भनिन्छ, प्रहरी जनताका रक्षक हुन्। तर, रक्षक नै भक्षक भएपछि के लाग्यो र?
हुनतः कुनै मानिसले अपराध गर्नु उसको मानवीय दोष हो। यसलाई संस्थासँग जोड्नु उपयुक्त होइन।
तर, कुनै पनि संस्थासँग जोडिनुअघि त्यस संस्थाको आचरणमा आघात पुग्ने काम गर्न नहुने उसले सपथ लिएको हुन्छ।
यस मानेमा पनि प्रहरी रक्षक नै हुन सक्नु पर्छ भक्षक होइन।
पछिल्लो समय हङकङमा एक प्रहरी यस्तै अनुचित कार्यमा संलग्न भएको आरोपमा जेल चलान भएका छन्।
२८ वर्षीय ती प्रहरी अधिकृत १५ वर्षीया किशोरीलाई यौन दुराचार गरेको आरोपमा जेल चलान भएका हुन्।
लाइ चि-लेउङ नामक ती प्रहरीले सन् २०२१ मा होटलमा लगी किशोरीसँग यौन सम्पर्क गर्ने प्रयास गरेका थिए।
यसका लागि उनी निकै चलाखीपूर्ण र योजनाबद्ध रूपमा अघि बढेका थिए।
सर्वप्रथम त उनी सन् २०१८ मा प्रहरी अधिकृत बनेपछि डेटिङ एप ‘हेमान्डी’मार्फत किशोरीसँग मित्रता बढाएका थिए।
उनले किशोरीलाई आकर्षित गर्न आफ्नो व्यावसायिक भूमिकाको दुरुपयोग पनि गरे। यतिसम्म कि उनी किशोरीलाई दुर्व्यवहार गर्दा बर्दीमै थिए।
यो अपराध उनले स्वीकार पनि गरिसकेका छन्। जसको सजायस्वरुप उनले १६ महिनाको जेल सजाय पाएका हुन्।
डेटिङ एप मार्फत साथी बनेका उनीहरू जब पहिलो पटक आमने–सामने भेट भए किशोरीले आफू यौनिक गतिविधिको लागि कानुनी उमेरभन्दा कम रहेको बताएकी थिइन्।
तर पनि प्रहरी अधिकारीले उनलाई २०२१ को डिसेम्बर १ मा शातिनस्थित अल्भा होटलमा लगे र यौन सम्पर्क गर्ने प्रयास गरे।
ती अधिकृतले आफू प्रहरीको पोशाकमै छु भन्ने पनि हेक्का राखेनन् र किशोरीलाई चुम्बन गर्न थाले। जबकि काम छँदा बाहेक पोशाक लगाउनु नै गैरकानुनी हो।
प्रहरी अधिकृत लाइले किशोरीलाई गरेको दुर्व्यवहारको भिडिओ पनि मोबाइलमा कैद गरे।
अधिकृत लाइका अलावा अन्य तीन प्रहरी अधिकारीहरूलाई पनि किशोरीसँग फरक फरक समयमा यौन सम्बन्ध राख्ने प्रयास गरेको आरोप लागेको छ। तर, उनीहरूले आरोप अस्वीकार गरेका छन्।
Shares
प्रतिक्रिया