बुधबार बिहान ताइवानको दक्षिणपूर्वी तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण दक्षिण चीन सागरमा सुनामी उत्पन्न हुन सक्ने अनुमान गरिएको छ। यो सुनामी हङकङसम्म पनि आउन सक्ने मौसम पूर्वानुमानकर्ताले जनाएका छन्।
‘भूकम्पले दक्षिण चीन सागरमा सुनामी उत्पन्न गर्ने अनुमान गरिएको छ,’ यदि सुनामी जारी रह्यो भने यो दिउँसोसम्म हङकङ आइपुग्नेछ र पाँचदेखि ६० मिनेटको अन्तरालमा दोहोरिनेछ,’ पूर्वानुमानकर्ताले भने।
‘यो सुनामी सामान्य तह (नर्मल टाइड लेबल)को रहने र लगभग ०.१ मिटरले पार गर्ने अनुमान गरिएको छ,’ पूर्वानुमानकर्ताको थप कथन छ।
ताइवानमा गएको भूकम्पको धक्का सय जनाभन्दा बढी हङकङवासीले पनि महसुस गरेको हङकङ अब्जर्भेटरीले जनाएको छ।
उनीहरूले केही सेकेन्डसम्म हल्का हल्लिएको महसुस गरेको रिपोर्ट प्राप्त गरेको अब्जर्भेटरीले जनाएको हो।
धक्का महसुस गर्नेमध्ये एक हङकङकी गायक तथा गीतकार सेरुरिया लेउङ हुन्। उनी ताइपेइको मन्डारिन ओरिएन्टल होटलमा सुतिरहेकी थिइन्। त्यसैबेला उनले भूकम्पको धक्का महसुस गरिन् र आफ्ना केही सामान लिएर खुला क्षेत्रमा गइन्।
‘भूकम्पले यसरी हल्लायो कि म तुरुन्तै कुर्सीमुनि लुकेँ,’ सेरुरियाले इन्स्टाग्राममा लेखेकी छन्, ‘झुम्मरहरू निकै हल्लिँदै फुटेका थिए।’
अब्जर्भेटरीका अनुसार बुधबार बिहान ७.५८ बजे ताइवानको ह्वालियन काउन्टीबाट १५ किलोमिटर दक्षिणपूर्वमा भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइ रहेको छ।
ताइवानमा पहिलो भूकम्प गएको १३ मिनेटपछि ६.४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। यो भूकम्प हुआलियनको २५ किलोमिटर उत्तरपूर्वमा गएको हो।
साथै, ताइवानमा पहिलो भूकम्प गएको तीन घण्टाको अन्तरालमा दर्जनौँ परकम्प गइसकेको त्यहाँको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनले बताएको छ।
ताइवानमा आज (बुधबार) बिहान गएको भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। (एससीएमपी)
Shares
प्रतिक्रिया