हङकङ भन्सारले इटालीबाट फर्केका दुई जना स्थानीयलाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।
खानाको क्यान र प्याकेजिङ बक्समा लुकाएर ल्याइएको अवस्थामा ३६ मिलियन हङकङ डलर बराबरको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो।
भन्सार विभागअन्तर्गत लागुऔषध अनुसन्धान ब्युरोका वरिष्ठ निरीक्षक चाउ काइ-वोङले मंगलबार जानकारी दिएअनुसार २० वर्ष उमेर आसपासका दुई जनालाई लागुऔषध ओसारपसारको कार्यमा प्रयोग गरिएको खुल्न आएको हो। यसवापत उनीहरूलाई लागुऔषध कारोबारीको गिरोहले हङकङ डलर ६० हजार भुक्तान गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
वरिष्ठ निरीक्षकको चाउको थप भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एससीएमपीले लेखेको छ, ‘तीन वर्षयता स्थनीयले युरोपबाट अवैध लागुऔषध ल्याएको पत्ता लागेको यो पहिलो पटक हो।’
बरामद भएको लागुऔषध देखाउँदै वरिष्ठ निरीक्षक चाउ काइ-वोङ
इटालीको मिलानबाट फिनल्यान्डको हेल्सिन्की हुँदै सहर आइपुगेका ती जोडीलाई आइतबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
भन्सार तथा अन्तःशुल्क विभागलाई उद्धृत गर्दै समाचारमा लेखिएअनुसार उनीहरूको चेक-इन लगेजको एक्स-रे परीक्षणमा शंकास्पद वस्तु देखिएपछि थप निरीक्षण गर्दा उक्त लागुऔषध फेला परेको हो।
अभियुक्तहरूको साथबाट प्रहरीले तरल कोकिन र केटामाइन ड्रगहरू बरामद गरेको छ। उनीहरूले उक्त लागुऔषध २२ वटा टिन, १७ वटा खानाका प्याकेट र दुई वटा उपहार बक्समा लुकाएर ल्याएका थिए।
निरीक्षणको वस्तुस्थिति प्रस्ट पार्दै चाउले भनेका छन्, ‘खाद्य लेबलहरू इटालियनमा थिएनन्, जुन तिनीहरूको प्रस्थान स्थानसँग मेल खाँदैन। यसले हाम्रा अधिकारीको शंका झन् बढायो।’
बरामद लागुऔषध
पक्राउ परेका दुवै अभियुक्त मंगलबार दिउँसोसम्म हिरासतमै छन्।
वरिष्ठ निरीक्षक चाउले सहरबासीलाई पैसाको लोभमा परेर लागुऔषध ओसारपसारजस्ता जघन्य अपराधमा नलाग्न सचेत गराएका छन्।
हङकङमा लागुऔषध ओसारपसारको कसुर प्रमाणित भएमा आजीवन कारावास र पाँच मिलियन हङकङ डलर जरिवानाको सजाय हुने व्यवस्था छ।
Shares
प्रतिक्रिया