अघिल्लो बुधबार हङकङको जोर्डनस्थित न्यु लकी हाउसमा भएको भीषण आगलागीमा परी पाँच जनाको ज्यान गयो भने दर्जनौँ व्यक्ति घाइते भए।
यो घटनाबाट झस्किएको सरकारले सहरको अग्नि सुरक्षा कानुन परिमार्जनको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने भएको छ।
हङकङका प्रमुख कार्यकारी जोन लीले साप्ताहिक कार्यकारी परिषद्को बैठकअघि बोल्दै कानुनमा सुधार तथा संरचनात्मक परिवर्तनको कार्यलाई तीव्रता दिने बताएका हुन्।
‘कानुनको पालना नगर्नेहरूलाई गरिने कारबाहीको समयावधि घटाउने प्रयास गर्नेछौँ,’ सम्बोधनका क्रममा लीले भने, ‘हामी कामको प्राथमिकता तयार गर्नेछौँ। जुन भवनले आगलागीको उच्च जोखिम र संरचनात्मक खतरा निम्त्याइरहेका छन्, तिनीहरूलाई प्राथमिकतामा राखिनेछ।’
जिम्मेवार व्यक्तिलाई लागत र जरिवाना पनि थप्ने योजना रहेको लीले बताए।
सुधारका लागि सरकारले फायर सेफ्टी (भवन) अध्यादेशमा संशोधन प्रस्ताव पेस गर्नेछ। जुन परिमार्जनले ढिलाइको अवस्थामा अधिकारीहरूलाई अग्नि सुरक्षाका लागि आवश्यक सुधार गर्न सक्ने अधिकार प्रदान गर्नेछ।
संशोधन प्रस्ताव यो वर्षभित्रै विधायिका परिषद्मा पेस गर्नेगरी कामलाई तीव्रता दिने प्रमुख कार्यकारी लीले बताएका छन्।
द स्ट्यान्डर्डले जनाएअनुसार उनले आगलागीको जोखिम कम गर्न र समग्र सुरक्षा सुनिश्चित गर्न भवनहरूको मर्मतसम्भार गर्न भवन मालिकहरूलाई आग्रह पनि गरेका छन्।
व्यक्तिगत लाभका लागि सुरक्षा कार्य नगरिनु अस्वीकार्य रहेको उनले बताए।
विकास ब्युरोका अनुसार हङकङमा करिब ९४० आवासीय तथा मिश्रित प्रयोग भवन सात दशकभन्दा पुराना छन्। यसको बढीजसो संख्या काउलुनमा रहेको छ।
Shares
प्रतिक्रिया