हङकङको एक शपिङ मलमा शुक्रबार दुई युवतीको चक्कु प्रहार गरी हत्या भएको छ।
प्लजा हलिउड मलको तेस्रो तलामा रहेको डाइमण्ड हिलमा ३९ वर्षीय पुरुषले शुक्रबार साँझ ५ बजे उक्त आक्रमण गरेका हुन्। आक्रमणबाट घाइते २२ र २६ वर्षीया युवतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
आक्रमणमा परेकी एक युवती आक्रमणकारीकी पूर्वप्रेमिका रहेको बताइन्छ। तर पीडित र संदीग्धबीचको सम्बन्ध रहेकोबारे कुनै ठोस प्रमाण अहिलेसम्म फेला नपरेको प्रहरीले बताएको छ। 'दुई मृत युवतीसँग संदीग्धको सम्बन्ध देखिने कुनै ठोस प्रमाण फेला परेको छैन, तर अनुसन्धानमा उक्त विषयलाई पनि ध्यानमा राखिएको छ,' हङकङ प्रहरीको काउलुन पूर्वी क्षेत्रीय मुख्यालयका वरिष्ठ अधीक्षक इलिन चुंग लाइ यीले बताए।
मलको सुरक्षा क्यामेरामार्फत् लिइएको भिडिओमा शपिङका लागि हिँडिरहेकी युवतीलाई आक्रमणकारीले पछ्याइरहेको देख्न सकिन्छ। त्यसपछि ती व्यक्तिले युवतीको पेटमा करिब १ मिनेटसम्म लगातार चक्कु रोप्छन्। अर्की एक युवतीले बचाउन खोज्छिन्, आक्रमणको क्रममा अरु कोही पनि त्यहाँ बचाउन आएको देखिन्न।
दोस्री युवतीले पुरुषलाई धकेल्दै पीडितलाई सुरक्षित स्थानमा तान्न खोजेको देखिन्छ। तर ती पुरुषले आक्रमण जारी राख्छन्। त्यसपछि हिम्मतका साथ उनले हिम्मतका साथ बाहिर निकाल्छिन्। आक्रमणकारीले ती युवतीमाथि पनि आक्रमण गर्छ। फुटेजमा दोस्रो युवतीलाई पनि कुटेको देख्न सकिन्छ।
पहिलो युवती अचल रूपमा भुइँमा रगताम्मे पल्टिएपछि पुरुषले दोस्री युवतीलाई पछ्याउँछन् र उनीमाथि पनि चक्कु प्रहार गर्छन्।
उनीहरूलाई बेहोस अवस्थामा युनाइटेड क्रिश्चियन अस्पताल लगिएकोमा साँझ ६:६ र ६:४७ मा मृत्यु भएको प्रहरीले बताएको छ। मृतक दुई महिला साथी रहेको जानकारी प्रहरीले दिएको छ।
अनलाइनमा भाइरल भइरहेको भिडिओमा त्यसपछि आएको प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको देख्न सकिन्छ।
Shares
प्रतिक्रिया