हङकङमा साम्पाङ साँझ सम्पन्न भएको छ।
किरात राई यायोख्खा हङकङको भाषिक संस्था साम्पाङ जुम्लेखा हङकङको आयोजनामा सोमबार युनलोङ स्थित अडिटोरियम थिएटर हलमा नेपालका ख्याति प्राप्त कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए।
देशप्रेमले ओतपोत भएको गीतमा स्थानीय नेपालीको नृत्य टोलीले आकर्षक नृत्य द्वारा थालिएको साङ्गितिक मेलोलाई बोल्ड गायिका आस्था रावतले मैझारो गरेकी थिईन्।
नवोदित गायक राकेश किरातीको ‘चालिसेले छोयो नि ए लै बुढो भैयो’ भन्ने गीतले धेरै जसो चालिस कटेका दर्शकहरुको मुटुलाई चस्सै पारेको थियो भने रोमान्टिक गायक कुशल थलङको ‘शिरबन्दी च्याट्टै निधारमा कति सुहाको’ मारुनी गीतले धेरैलाई गाउँघरको स्मरण ताजा गराईदिएको थियो। उनले ‘रितु राम्रो बसन्तले’ भन्ने रोमान्टिक गीत प्रस्तुत गरे।
युवाहरुको आईकन बनेकी स्विटी एन्ड क्युटी एलिशा राईको ठमेल बजार नृत्यले धेरैलाई मदहोस बनाएको थियो भने ‘नाई मलाई था छैन’ जस्ता नृत्यले निकै वाहिवाही पाएको थियो।
चर्चित हास्य कलाकार मनोज गजुरेलले हङकङको ब्यस्त दैनिकिले तनाव झेलिरहेका हङकङ्गेली नेपालीहरुको मनलाई उनको हास्य व्यंग्य थेरापी गरिदिए भने पुष्प कमल दाहालको क्यारिकेचर गरेर पेट मिचिमिची हाँस्न बाध्य पारे।
लोक दोहोरीमा बजार पिटेर बिदेश सयरमा भ्याई नभ्याई बनेका कुलेन्द्र बिकको ‘सालको पात टपरी हुने’ गीतले सबैलाई नाच्न बाध्य मात्र पारेन, हङकङमा पुर्बेली र पश्चिमे भन्ने क्षेत्रीयताको पर्खाललाई भत्काएर सद्भावको सन्देश समेत फैलाए।
प्रस्तुतिको बिट आस्था रावतले मारिन्। बोल्ड तथा कामुक गायिकाको परिचय बनाएकी आस्था राउतले ‘चौबन्दी र पटुकी, झुम्के बुलाकी लगायत केही नयाँ गीतहरु प्रस्तुत गरेकी थिईन्।
हङकङमा रहेका राईहरुको आफ्नै निजी भवन ‘सुप्तुलुङ खिम’ मा दुई वटा सयन कक्ष निर्माणार्थ उक्त साङ्गितिक साँझ आयोजना गरिएको हो। हङकङमा सम्पन्न हुने अन्य साङ्गीतिक कार्यक्रमहरुमा सहभागी कलाकार छनौटमा सबैभन्दा समाबेशी भएको आयोजक समितीका संयोजक शशीमदन राई र आर्थिक संयोजक धिरज राईको भनाई छ।
प्रतिक्रिया