विपद्‌मा दिइने सेवाको उचित मूल्यांकन गर्न हङकङ सरकारसँग सरोकारवालाको आग्रह

विपद्‌मा दिइने सेवाको उचित मूल्यांकन गर्न हङकङ सरकारसँग सरोकारवालाको आग्रह

आइतबार राति टी९ संकेत जारी भएपछि विमानस्थलमा अलपत्र यात्रु (तस्बिरहरू : एससीएमपी)


नेपालखबर
असोज २३, २०८० मंगलबार १३:०, हङकङ

पछिल्लो समय हङकङ फेरि एक पटक टाइफुनसँग जुध्न पुग्यो। झण्डै एक हप्तासम्म टी१ देखि टी९ सम्मका संकेत जारी हुन पुगे।  टाइफुन कोइनुका कारण पहिलो पटक बुधबार राति टी १ संकेत जारी भएको थियो भने त्यसपछि शुक्रबार साँझ टी३, आइतबार दिउँसो टी८ हुँदै आइतबार साँझ टी९ संकेत जारी भएर सोमबार दिउँसो सबै प्रकारका संकेत हटे।

आइतबार साँझ अब्जर्भेटरीले १५ मिनेटको पूर्वसूचना दिएर टी९ संकेत जारी गरेपछि एयरपोर्टबाट चल्ने एक्सप्रेस रेल सेवा बन्द भएका थिए भने यात्रुहरू टर्मिनलमा अलपत्र परे। विपद्को यो समयमा उनीहरूलाई गन्तव्यमा जान सीमित ट्याक्सीको भर पर्नु परेको थियो।

टाइफुन संकेत ८ वा सोभन्दा माथि लागू भएपछि नियमतः सडकमा निस्कन पाइँदैन। यसो भन्दा एक त सडकमा निस्कनु नै जोखिम हो, त्यसमाथि बीमा कम्पनीहरूले यो वेला हुने सवारी क्षतिको बीमा दाबी अस्वीकार गर्ने हुँदा धेरै ट्याक्सी चालक सेवा दिन अनिच्छुक देखिने गरेका छन्। यसले गर्दा टी९ संकेत जारी भएपछि टर्मिनलमा फसेका धेरै यात्रु त्यतिवेला उपलब्ध हुने एक मात्र सार्वजनिक यातायात ट्याक्सीको सेवाबाट पनि वञ्चित हुन पुगे।

अन्ततः एयरपोर्टका अधिकारीले ट्याक्सी व्यवसायीसँग सहयोग मागेका थिए तर पनि धेरै ट्याक्सी चालक सेवा दिन अनिच्छुक देखिए। यातायात व्यवसायीले चालकहरूलाई ‘आकस्मिक व्यवस्था’को लागि पहल गर्ने वाचा गर्दै सेवा दिन आग्रह गरेका थिए। तर पनि चालकहरू टी८ अलर्ट वा सोभन्दा माथिको समयमा काम गर्न अनिच्छुक देखिए।

टी८ वा सोभन्दा माथिको संकेत जारी हुँदा क्षति भएका सवारीको भुक्तानी बीमा कम्पनीले स्वीकार गर्दैनन्

टी८ संकेत लागू हुँदा यसै पनि बाहिर निस्कनु असुरक्षित त हुँदै हो त्यसमाथि यस्तो अलर्ट जारी भएपश्चात् सडकमा निस्कँदा हुने सवारीको क्षतिमा बीमा कम्पनीले दाबी अस्वीकार गर्ने हुँदा उनीहरूले थप जोखिम लिन नचाहेका हुन्।

हङकङ ट्याक्सी व्यवसायीले विपद्को समयमा सेवाको अपेक्षा राख्ने हो भने यस समयमा हुने क्षतिलाई पनि बीमामा समेट्नुपर्ने माग गरेका छन्। आइतबारको घटनालाई समेत मध्यनजर गर्दै मंगलबार व्यवसायीले सरकारसँग यस्तो आग्रह गरेका हुन्।

विपद्को वेला आइपर्ने यस्ता कठिनाइको समाधानका लागि एक दशकदेखि छलफलको विषय बने पनि समाधान नभएको फ्रन्ट लाइन ट्याक्सी चालक संघका अध्यक्ष लामक्वाइ केङ बताउँछन्। बीमा कभरेजको लागि यातायात विभागसँग दशक लामो छलफल चले पनि ठोस् निष्कर्ष ननिस्किएको लामले मंगलबार एक रेडियो कार्यक्रममा बताएका छन्।

सोही रेडियो कार्यक्रममा बोल्दै प्रजातान्त्रिक गठबन्धनका सांसद एडवर्ड लेउङ हेइले विमानस्थल प्राधिकरणलाई आपत‌्‌कालीन अवस्थाका लागि योजना बनाउन यातायात विभागसँग समन्वय गर्न आग्रह गरेका छन्। सांसद हेइले नजिकैका होटलसँग समन्वय गरी विमानस्थलमा फसेका यात्रुलाई होटलमा बस्न पाउने योजना बनाउन पनि सुझाव दिएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .