गैरआवासीय नेपाली संघ (एनआएरएनए) हङकङ युथ फोरमले नेपाली युवालाई हङकङका सरकारी निकायमा प्रवेश सहज होस् भनी जनचेतना कार्यक्रम गर्यो।
हङकङमा विभिन्न देशबाट आएका अल्पसंख्यक समुदायको बसोबास रहेको छ। सहरबासी सबैलाई स्थानीय क्यान्टोनिज भाषामा दख्खल नहुँदा सरकारी तवरबाट प्रदान हुने सेवा भाषाकै कारण प्रभावित बन्ने गरेका छन्।
यसअघिका विपद्को समय जस्तै आगलागी जस्ता घटनामा उद्धारमा पुगेका अग्नि सेवाका अधिकारीलाई भाषाकै कारण उद्धार कार्यमा कठिनाइ आएको गुनासो सुनिएका थिए। यिनै अनुभवबाट पाठ सिक्दै विशेषत: हङकङ फायर सर्भिस डिपार्टमेन्टको जागिरमा अल्पसंख्यक समुदायलाई आकर्षित गर्न अभिमुखीकरण आयोजना गरिएको हो।
हङकङ फायर सर्भिस डिपार्टमेन्ट (एचकेएफएसडी) र युथ डेभलपमेन्ट टिम एचकेएफएसडीको सहकार्यमा एनआरएनए हङकङ युथ फोरमले २१ मार्चमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा पहिलो नेपाली एचकेएफएसडी प्रोबेसनरी स्टेसन अफिसर जोशन सार्कीले फायर सर्भिसको काम के हो भन्नेबारे आफूहरूले पहिलेदिख नै नेपाली समुदायलाई जानकारी गराउन खोजेको भए पनि मौका नजुरेको र यो कार्यक्रमले उक्त अवसर जुराएकोमा हङकङ युथ फोरमलाई धन्यवाद दए।
यो सुरुआत मात्र भएको र आगामी दिनमा अझै अन्य कार्यक्रममार्फत जनचेतनामूलक कार्यक्रम गर्दै जानुपर्ने उनले बताए।
कार्यक्रममा अफिसर सार्कीले आफूले फायर सर्भिस डिपार्टमेन्टमा आफ्नो प्रवेश, यसको प्रक्रिया, प्रवेशका लागि आवश्यकता योग्यता, यहाँ प्रवेश गर्दाका फाइदा लगायतका विषयमा उपस्थितलाई जानकारी गराएका थिए।
फायर सर्भिस डिपार्टमेन्टको जागिरका लागि सुरुमा आवेदन दिनुपर्ने त्यसपछि दृष्टि परीक्षण, सम्बन्धित पदको लागि कार्यसम्पादन परीक्षण, लिखित योग्यता परीक्षण हुने र त्यसपछि अन्तर्वार्ता र आधारभूत कानुन परीक्षण हुने कार्यक्रममा अवगत गराइएको थियो।
यी सबै प्रक्रियामा पास भएका उम्मेदवार अन्तिममा चिकित्सा जाँचमा पनि फिट भएपछि सेवा प्रवेशका लागि योग्य हुनेछन्।
२१ मार्चको कार्यक्रम विशेषत: एचकेएफएसडीमा भर्ना प्रक्रियाका बारेमा केन्द्रित रहे पनि यस किसिमका कार्यक्रम अन्य सरकारी निकायसँग पनि समन्वय गरी आगामी दिनमा समेत गर्ने एनआरएनए हङकङ युथ फोरमका युवा संयोजक इन्दर पुनले नेपालखबरलाई बताए।
कार्यक्रम एनआरएनए हङकङको कार्यालयमा सम्पन्न भएको थियो।
Shares
प्रतिक्रिया