पाइलट अभावका कारण उडान रद्द गर्नुपर्दा आलोचना खेप्दै आएको हङकङको क्याथे प्यासिफिक एयरवेजले ४० जना पाइलटलाई भर्ती गरेको छ।
एयरलाइन्सका उडान अपरेसन निर्देशक क्रिस केम्पिसले मुख्यभूमि चीनबाट ४० जना पाइलट भर्ती गरिएको सोमबार जानकारी दिए।
गत वर्ष सुरु गरिएको भर्ती योजनामा आवेदन दिएका ८७० आवेदकमध्येबाट ४० जनालाई छनोट गरिएको हो।
अनुभव, कम्पनीको स्तर र अंग्रेजी भाषा सीपका आधारमा उनीहरूलाई छनोट गरिएको हो।
क्याथेले क्रिसमस र नयाँ वर्षको बिदामा कम्तीमा १६० उडान रद्द गरेपछि निकै चर्चा पाएको थियो। त्यतिबेला मौसमी रोग जस्ता कारणले पाइलटहरू बिरामी परेपछि यति धेरै उडान रद्द गर्नुपरेको क्याथेले जनाएको थियो।
‘हाम्रो क्षमता र नेटवर्कको आकार पूरा गर्न हामीसँग पर्याप्त पाइलट छन्,’ पाइलट भर्तीको जानकारी दिँदै निर्देशक केम्पिसले भने, ‘अब हामीसँग पाइलटको कमी हुने छैन।’
तर, हङकङ एयरक्रु अफिसर्स एसोसिएसनका अध्यक्ष पल वेदरल्ट भने क्याथेसँग पर्याप्त पाइलट छन् भन्ने कुरामा विश्वस्त छैनन्।
‘क्याथे प्यासिफिकसँग अनुभवी पाइलटहरूको कमी छ,’ एसोसिएसनले सोमबार एक विज्ञप्तिमार्फत भनेको छ, ‘पाइलट संख्यामा रिकभरी हुन क्याथेलाई वर्षौं समय लाग्नेछ।’
क्याथेले कोभिडअघिको स्तरमा फर्कन हजारौँ अपग्रेड कोर्स र इन्डक्सन तालिम सञ्चालन गर्न आवश्यक रहेको एसोसिएसनले भनेको छ। -एससीएमपी
Shares
प्रतिक्रिया