हङकङमा चोरीका घटना ४० प्रतिशतले बढेका छन्।
सन् २०२३ को पहिलो चार महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा चोरीका घटनामा वृद्धि भएको हो। प्रहरीले जनवरीदेखि अप्रिलसम्म ७ हजार १६७ चोरीका घटना दर्ता गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३९.४ प्रतिशतले बढी हो।
प्रहरीले जनजीवन सामान्य अवस्थामा फर्किएपछि पुन: यस्ता घटना पनि बढेको बताएको छ।
कोभिड-१९ का कारण हङकङले सन् २०२० देखि यात्रा प्रतिबन्ध र सामाजिक दूरी जस्ता नियम लगाएको थियो। जुन यो वर्षको सुरुदेखि खारेज भए।
सबैभन्दा बढी चोरीका घटना मोङककमा भएका छन्। अपराध रोकथाम ब्युरोका प्रमुख इन्सपेक्टर चोई विङ युकले उक्त क्षेत्रमा पैदल यात्रुलाई लक्षित गरी चोरी हुने गरेको भन्दै सतर्क रहन अनुरोध गरे। 'कोभिडपछि ूसमाज सामान्यमा फर्किएपछि, हामीले सामान्य रूपमा सडकमा धेरै मानिसहरू देखिरहेका छौं,' चोईले भने।
प्रहरीका अनुसार हङकङमा समग्रमा यो वर्षको पहिलो पाँच महिनामा समग्रमा ३५ हजार ८६३ अपराधिक घटनाको उजुरी परेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १० हजार ४३४ ले बढी हो।
यस अवधिमा ३ हजार ८७२ हिंसात्मक अपराध भएका छन्, जुन अघिल्लो वर्षको ५ महिनाको तुलनामा ५९८ ले बढी हो।
चोईका अनुसार सबैभन्दा बढी वालेट र क्रेडिट कार्ड चोरीका घटना हङकङमा भएका छन्। त्यसपछि नगद र जिन्सी सामान चोरी हुने गरेका छन्। त्यसपछि मोबाइल फोनहरू बढी चोरी भइरहेको उनले बताए।
Shares
प्रतिक्रिया