हङकङवासी जुनु राना ‘रातो नदी’ कविता सङ्ग्रह लिएर आउँदैछिन्।
सन् २००३ मा नेपालको बागलुङबाट आई हङकङलाई कर्मथलो बनाएकी रानाले लामो समयदेखि फुटकर कविता लेख्दै आएकी छन्।
तिनै कवितालाई समेटेर सङ्ग्रहको रूपमा प्रकाशित भएको रानाले नेपालखबरलाई बताइन्।
‘रातो नदी’ भित्र कुल ६८ वटा कविता समेटिएका छन्।
सङ्ग्रहमार्फत महिलालाई समाजमा शक्तिको धरोहरको रूपमा चित्रण गर्न खोजिएको कवयित्री राना बताउँछिन्।
पुस्तकको नामजस्तै सङ्ग्रहभित्र एउटा कविता छ- ‘रातो नदी-१’। जहाँ कवयित्री पोखिन्छिन्-
हरेक महिना
एक ‘रातो नदी’ बगाएर
साबिकको दिनचर्या
विश्व समाजको चिन्तन
र चासोसहितको
चट्टानी आँट लिएर
जीवन-सङ्घर्षको रणभूमिको एक योद्धा म
महिनावारीका बेला महिलालाई धेरै किसिमका सामाजिक तथा सांस्कृतिक बन्धन नेपाली समाजमा अद्यापि कायमै छन्।
तर, यो कमजोरी नभई महिलाको शक्ति भएको लेखकको ठहर छ।
उसो त, पुस्तौँदेखि महिनावारीलाई पाप र धर्मको व्याख्यासँग जोड्दै आएको नेपाली समाजमा पनि पछिल्लो समय यो पर्खाल भत्किँदै छ। राज्यस्तरबाटै पनि कुरीतिको अन्त्यका लागि पहल भइरहेकै छन्। त्यसमाथि हङकङ जस्तो विकसित सहरमा पुगेका नेपालीमा त यसप्रति धारणा पक्कै बदलिएकै छ।
‘एक त साँघुरो परिवेशबाट माथि उठिसकेपछि मानिसमा चेतनाको स्तर पनि बढ्ने नै भयो,’ राना भन्छिन्, ‘त्यसमाथि हङकङ जस्तो व्यस्त दैनिकी भएको ठाउँमा यो सम्भव छैन र मानिसलाई फुर्सद पनि हुँदैन।’
महिला सृष्टिकर्ता हुन्। उनी सृष्टिकर्ता हुनुको शक्तिका लागि पहिलो र न्यूनतम योग्यता महिनावारी हो। त्यसैले महिनावारी घिन, लाज र हीनताबोधको विषय होइन। यो त शक्ति हो। रानाले कवितामा पनि यही भनेकी छन्-
घिन, लाज र हीनताबोध
यो रातो नदीको अस्तित्वमा छैन
जसले आफ्नो अस्तित्वको अर्थ दिएको छ
धर्म र समाजले बनाएका सीमा
संस्कृति र संस्कारले सीमाङ्कन गरेका परिधि
रातो नदीले बोक्ने आँधीले नामेट पार्दछ।
महिनावारी हुँदा महिला पीडामा हुन सक्छिन्। शारीरिक अवस्थामा कमजोर रहेको बेला खानपिनदेखि हरेक कुरामा उनलाई झन् बढी रेखदेख हुनुपर्नेमा उल्टो घिन र तिरस्कार होइन कि सम्मान गरिनुपर्ने उनको तर्क छ।
गलेको देहलाई झन् गलाउने सामाजिक कुरीतिप्रति राना कवितामा विद्रोहभाव देखाउँछिन्। सृष्टिकर्ताको पहिलो योग्यतालाई तिरस्कार होइन, माया, सद्भाव र आँटको खाँचो देख्छिन् उनी-
जुन नदीले सृष्टिको अस्तित्व बोक्दछ
विश्वविजेता, ज्ञान र धर्मको व्याख्याता जन्माउने
अशोक र अलेक्जेन्डर
बुद्धत्वको निर्भानापथ
चोमोलुङ्माको शिर टेक्ने वीर
अनेकन् शूरवीर सृष्टि गर्ने
यो रातो नदी
ब्रह्माण्ड अस्तित्वको सार हो।
रानाको यो पहिलो पुस्तकाकार कृति हो। पुस्तकभित्र ‘नारीवाद’ स्पष्ट झल्कन्छ।
‘पराई’ शीर्षकको कवितामा उनी यसरी प्रस्तुत हुन्छिन्-
माइती भन्छन्
तिमी पराई कि धन
घरका भन्छन्–
तँ पराई कि छोरी
रगत एक
गर्भ एक
छोरा घरको
छोरी परको।
यद्यपि, पुस्तकभित्र यौवन, प्रेम, जातीय परिवेश, भौगोलिक परवेश, समसामयिक राजनीति, महिलाका सवाल आदि धेरै विषय समेटिएका छन्। समग्रमा पुस्तकलाई सामाजिक विषयवस्तुमा आधारित भन्न रुचाउँछिन् उनी।
काठमाडौँमा नेपालखबरसँगको भलाकुसारीका क्रममा राना एउटा प्रसंग सम्झिन्छिन्, ‘उहिले हाम्रा बाजेहरू हप्तौँ लगाएर नुन लिन बटौली (बुटवल) जानुहुन्थ्यो। नुनका ढाकर पिठ्यूँमा बोकेर हप्तौँ लगाएर फर्कनुहुन्थ्यो।’
यो प्रसंगलाई उनी ‘लाहुरे’ कवितासँग तुलना गर्छिन्। जहाँ ‘वीर गोर्खाली’को वीरता गाथा वर्णित छ–
बिक्री भएको छाती
लाहुरे बन्छ
मगजभरि
थाप्छ
‘वीर गोर्खाली’ को उपमा।
त्यसो त उनले ‘नुन’ कवितामा यसरी लेखेकी छन्-
नुनकै खोजीमा
छरिए संसारभर नुनको सोझो भएर
नुनको दास भएर
फोकल्यान्डको टापुदेखि
बोर्नियोको झाडीसम्म पुगे पुर्खाहरू
मलायाको घना दलदल हुँदै
आइपुगेका हुन्
हङकङको शेककोङसम्म
त्यस्तै, बर्खा लागेसँगै नेपालमा बर्सेनि ठूलो संख्यामा जनधनको क्षति हुनु तीतो यथार्थ जस्तै छ। अर्कोतिर यहाँको राजनीतिक अस्थिरताले जनतामा निराशा उस्तै छ।
राना प्राकृतिक बाढी र राजनीतिक बाढीलाई ‘बाढी पहिरो’ कवितामा यसरी समेट्छिन्-
प्राकृतिक दशाले देश डुब्दा
डुब्ने देशवासी
राजनीतिक दशाले देश डुब्दा
रुने देशवासी
विडम्बना !
बाढीले गरिब नै रोज्छ
पहिरोले जनता नै खोज्छ।
हङकङमा जागिरे जीवनबाट बचेको समयमा नेपाली समाजको तत्का-तप्का चिहाएर लेखिएका कविताको सङ्ग्रह ‘रातो नदी’ आउँदो शनिबार (२९ जुन) मा मण्डला थिएटर (नेपाल)बाट विमोचन हुँदैछ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रम दिउँसो साढे १ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया