समुन्द्री आँधी साओलाका कारण हङकङ प्रशासनले शुक्रबार बिहान टी८ संकेत जारी गरिसकेको छ।
यो सँगै हङकङको जनजीवन प्रभावित भएको छ।
शुक्रबार बिहान टी८ संकेत जारी गरिने घोषणा प्रशासनले बिहीबारै गरेको थियो। जसका कारण मानिसहरू खाद्यान्न किन्न बजार निस्किएका थिए।
बिहीबार साँझ खाद्यान्न किन्न मानिसहरूको भीड लागेको थियो। यतिसम्म कि बिहीबार साँझ पर्दा नपर्दै अधिकांश तरकारी बजार खाली भइसकेका थिए।
बजारको स्थितिबारे मानिसहरू सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया जनाइरहेका थिए।
किनमेल सकेर घर फर्किएका एक हङकङवासी नेपालीले ‘महँगोमा तरकारी किनेर आइयो’ भनेर सामाजिक सञ्जालमा लेखिरहेका देखिन्थे।
शुक्रबार बिहानदेखि जारी टी८ संकेत जारी नै छ भने यो अझै बढ्न सक्ने बताइएको छ। टी८ चेतावनीका कारण व्यस्त रहने हङकङका सडकमा फाट्टफुट्ट मात्रै गाडी कुँदेको देख्न सकिन्छ भने पसलहरू पनि साह्रै थोरै संख्यामा मात्र खुलेका छन्।
सामाजिक सञ्जालमा राखिएको यो भिडिओबाट पनि व्यस्त हङकङको ठप्प स्वरुप देख्न सकिन्छ।
आज कस्तो छ हङकङको जनजीवन? केही मुख्य कुरा बुँदागत रूपमा–
- आकस्मिक र दुर्घटना लगायत विशेष सेवाबाहेक अस्पतालका अरू सेवा बन्द छन्।
- कम्तीमा ३६६ उडान रद्द भएका छन् भने ४० वटा डिले भएका छन्।
- हङकङको पश्चिम काउलुनदेखि मुख्यभूमि चीन जाने उच्च गतिको रेल लिंक सेवा शनिबारसम्मको लागि रद्द गरिएको छ।
- सबै एमटीआर लाइनहरू १० देखि २० मिनेटको अन्तरालमा सञ्चालन भइरहेका छन्। यदि मौसम थप बिग्रियो वा उच्च चेतावनी संकेत जारी भयो भने पूर्व सूचनाविना यो सेवा पनि थप बन्द हुने सक्नेछ।
- धेरैजसो बस सेवा बन्द छन् भने ‘फेरी’ सेवा पनि बन्द छ।
- सबै किसिमका शिक्षालयहरू बन्द छन्।
- हङकङ डिज्नील्याण्ड, ओसियन पार्क र वेटल्यान्ड पार्क बन्द छन्।
- बाल हेरचाह, वृद्ध सेवा तथा पुर्नस्थापना केन्द्रहरू बन्द छन्।
- अदालतको सुनुवाई तथा न्यायाधीकरण सेवा पनि बन्द छ।
Shares
प्रतिक्रिया