हङकङको छवि सुधारको लागि सहरका कानुन सामाजका अध्यक्ष अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। उनले त्यहाँ औद्योगिक विशेषज्ञ र अन्य सहभागीहरुसँग कुराकानी गर्नेछन्।
कोभिड–१९ को प्रतिबन्धको कारण उद्योग तथा व्यवसायको लागि हङकङको वातावरण प्रतिकूल बन्दै गएको भन्ने धारणा परिवर्तनका लागि चान चकमिङ मंगलबार अष्ट्रेलिया जान लागेका हुन्।
उनले हङकङको कानुनी राजको विषयमा रहेको गलत बुझाइ पनि स्पष्ट पार्ने प्रयास गर्नेछन्। विशेषगरी सन् २०२० मा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुनको विषयमा धेरैको गलत बुझाइ छ।
गत महिना चानले बेलायतको पनि भ्रमण गरेका थिए। उनले भने, ‘केही विदेशी कानुनी समुदायमा हङकङको विषयमा सन् २०१९ को आन्दोलन र राष्ट्रिय सुरक्षा कानुन तथा निर्वाचनसम्बन्धी परिवर्तनको कारण नकारात्मक प्रभाव परेको छ।’
आलोचकहरुले पछिल्लो समय हङकङको स्वतन्त्रता खुम्चिँदै गएको दाबी गर्दै आएका छन्। मंगलबार चानले कोभिड प्रोटोकलको कारण पछिल्लो तीन वर्षयता कानुनी समाज विदेश जान नपाएको बताएका हुन्। त्यसैले हङकङको अवस्थाबारे मानिसहरुलाई बुझाउन नसकिएको उनको भनाइ छ।
चानका अनुसार हङकङलाई बाहिरबाट नियाल्नेहरुले गलतरुपमा व्याख्या गरिरहेको उल्लेख गरे। उनका अनुसार आफूसँगको भेटमा मानिसहरुले हङकङप्रतिको आफ्नो नकारात्मक धारणा हटाउने गरेको सुनाए। पछिल्लो समय हङकङका ल सोसाइटीका अधिकारीहरुले निरन्तर विदेश भ्रमण गर्दै आएका छन्।
Shares
प्रतिक्रिया