बेलायतमा नेपाली समुदायद्वारा सञ्चालित ‘गोर्खा नेप्लिज टेनिस क्लब’ को टोली मैत्रीपूर्ण टेनिस खेल्न नेपाल पुगेको छ। ‘नेपाल-इन्डिया टुर’ अन्तर्गत उक्त क्लबका खेलाडीले १२ डिसेम्बरदेखि ७ जनवरीसम्म काठमाडौँ, पोखरा र दार्जिलिङमा मैत्रीपूर्ण खेल खेल्ने छन्।
क्लबले जानकारी गराएअनुसार उक्त टोलीमा पन्च पुन, क्याथरिन लामा, केभिन लामा, राजन फुयाल, नेइल पुन, हर्क गुरुङ, सुनिता लामा, सरोज राई र पाहुना खेलाडीको रूपमा चान तो फु रहेका छन्।
टोलीले १५ डिसेम्बरमा सातदोबाटोस्थित टेनिस सेन्टर, १८ डिसेम्बरमा दार्जिलिङ र २३ डिसेम्बरमा पोखरा रंगशालाको टेनिस सेन्टरमा खेल्ने तालिका रहेको छ।
भ्रमणको प्रमुख उद्देश्य नेपाल, दार्जिलिङ र बेलायतका टेनिस संस्थाबीच आपसी मित्रता, हित, ज्ञान र अनुभवको आदानप्रदान गर्दै भविष्यमा नेपाली टेनिसलाई उचाइमा पुर्याउने रहेको संस्थाका महासचिव मेजर सरोज राईले नेपालखबरलाई बताए।
सन् २०१७ मा बेलायतमा स्थापना भएको उक्त क्लबले वार्षिक ४ वटा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।
महासचिव राईले जानकारी गराएअनुसार संस्थाले भविष्यमा हङकङमा पनि खेल खेल्ने लक्ष्य राखेको छ। जसको माध्यमबाट नेपालमा जस्तै बेलायत र हङकङका नेपालीबीच पनि आपसी मित्रता, ज्ञान तथा अनुभवको आदान-प्रदानमा सहयोग हुने संस्थाको अपेक्षा छ।
हङकङ टुरको अहिले नै मिति तय भइ नसकेको तर छिट्टै नै यसबारे टुङ्गोमा पुगिने महासचिव राईले बताए।
Shares
प्रतिक्रिया