हङकङको जनगणना तथा तथ्यांक विभागले सहरको जनसङ्ख्या बढेको तथ्यांक सार्वजनिक गरेको छ।
मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार एक वर्षको अवधिमा सहरको जनसङ्ख्या १ लाख ५२ हजार बढेको हो। सन् २०२२ को मध्यमा ७३ लाख ४६ हजार १०० रहेको जनसङ्ख्या २०२३ को मध्यसम्मको गणनामा ७४ लाख ९८ हजार १०० पुगेको हो।
फेब्रुअरीमा पूर्ण रूपमा सिमाना खोलिएपछि र विभिन्न स्कीममार्फत मानिसहरूलाई हङकङ आउन प्रोत्साहन गरिएको परिणामस्वरुप जनसङ्ख्या बढेको अधिकारीहरूको विश्वास छ।
बसाइँसराइको लहरका कारण केही वर्षअघिदेखि घट्दै गएको जनसाङ्ख्यिक नोक्सानलाई थोरै भए पनि यसले पूर्ति गरेको छ।
अघिल्लो वर्षको मध्यदेखि यस वर्षको मध्यसम्मको १२ महिनाको अवधिमा हङकङमा एक लाख ७४ हजार मानिस भित्रिएका थिए। जसमा ३१ हजार मानिस मुख्यभूमि चीनबाट आएका एकतर्फी अनुमति धारक थिए।
सन् २०२२ को मध्यदेखि कोभिड–१९ महामारीको नियन्त्रणलाई क्रमशः खुकुलो पारिँदै लगिनु र गत फेब्रुअरीदेखि सिमान पूर्ण रूपमा खोलिएका कारण जनसंख्या वृद्धिमा सघाउ पुगेको अधिकारीहरू बताएका छन्।
‘महामारीका बेला विदेशमा बसेका धेरै हङकङबासी हङकङ फर्किएका छन् भने मुख्यभूमि चीन र अन्य विदेशीहरूलाई पनि विभिन्न योजनामार्फत हङकङ आउन प्रोत्साहित गरिएको छ,’ सरकारी प्रवक्ताको कथन छ।
अघिल्लो वर्षको जुनदेखि यस वर्षको जुनसम्ममा हङकङमा ३२ हजार ६०० जन्म भएको थियो भने ५४ हजार ६०० जनाको मृत्यु भएको थियो।
अघिल्लो वर्षको यही समयावधिलाई तुलना गर्दा जन्मदर घटेको छ। सरकारी तथ्यांकअनुसार सन् २०२१ को जुनदेखि २०२२ को जुनसम्म हङकङमा ३५ हजार १०० जना जन्मिएका थिए।
Shares
प्रतिक्रिया