लयमा फर्किन संघर्ष गरिरहेका हङकङका साना व्यवसायले अब छिटै नै बैंकबाट ऋण पाउने भएका छन्।
हङकङको मौद्रिक व्यवस्थापन नियामक हङकङ मनिटरी अथोरिटी(एचकेएमए) ले ल्याउन लागेको नयाँ अनलाइन डेटा प्रणालीबाट साना व्यवसायले सजिलै ऋण पाउने भएका हुन्।
द कमर्सियल डेटा इन्टरचेन्ज (सीडीआई)को माध्यमबाट अब बैंकहरुले छिटै र सहजरुपमा साना र मझौला उद्यमहरुको लागि ऋण दिने वा नदिने विषयमा निर्णय गर्न सक्छन्।
एचकेएमएका प्रमुख कार्यकारी एडी युइ वाई–मानले नयाँ प्लेटफर्म ल्याउन लागिएको बताएका हुन्। हङकङको डि फ्याक्टो केन्द्रीय बैंकको रुपमा रहेको एचकेएमएको सीईओ भएदेखि नै युइले वित्तीय प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिएका छन्।
उनको आफ्नो पछिल्लो तीन वर्षको कार्यकालमा आठ भर्चुअल बैंक लाइसेन्स प्रदान गरिएको छ। साथै यो अवधिमा डिजिटल मुद्रा ई–एचकेडी ल्याउने प्रयास पनि सुरु गरिएको छ।
अहिले अघि सारिएको योजनामा संलग्न हुने बैंकले पनि ऋणीहरुको विवरण र उनीहरुको ऋण तिर्न सक्ने क्षमताबारे पनि जानकारी पाउन सक्छन्। यसबाट ऋण लिन चाहनेले पनि सहजरुपमा सस्तो व्याजदरमा ऋण पाउने युइले बताएका छन्।
विश्वव्यापी मन्दी तथा कोरोना महामारीको कारण कमजोर बनेको बजारको कारण साना तथा मझौला उद्योगले हङकङमा आवश्यक लगानी जुटाउन सकेका छैनन्। यस्तो अवस्थामा अहिले अघि सारिएको योजना उनीहरुको लागि महत्वपूर्ण बन्न सक्ने जानकारहरुले बताएका छन्।
Shares
प्रतिक्रिया