हङकङका सार्वजनिक अस्पतालले सन् २०२४ को पहिलो डेढ घण्टामा चार नवजात शिशुलाई स्वागत गरेका छन्।
नयाँ वर्ष सुरु भएको ५ मिनेटमै सर्वप्रथम एक बच्चीले जन्म लिइन्। उनी पोक फु लाममा रहेको क्विन मेरी अस्पतालमा १२ बजेर ५ मिनेट जाँदा जन्मिइन्।
त्यसपछि १२ बजेर ३२ मिनेट जाँदा क्वाइ चुङको प्रिन्सेस मार्गरेट अस्पतालमा अर्को बच्चाले जन्म लिए भने १२ बजे ३६ मिनेट जाँदा क्विन मेरी अस्पतालमै फेरि अर्की बच्चीले जन्म लिइन्।
त्यसैगरी, सातिनमा रहेको प्रिन्स अफ वेल्स अस्पतालमा १ बजेर ३६ मिनेट जाँदा अर्की बच्चीले जन्म लिइन्।
प्रिन्स अफ वेल्स अस्पतालमा १ः३६ मा जन्मने बच्चीका आमा पेसाले एकाउन्टेन्ट हुन् भने बुबा इन्जिनियर हुन्। वर्षकै पहिलो दिन आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न पाउँदा यो यिप परिवार निकै खुसी छ।
‘म धेरै खुसी छु,’ बच्चीका ३१ वर्षीय बुबाले भने, ‘हाम्रो बच्चाको जन्म १ जनवरीमा हुनु सरप्राइज हो।’
त्यस्तै बच्चीकी २९ वर्षीया आमाले प्रसवको अपेक्षित मिति क्रिसमस इभमा तोकिएको भए पनि डाक्टरले प्रबन्ध मिलाउँदा–मिलाउँदै नयाँ वर्षसम्म पुगेको बताइन्।
आफ्नो बच्चा १ जनवरीमा जन्मिएको उनी पनि निकै खुसी छन्। स्थानीय सञ्चारमाध्यम एससीएमपीसँग उनले भनेकी छन्, ‘म उसलाई केही दबाब दिने छैन। ऊ स्वस्थ र सुरक्षित रहनु नै ठिक छ।’
यी आमाबाबुले बच्चीको नाम चाहिँ राखिसकेका छैनन्। केवल उनीहरूले बच्चीलाई ‘बाओबाओ’ उपनामले बोलाउँछन्। क्यान्टोनिज भाषाको यस शब्दको अर्थ ‘ब्रेड (पाउरोटी)’ हो।
‘जब मैले आफू गर्भवती भएको थाहा पाएँ। म हरेक दिन ब्रेड खाइरहेकी थिएँ। त्यतिखेर म पानी पिउन सक्दिनथेँ र ‘ब्रेड’ मात्र खान्थेँ,’ बच्चीकी आमा भन्छिन्।
हङकङका नागरिकलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले सरकारले २०२३ को अक्टोबरपछि जन्मेका प्रत्येक बच्चाका आमाबाबुलाई हङकङ डलर २० हजार नगद बोनस दिने स्किम ल्याएको छ। जसअन्तर्गत अब यी प्रत्येक नयाँ सन्तानका आमाबाबुले २० हजार हङकङ डलर पाउनेछन्।
चौथो बच्चाका बाबुले सरकारबाट पाउने यो रकम बच्चाको सामान किन्न खर्च गर्ने बताए। त्यस्तै उनकी आमाले यस्तो बोनस रकम एकै पटक दिने नभई मासिक रूपमा दिएको भए राम्रो हुने प्रतिक्रिया दिइन्।
‘बच्चाको दैनिक आवश्यकताका लागि ठूलो रकम खर्च हुन्छ। दुधकै लागि ५ सय देखि ६ सय हङकङ डलर खर्च हुन्छ,’ उनी भन्छिन्, ‘त्यसकारण बोनस रकम एकैपटक दिनुभन्दा मासिक रूपमा दिँदा राम्रो हुन्थ्यो।’
नागरिकले बच्चा जन्माउन् भन्ने उद्देश्य राखिएको हङकङ सरकारको पछिल्लो नीतिमा नगद बोनसको व्यवस्था मात्र छैन, नवजात वा साना बच्चा भएका परिवारलाई घर स्वामित्व योजना अन्तर्गत सरकारी अनुदानका फ्ल्याट खरिदमा पनि प्राथमिकता दिइनेछ। यसका लागि यस्ता परिवारलाई १० प्रतिशत आरक्षण छुट्याइएको छ।
त्यस्तै, सार्वजनिक भाडाका फ्ल्याटका लागि प्रतीक्षारत साना बच्चा भएका परिवारको पर्खाइ समय पनि एक वर्षले घटाइएको छ।
एक महिनाअघि मात्रै आवास प्राधिकरणले सार्वजनिक भाडाको फ्ल्याटको औसत प्रतीक्षा समय ५.६ वर्ष पुगेको बताएको थियो।
Shares
प्रतिक्रिया