हङकङमा ‘हाइकिङ’ गएका दुई जनाको समुन्द्रमा डुबेर मृत्यु भएको छ।
६ जनाको समूहमा पदयात्राका लागि निस्केका उनीहरूमध्ये एक महिला शेकओ नजिकै समुन्द्रमा खसेकी थिइन्।
शेकओको ताइताउ चाउ क्षेत्रमा डुबेकी उनलाई छालले बगाउन थालेपछि दुई पुरुष उनलाई बचाउनका लागि समुन्द्रमा हामफालेका थिए।
उनीहरूमध्ये महिला र एक पुरुषको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा समाचार छ।
दाजुबहिनीको डुबेर ज्यान गएको क्षेत्र (ज्याक होको फेसबुक/एससीएमपी)
चिप्लिएर खस्ने महिला र उद्धारका लागि हामफालेका पुरुषहरू एकै परिवारका सदस्य हुन्। बहिनी समुन्द्रमा खसेपछि दुई दाजु उनलाई बचाउनका लागि हामफालेका थिए।
पदयात्राका लागि गएको समूहका एक जनाले आइतबार दिउँसो १ बजे तीन जना पानीमा डुबेको खबर गरेपछि उद्धार टोली पुगेको थियो।
उद्धार टोलीले दुई जनालाई बेहोस अवस्थामा बाहिर निकालेका थिए भने एक जना आफैँ किनारामा आएका थिए।
बेहोस उनीहरूलाई चाइवानको पामेला युड नेदरसोल इस्टर्न हस्पिटल लगिएको थियो। अस्पतालले उनीहरूलाई दिउँसो २ बजे मृत घोषणा गर्यो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया