हङकङ सरकारले कोराना प्रभावितलाई राहत पुर्याउने उद्देश्यले २५ अर्ब हङकङ डलर बराबरको राहत प्याकेज ल्याएको छ।
कोरोना भाइरस प्रकोपका कारण हङकङको अवस्था जटिल बन्दै गएपछि सरकार प्रमुख क्यारी लामले २५ अर्ब हङकङ डलर कोरोना भाइरस राहत प्याकेजको घोषणा गरेकी हुन्।
आरटीएचकेले जनाए अनुसार सरकारले कोरोना भाइरसको प्रकोपबाट प्रभावित विभिन्न व्यक्ति, समूह, व्यवसायिक संस्थाहरुका लागि २५ अर्ब हङकङ डलरको अनुदानको उपलब्ध गराउने घोषणा गरेको हो। यसै महिनाभित्र थप बजेट समेत आउने समेत बताइएको छ।
शुक्रबार मिडिया ब्रिफिङमार्फत सरकारका तर्फबाट प्रमुख कार्यकारी लामले घोषणा गरे अनुसार करिब २ लाख निम्न आय भएका परिवारहरूलाई प्रतिघर ५ हजार डलर प्रदान गरिने बताइएको छ। त्यसैगरी विद्यार्थी अनुदान २५ सयबाट ३५ सय पुर्याइने भएको छ भने भवन, पार्क सरसफाई गर्ने प्रोपर्टी म्यानेजमेन्ट फर्महरूलाई २६ हजार डलर उपलब्ध गराइनुका साथै सरसफाइको काम गर्ने कामदार र सुरक्षा कामदारहरुलाई थप भुक्तानी दिइने घोषणा गरिएको छ।
त्यसैगरी ट्राभल एजेन्सीहरूले ८० हजार डलरसम्म दावी गर्न सक्नेछन् भने ठूला रेस्टुरेन्टहरूले २ लाख र साना रेस्टुरेन्टहरुले ८० हजार सम्म प्राप्त गर्न सक्नेछ्न्। सडक (नांले) व्यापारीहरुले ५ हजारसम्म प्राप्त गर्न सक्ने बताइएको छ।
राहत प्याकेजअनुसार अस्पताल प्राधिकरणलाई ४ अर्ब ७० करोड डलर विनियोजन गरिनेछ र सरकारले निजी फर्महरूलाई स्थानीय रुपमा भाइरसबाट बच्न फेस मास्क उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रत्यक्ष अनुदान उपलब्ध गराउने बताएको छ। साथै पुनः प्रयोग गर्न मिल्ने मास्कको निर्माणका लागि पनि सहयोग पुर्याउन सरकार तत्पर रहेको बताइएको छ।
सरकार प्रमुख लामका अनुसार सरकारले कर्मचारीहरुका निमित्त दुई महिनासम्म पुग्ने पर्याप्त मास्क उपलब्ध गराएको बताउदै थप १६ लाख मास्क गैरसरकारी संस्थामार्फत आवश्यकीय क्षेत्र र वृद्धावृद्धलाई हस्तान्तरण गरिने भएको छ।
ब्रिफिंगको क्रममा लामले भनिन, ‘हङकङमा अहिलेसम्म भाइरस प्रकोप महामारीका रुपमा देखा परेको छैन, साथै स्वास्थ्य अधिकारीहरूले फेला परेको संक्रमणहरूलाई नियन्त्रण गर्न सक्षम भएका छन्।’
प्रमुख कार्यकारी लाम स्वास्थ्य सचिव सोफिया चान सिउ–ची लगायत अन्य सरकारी अधिकारीसहितको उपस्थित भएकी थिइन। सचिव सोफियाबाहेक सबै बिनामास्क उपस्थित भएका थिए। लामले प्रशासनका वरिष्ठ सदस्यहरू बिरामी भए वा भीडभाडमा जान परेमा मात्र मास्क प्रयोग गर्न निर्देशन दिएकी थिइन्।
हङकङमा शुक्रबार साझसम्म कोरोना संक्रमित ५६ जना भेटिएको पुष्टि भएको छ, जसमध्ये एकको मृत्यु भएको छ भने एक जना उपचारपश्चात घर फर्किएका छन्। त्यस्तै ५ हजार ३६२ व्यक्तिहरुलाई घर मै अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ।
Shares
प्रतिक्रिया