हङकङले विदेशबाट आइपुग्ने यात्रुले अनिवार्य रुपमा होटल क्वारेन्टिन बस्नैपर्ने नियम अन्त्य गरेको छ। दुई वर्षपछि हङकङले यो नियम हटाएको हो।
नयाँ नियमअनुसार अब यात्रुले उडानअघिको पीसीआर रिपोर्ट देखाउनुपर्ने छैन। तर, अवतरणपछि उनीहरुको परीक्षण गरिनेछ। तर, नतिजाका लागि उनीहरु विमानस्थलमा पर्खिनुपर्ने छैन।
त्यस्तै, पूर्ण खोप नलगाएको भए पनि हङकङका बासिन्दालाई सहरमा भित्रिन दिइनेछ।
मुख्यभूमि चीन र मकाओका बासिन्दालाई सहरमा आउन दिइनेछ। यो व्यवस्था आउँदो सोमबारबाट लागू हुने हङकङका कार्यकारी प्रमुख जोन लीले घोषणा गरे।
नयाँ नियमअनुसार हङकङ आउने यात्रुको तीन दिनसम्म घरमै चिकित्सकीय निगरानी हुनेछ।
कडा क्वारेन्टिन नियमका कारण हङकङले आर्थिक क्षति बेहोर्न थालेको भन्दै व्यापारिक समुदायले सो नियम हटाउन दबाब दिँदै आएका थिए।
जापान र ताइवानले आआफ्नो नियम खुकुलो पारेको भोलिपल्ट शुक्रबार हङकङले पनि होटल क्वारेन्टिन अन्त्य गरिने घोषणा गरेको थियो। एससीएमपी
Shares
प्रतिक्रिया