हङकङको स्वास्थ्य नियामकले नक्कली खोप लगाउने सातजनालाई कोरोना खोप कार्यक्रमबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
उनीहरुले आवश्यक परीक्षण विना नै कोरोना खोप लगाएको प्रमाणपत्र दिने गरेको भन्दै नियामकले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
हङकङको सरकारले २० हजारभन्दा धेरै खोप कार्ड नक्कली हुन सक्ने आशंका गरिरहेको अवस्थामा सातजना डाक्टरमाथि प्रतिबन्धको निर्णय भएको हो।
अहिले प्रतिबन्ध लगाइएका डाक्टरहरुलाई कोरोना खोप कार्यक्रमअन्तर्गत दिइएको सबै खोप पनि बरामद गरिने डिपार्टमेन्टले बताएको छ।
स्वास्थ्य अधिकारीहरुले नक्कली खोप कार्डको मुद्दा मेडिकल काउन्सिलमा पठाएका छन्। काउन्सिलले यस विषयमा अनुशासनको कारबाहीबारे सुनुवाइ गर्नेछ।
यदि सुनुवाईको क्रममा उनीहरु दोषी पाइएको अवस्थामा उनीहरुको अनुमति पत्र नै रद्द हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
अहिलेसम्म नक्कली कार्ड बनाएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् भने एकजनालाई प्रहरीले खोजिरहेको छ।
Shares
प्रतिक्रिया