हङकङमा कैदीको आक्रमणबाट जेलर घाइते

हङकङमा कैदीको आक्रमणबाट जेलर घाइते

ताइ लाम सुधार केन्द्र। तस्बिर : शटरस्टक/एससीएमपी


नेपालखबर
भदौ ४, २०८० सोमबार १९:१, हङकङ

हङकङको सुधार केन्द्रमा अनुशासनात्मक सुनुवाइपछि एक कैदीले कारागार अधिकृतमाथि आक्रमण गरेका छन्।

कैदीले अधिकारीलाई आक्रमण गरेपछि नियन्त्रणमा लिन पिपर स्प्रे गर्नुपरेको थियो।

सोमबार बिहान साढे ११ बजे न्यू टेरिटोरिजस्थित चुनमुनको ताइ लाम सुधार केन्द्रमा उक्त घटना भएको हो।

कैदीको आक्रमणबाट सुधार केन्द्रका कर्मचारीको नाकमा चोट लागेको छ।

सुधार सेवा विभागका अनुसार अनुशासनात्मक सुनुवाइपछि २७ वर्षीय ती कैदीले जेलका अधिकारीलाई आक्रमण गरेका हुन्।

न्यायिक कोठाबाहिर कैदीले आक्रमण गरेपछि घटनास्थलमा रहेका अन्य अधिकारीले हस्तक्षेप गरेका थिए।

अधिकारीहरूले बारम्बार दिएको चेतावनीलाई पनि बेवास्ता गरेपछि पिपर स्प्रे प्रयोग गरी नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिने क्रममा आक्रमणकारी ती कैदीको अनुहार, काँध र घुँडामा चोट लागेको थियो। उनलाई जेलकै डाक्टरले उपचार गरेका थिए।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको विभागले जनाएको छ।

ती कैदीलाई सार्वजनिक स्थानमा आपत्तिजनक हतियार राखेको अभियोगमा डिसेम्बर २०२१ मा दोषी ठहर गरिएको थियो।

ताइ लाम सन् १९८० मा खोलिएको न्यूनतम सुरक्षा संस्था हो। यहाँ हाल ५९८ कैदी छन्।

यो कारागार कम सुरक्षा जोखिममा रहेका वृद्ध तथा वयस्क कैदीहरूका लागि हो।

सुधार सेवा विभाग अन्तर्गतका कार्यालयमा तीन हप्ताको अन्तरालमा यस्तो घटना भएको यो दोस्रो पटक हो।

यसअघि पनि ३१ जुलाईमा लाइ ची कोक रिसेप्सन सेन्टरमा यस्तै प्रकृतिको घटना घटेको थियो। जहाँ २३ वर्षीय पुरुष कैदीले एक महिला क्लिनिकल मनोवैज्ञानिकलाई उनकै कार्यालयमा आक्रमण गरेका थिए।

यी कैदीलाई गत जुलाईमा आपत्तिजनक हतियार राखेको अभियोगमा हिरासतमा राखिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .