आइतबार बिहान भएको स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथन २०२४ मा सहभागी घाइतेमध्ये एक जनाको निधन भएको छ।
दौडमा सहभागी चेउङ उपनामका ३० वर्षीय पुरुष एमटीआर तिनहाउ स्टेसन पुग्दा एक्कासी बेहोस भएका थिए।
उनी बेहास भई ढलेपछि दौड समितिले तत्काल प्रारम्भिक उपचार गरी अस्पताल पठाएको थियो।
एम्बुलेन्सद्वारा आकस्मिक उपचारको लागि लगिएका उनलाई रुट्टोन्जी हस्पिटलले सवा १२ बजे मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
उनी हाफ म्याराथन पूरा गरेपछि ढलेको स्रोतले अपुस्ट जानकारी दिएको छ।
म्याराथनमा ७४ हजार जनाभन्दा बढी सहभागी भएका थिए। जसमा आइतबार दिउँसोसम्मको तथ्यांकअनुसार ८४२ जना घाइते भएका छन्।
घाइतेमध्ये ३४ जनालाई अस्पताल पठाइएको थियो। यीमध्ये एक जनाको अवस्था अत्यन्त गम्भीर र अन्य चार जना गम्भीर रहेको अस्पताल स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ।
यसैगरी, १० किलोमिटर दौडको क्रममा भिक्टोरिया पार्कको अन्तिम रेखा (दौडको अन्तिम गन्तव्य) पुग्नै लाग्दा एक सहभागी अचानक ढलेका थिए।
मुटुको धड्कन केहीक्षण रोकिएका उनको दौड समितिले तत्काल उपलब्ध गराएको उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो।
स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथन चर्चित दौड प्रतियोगिता हो। यो दौडमा भाग लिन विश्वभरबाट मानिसहरू आउने गर्दछन्।
हेर्नुस् दौडको भिडिओ-
Shares
प्रतिक्रिया