‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई जनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार दिएको जानकारी अनुसार बुधबार र बिहीबार मङकक र चिवान सानबाट दुई जना पक्राउ परेका हुन्।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार ६ डिसेम्बरको राति साढे १० बजे १९ वर्षीया महिलाले हङहोम जिल्लाको एक होटलमा दुई अपरिचित व्यक्तिले २५ हजार हङकङ डलर लुटेको रिपोर्ट गरेकी थिइन्।
त्यस्तै, २३ डिसेम्बरको राति १० बजे अर्की २५ वर्षीया महिलाले सोही होटलमा आफूलाई प्रहरी अधिकृत भएको दाबी गर्ने दुई व्यक्तिले ३८ हजार हङकङ डलर लुटेको रिपोर्ट गरिन्।
त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले सीसीटीभी क्यामेर पछ्याउँदै लुटेराहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति ३१ र ५२ वर्षका चिनियाँ पुरुष हुन्। पक्राउका क्रममा घर खानतलासी गर्दा अपराध कार्यमा प्रयोग गरिएका कपडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लुटिने दुवै महिला यौनकर्मी रहेको खुलेको छ।
उनीहरूले सामाजिक सञ्जालमार्फत ग्राहक खोज्ने र यौनकार्यका लागि होटलमा भेट्ने गरेका थिए।
लुटपाटमा संलग्न व्यक्तिहरू ग्राहकको रूपमा होटलमा पुगी लुटपाट गरेको खुलेको हो।
दुवै घटना हङहोमस्थित हार्बर ग्रान्ड काउलुन होटलमा घटेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पक्राउ परेकामध्ये एकले आफूलाई डेलिभरी कामदार र अर्कोले बेरोजगार बताउने दुवैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया