हङकङ प्रमुख जोन लीले बुधबार अहिलेसम्मकै लामो नीतिगत सम्बोधन गरेका छन्। यद्यपि उनले बुधबारको सम्बोधनमा कोभिड–१९ को मुद्दाको विषयमा भने केही बताएका छैनन्।
उनले यस विषयमा भने वैज्ञानिक आधारमा आधारित रहेर आवश्यक निर्णय लिइने बताएका छन्।
दुई घण्टा ४५ मिनेटको सम्बोधनमा जोन लीले उल्लेख गरेका प्रमुख सात कुराहरु यहाँ उल्लेख छ–
१. प्रतिभा भित्र्याउने
हङकङले आगामी दिनमा विश्वव्यापी प्रतिभालाई आकर्षित गर्ने घोषणा गरेका जोन लीने महामारीको कारण हङकङ छाडेका अन्तर्राष्ट्रिय र मनल्याण्ड चीनका विशेषज्ञलाई पुनः सहरमा आकर्षित गर्ने किसिमको योजना अघि सार्ने बताए।
त्यसको लागि हङकङले दुई वर्षको लागि विश्वका प्रमुख विश्वविद्यालयबाट अध्ययन पूरा गर्ने विद्यार्थीहरुलाई दुई वर्षको भिसा दिइने बताए। त्यस्तै रोजगारदातालाई पनि बाहिरबाट प्रतिभावान् कर्मचारी भर्तीको लागि सहजीकरण गरिने, विदेशी कामदारलाई तीन वर्षको भिसा थप गरिने र विदेशीका लागि थप स्ट्याम्प ड्युटीको थप खर्च पनि फिर्ता गरिने जोन लीले बताएका छन्। साथै सम्पत्ति पनि जोडिसकेका मानिसलाई स्थायी बसोबासको अनुमति दिइने उल्लेख गरेका छन्।
पछिल्लो दुई वर्षमा हङकङमा ठूलो संख्यामा जनशक्ति घटेको उल्लेख गर्दै सरकारले यो मुद्दामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै उनले बाहिर राम्रो व्यापार गरिरहेको कम्पनीलाई पनि हङकङमा आकर्षित गर्ने योजना पनि अघि सारेका छन्।
२. नयाँ र ठूला सार्वजनिक फ्ल्याट
अर्को एक मुख्य समस्याको रुपमा देखिएको हाउजिङ समस्याको समाधानको लागि लीले ३० हजार नयाँ सार्वजनिक हाउजिङ एकाइ निर्माणको घोषणा गरेका छन्।
यी आवास अबको पाँच वर्षमा निर्माण हुनेछ। यउनले सार्वजनिक आवासको उत्पादन ५० प्रतिशत बढाउने योजना पनि अघि सारेका छन्। साथै यसरी निर्माण हुने फ्ल्याटको आकार पनि कम्तीमा २६ वर्गमिटरको हुनुपर्नेछ।
त्यस्तै तीन वर्षदेखि सार्वजनिक आवासको पर्खाइमा रहेका मानिसहरुलाई प्रयोग नभएका निजी तथा सार्वजनिक जग्गामा आवासको व्यवस्था गरिनेछ। साथै उनीहरुको आवासमा आधारभूत व्यवस्था, सस्तो भाडालगायतका व्यवस्था गरिनेछ।
लीले अहिलेको सरकारको लागि हाउजिङको समस्या गर्नु महत्वपूर्ण एजेन्डा रहेको बताए।
३. सार्वजनिक सेवामा सुधार
हङकङ प्रमुख लीले सार्वजनिक सेवामा सुधारको योजना पनि अघि सारेका छन्। उनले सरकारको मुख्य एजेन्डालाई कार्यान्वयन गर्न र राष्ट्रिय सावैभौमिकतालाई रक्षाको लागि आवश्यक कदम चालिने पनि उनले बताएका छन्।
जोन लीले आगामी दिनमा स्थानीय राष्ट्रिय सुरक्षा कानुन ल्याइने बताएका छन्। उनले यसमा कुनै पनि राजनीतिक कारण नरहेको पनि स्पष्ट पारेका छन्।
लीले अहिलेको सरकार स्पष्ट नतिजा देखिने गरी काम गर्न सक्षम रहेको दाबी गरेका छन्। उनले आगामी दिनमा नतिजामुखी भएर काम गर्ने बताएका छन्।
४. पहिलो आधारभूत स्वास्थ्य स्याहार खाका
हङकङ सरकारले यसै वर्ष आधारभूत स्वास्थ्य स्याहार खाका ल्याउने भएको छ। जसमा सरकारले सार्वजनिक र निजी क्षेत्रको सेवा व्यवस्थापन गर्ने र पारिवारिक डाक्टर प्रणाली विकास गर्नेलगायतका योजना छन्।
गम्भीर रोगबाट पीडितको लागि तीन वर्षे पाइलट स्किम पनि अघि सारिएको छ। त्यस्तै वृद्धवृद्धाहरुको लागि स्वास्थ्य भौचरको पनि व्यवस्था गरिनेछ।
त्यस्तै सरकारले अस्पतालमा विशेषज्ञ डाक्टरको प्रतीक्षाको औसत समय पनि २० प्रतिशतले घटाइने लीले बताए। त्यस्तै अस्पतालको संरचना सुधार गर्ने योजना पनि अघि सारिएको छ।
५. मेनल्याण्ड चीनसँग एकीकरण
लीले मेनल्याण्ड चीनसँगको एकीकरण हङकङको लागि निकै महत्वपूर्ण रहेको बताएका छन्। यसले हङकङको राष्ट्रिय विकासमा पनि सहयोग पुर्याउने उनले बताए।
उनले मेनल्याण्ड चीन र बाहिरका मानिसहरुलाई हङकङमा आकर्षित गरेर आर्थिक विकासमा टेवा पुर्याउने आफूहरुको लक्ष्य रहेको पनि लीले बताए। हङकङको विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण सुधार गर्नु जरुरी रहेको लीको भनाइ छ।
६. प्रतिबन्ध फुकुवाबारे अन्योल
लीले बुधबारको भाषणमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खोल्नेबारे स्पष्ट समय भने तोकेका छैनन्। अबको चरणमा सबै किसिमको मेडिकल निगरानी पनि हटाइने भने उनले बताएका छन्। महामारीबारे दिएको छोटो वक्तव्यमा उनले वर्तमान अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा उचित योजना अघि सारिने बताए।
७. सबै विषयमा प्रवेश
हङकङ प्रमुख जोन लीले बुधबार गरेको सम्बोधनको १५० अनुच्छेदमा सबैजसो विषय समावेश गरिएको छ। जसमा मानिसको जीवनस्तरमा सुधार, खुला सार्वजनिक स्थल निर्माण, सार्वजनिक हाउजिङमा बस्ने मानिसहरुको सुविधालगायतका विषय समावेश गरिएको छ। लीले अबको पाँच वर्षमा थप प्रतिबद्ध र अखण्ड हङकङ निर्माणको दिशामा सशक्त भएर लाग्ने उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया