हङकङको डिफ्याक्टो केन्द्रीय बैंकले ब्याजको आधार दर ७५ आधार अंकले बढाउने निर्णए गरेको छ।
हङकङको लागि पछिल्लो ८ महिनामा छैटौंपटक ब्याजदर बढेको हो। बढ्दो महँगी नियन्त्रणको लागि भन्दै हङकङमा ब्याजदर बढाइन लागेको हो।
यससँगै हङकङमा ब्याजको आधार दर १४ वर्षयताकै उच्च ४.२५ प्रतिशतमा पुगेको छ। यो निर्णय तत्कालै कार्यान्वयनमा आउन हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले बताएको छ। बिहीबार एक सूचना जारी गर्दै एचकेएमएले यस्तो बताएको हो।
अमेरिकाको केन्द्रीय बैंक फेडेरल रजर्वले पनि लक्षित दर समान अंकले बढाउँदै ३.७५ देखि ४ प्रतिशतको बीचमा राख्ने निर्णय गरेको थियो। सोही निर्णयसँगै एचकेएमएले पनि यस्तो निर्णय गरेको हो।
कोरोना महामारी नियन्त्रणको लागि लाइएको प्रतिबन्ध हालै मात्र बिस्तारै खुकुलो भएको र व्यवसायहरु पुनः लयमा फर्किन थालेको अवस्थामा ब्याजदर बढ्नुले व्यवसायीहरु थप मारमा पर्न सक्ने जानकारहरुले बताउँदै आएका छन्।
विश्लेषकले यससँगै आगामी दिनमा कमर्सियल बैंकहरुको ब्याजदर पनि ५.२५ देखि ५.३७५ प्रतिशतको बीचमा रहन सक्ने बताएका छन्। त्यस्तै यो निर्णयले आगामी दिनमा बैंकहरुको निक्षेप र वैदेशिक मुद्रा सञ्चितिमा गिरावट आउन सक्ने उनीहरुको भनाइ छ।
Shares
प्रतिक्रिया