हङकङमा नेपाली मूलका १७ वर्षीया गल्फर डेन्जल राईले नेतृत्व गरेको विद्यालयले व्यक्तिगत तथा सामुहिक दुवैतर्फको शिर्ष उपाधि हात पारेको छ।
गत शुक्रवार फानलिङस्थित ओल्ड गल्फ कोर्समा सम्पन्न अन्तर विद्यालय प्रतियोगितामा डेन्जल अध्ययनरत डिस्कभरी कलेजले उपाधि चुमेको हो।
चर्को घामका बाबजुद ५ घण्टाको कडा संघर्षपछि कलेजले अन्ततः समूह ‘ए’ अन्तर–टिम कपसहित समग्र च्याम्पियनसिप जितेको हो। यसका साथै कप्तान डेन्जेल राईले पुरुष समूह ‘ए’ को व्यक्तिगत प्रतियोगितामा २ अन्डर गरी एकल उपाधिसमेत हात पारे।
कलेजले २३ विद्यालयलाई पछि पार्दै कुल ६८ अंक जोडेका थिए। त्यसैगरी हङकङ इन्टरनेसनल स्कुल र पुई चिङ मिडल स्कुल दुबैले ५८ अङ्क प्राप्त गरि क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
चौथो संस्करणको रुपमा आयोजित उक्त प्रतियोगितामा २४ माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका ३३ टिमसहित कुल ९९ खेलाडीहरुको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयमा टोलीको रूपमा २ देखि ४ खेलाडीहरू सहभागी थिए, १८ होलको खेलमा व्यक्तिगत र सामुहिक दुवैतर्फ प्रतिस्पर्धा गराईएको थियो।
जितपछि कप्तान डेन्जलले खुशी व्यक्त गर्दै भने, ‘पुरा टोली च्याम्पियनशिप उपाधिको रक्षा गर्न पाउँदा धेरै खुसी लागेको छ। खेल मैदानको अवस्था धेरै राम्रो थियो। हामीले हाम्रो रणनीति अनुसार खेल प्रदर्शन गर्न सफल भयौँ र दुवै विधामा जित निकाल्यौं। हामी हङकङ गल्फ क्लब र हङकङ गल्फ एसोसिएसनप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं।’
गल्फको लोकप्रियता र विकासलाई प्रवर्द्धन गर्न हङकङ गल्फ क्लब र हङकङ गल्फ एसोसिएसनले विद्यालयहरूमा गल्फ प्रतियोगिता गराउँदै आएको छ। यस वर्ष चौथो पटक माध्यमिक विद्यालय अन्तरविद्यालय गल्फ प्रतियोगिता आयोजना भएको छ।
हङकङमा कोभिड–१९ महामारी बाट पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएपछि यो पहिलो विद्यालय स्तरको गल्फ प्रतियोगिता हो। यो पटक सहभागी विद्यालयको संख्याले विगतका वर्षहरूमा उच्च रहेको आयोजकले बताएको छ।
हालसम्म डेन्जलले दर्जनौं उपाधि जितिसकेका छ। अन्तर्रास्ट्रिय खेलमासमेत सहभागिता जनाई सकेका उनी हङकङ जुनियर नेसनल टिमका खेलाडी हुन्। उनले हालै डिस्कभरी गल्फ क्लबको मन्थ्ली मेडल प्रतियोगितामा ४ अन्डर गरी बिजेता बनेका थिए। व्यक्तिगततर्फ यो उनको सर्वोत्कृष्ट प्रदर्शन हो।
उनले यो वर्ष ‘ब्याक टु ब्याक’ जित निकाली रहेका छन्। पढाईमा समेत मेधावी रहेका उनी सम्भवत आगामी वर्ष छात्रवृत्ति मार्फत अमेरिकामा डिभिजन ‘ए’ खेल्न र अध्ययन गर्न जानेछन्।
६ वर्षको उमेरबाट गल्फ खेल्न शुरु गरेका डेन्जलका बाबु वाईबी राई हङकङमा नेपाली समुदायका सफल व्यवसायी तथा कुशल गल्फर हुन्।
डिस्कभरी गल्फ क्लबका च्याम्पियनसमेत रहेका उनले गत अप्रिलमा भियतनाममा सम्पन्न १५ औं फाल्डो सिरिज एशिया ग्रान्ड फाइनलमा हङकङ नेसनल टिमको कप्तानको रुपमा एतिहासिक भूमिका निर्वाह गरेका थिए। जुन टिममा डेन्जल स्वयंको सहभागी रहेको थियो।
Shares
प्रतिक्रिया