हङकङका वित्तीय सेवा तथा ट्रेजरी सचिव क्रिस्टोफर हुईले मार्चको अन्त्यसम्ममा सहरमा १३६ वटा पारिवारिक कार्यालय सञ्चालन वा विस्तारको तयारीमा रहेको खुलासा गरेका छन्।
ती पारिवारिक कार्यालयमा मुख्यभूमि आधारित ८२, युरोपका २७, एसियाका १३, मध्यपूर्वका नौ, ओसियानाका चार र उत्तर अफ्रिकाका एक रहेका छन्।
बुधबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सचिव हुइले उक्त कुरा बताएका हुन्।
यस्तै, सहरको लगानी प्रवर्धन एजेन्सी इन्भेस्टएचकेमा आबद्ध टोलीले सोही अवधिमा ६४ वटा पारिवारिक कार्यालय सञ्चालन वा विस्तार गर्नेछन्।
जसमा मुख्यभूमिबाट ४९, एसियाका आठ, उत्तर अमेरिकाका चार र युरोपका तीन वटा रहेका छन्।
‘सरकारले कानुन र नियम पालना गरी स्थापना हुने सबै पारिवारिक कार्यालयलाई हङकङमा स्वागत गर्दछ,’ सचिव हुइको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख गरिएको छ, ‘सरकारले तिनीहरूलाई आवश्यक र उपयुक्त सहयोग प्रदान गर्नेछ, जसले वित्तीय, व्यावसायिक र आर्थिक विकासलाई बढावा दिनेछ।’
सचिव हुइले इन्भेस्टएचके टोलीले सन् २०२५ को अन्त्यसम्ममा हङकङमा कम्तीमा दुई सय पारिवारिक कार्यालय सञ्चालन वा विस्तार गर्ने आशा पनि व्यक्त गरे।
पारिवारिक कार्यालय स्थापना गर्नेबारे जुन २०२१ देखि गत महिनाको अन्त्यसम्ममा ६५० भन्दा बढी सोधपुछ प्राप्त गरेको र यसमा अधिकांश मुख्यभूमिका साथै दक्षिणपूर्वी एसियाली देश, मध्यपूर्व, युरोप र अमेरिकाबाट प्राप्त भएको पनि हुइले बताए।
Shares
प्रतिक्रिया