हङकङका हरेक सुत्केरी परिवारलाई २० हजार डलर बोनस

हङकङका हरेक सुत्केरी परिवारलाई २० हजार डलर बोनस

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १३:३८, हङकङ

हङकङ सरकारले नवजात शिशु भएका हरेक परिवारलाई एक पटक २० हजार हङकङ डलर (करिब ३ लाख ४० हजार रुपैयाँ) बोनस दिने योजना ल्याएको छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा यो योजना ल्याएका हुन्, जुन सोही दिनदेखि लागू भएको छ। 

‘सरकारले हङकङमा प्रत्येक नवजात शिशुको परिवारको लागि २० हजार हङकङ डलर एक पटक नगद बोनस प्रदान गर्नेछ’, प्रमुख कार्यकारी लीको सम्बोधनमा भनिएको छ, ‘यसका लागि नवजात शिशुको बुबा वा आमा हङकङको स्थायी बासिन्दा हुनुपर्दछ।’

हङकङमा घट्दो जन्मदरले जनसंख्यामा आएको गिरावट सन्तुलनमा राख्न सरकारले बच्चा जन्माउन प्रोत्साहित गर्ने उदेश्यले यो योजना ल्याएको बताइएको छ। 

 यो बोनस नीति तीन वर्षसम्म रहनेछ र त्यसपछि समीक्षा गरिनेछ।

नवजात शिशु भएका परिवारहरूले यो बोनससँगै अब सरकारी घरको स्वामित्व र सार्वजनिक भाडाको आवासमा पनि प्राथमिकता पाउनेछन्। यो योजनाअनुसार आगामी वर्षदेखि सरकारले वितरण गर्ने घरहरूमा १० प्रतिशत नवजात शिशु भएका वा बालबच्चा तीन वर्ष नपुगेका परिवारका लागि सुरक्षित गरिने छ। 

सार्वजनिक भाडाको फ्ल्याटको लागि पर्खिरहेका नवजात शिशु भएका परिवारहरूले पनि अर्को वर्ष अप्रिलदेखि सुरु हुने आफ्नो पर्खाइको समय एक वर्षले घटाइने छ। 

सरकारले नवजात शिशुका परिवारका लागि पहिलो पटक ल्याएको २० हजार डलर बोनसको योजनाले हङकङमा सर्वाधिक चर्चा पाएको छ। 

सन्तान भएका परिवारलाई सहयोग गर्न हङकङ सरकारले आगामी अप्रिलदेखि श्रमिक परिवार भत्ता १५ प्रतिशतले बढाउने घोषणा पनि गरेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .