपर्ने कार्यक्रम नेपालका गाउँठाउँमा पुर्याएको भन्दै सहयोगी संस्थाहरुले रानाको विरोध गरे। तर, उनी पछाडि हटेनन्। विरोध खेपेरै देशभर सिलिन्डर बाँडे।
केही समययता रानाले आफ्नो व्यवसायलाई हङकङबाट नेपालमा पनि बिस्तार गरेका छन्। ललितपुर कुमारीपाटीमा होटलसँगै ट्राभल र कुरियर व्यवसाय पनि सञ्चालन गरिरहेका छन्। नयाँ पुस्ता पढ्दै विदेश उड्दै गरिरहेको परिवेशमा राना चाहिँ स्वदेश फर्कनुपर्छ भन्दै नेपालमा उद्यम व्यवसायमा जुटिरहेका छन्। आफ्नो उदाहरणले नयाँ पुस्तालाई पलायन हुनुअघि सोच्न बाध्य पार्ने उनको भनाइ छ।
राना भन्छन्, ‘दक्ष जनशक्ति विदेश जाने होइन, स्वदेशमै बसेर काम गर्ने हो। तपाईंसँग सीप छ भने नेपालबाटै अमेरिकाको कम्पनीमा नोकरी गरेर कमाउन सकिन्छ। मेरो फर्काइले हाम्रा युवालाई यति मात्र सम्झाउन सके म धन्य हुने थिएँ।’
हङकङमा सामाजिक कार्यमा योगदान दिएबापत यसैवर्ष हङकङ सरकारको ‘सामाजिक सेवा पदक’ पाएका रानाले त्यसको केही समयभित्रै नेपाल सरकारबाट पनि पदक प्राप्त गरेका हुन्।
पदक घोषणालगत्तै नेपालखबरसँग उनले भने, ‘कर्म गरेको फल यसै जन्ममा पाइन्छ भनेको हो रहेछ। म अत्यन्त खुसी छु।’
रानासँगको भिडिओ कुराकानी :
Shares
प्रतिक्रिया