हङकङकै पहिलो नेपाली जिल्ला परिषद् सदस्य अरुणा गुरुङको सम्पर्क कार्यालय उद्घाटन

जिल्ला काउन्सिलर र विधायिकी परिषद् सदस्य पनि जोडिए
हङकङकै पहिलो नेपाली जिल्ला परिषद् सदस्य अरुणा गुरुङको सम्पर्क कार्यालय उद्घाटन

नेपालखबर
असार २७, २०८१ बिहिबार १६:१८, हङकङ

हङकङको याउचि मङ जिल्ला परिषद् सदस्य अरुण गुरुङ, जिल्ला काउन्सिलर एलेक्स पुन र विधायिकी परिषद् सदस्य विन्सेन्ट चेङसहितको संयुक्त कार्यालय उद्घाटन भएको छ।

गुरुङ १२ डिसेम्बर २०२३ मा यस जिल्लाको जिल्ला परिषद् सदस्य चयन भएकी थिइन्। यस्तै सोही जिल्लामा एलेक्स पुन जिल्ला काउन्सिलर र विन्सेन्ट चेङ विधायिकी सदस्य छन्।

मंगलबार (९ जुलाई) एक समारोहका बीच तीन जनाको संयुक्त कार्यालय उद्घाटन भएको हो।

उद्घाटनपछि फेसबुकमार्फत खुसी साट्दै गुरुङले उद्घाटन समारोहमा आउने सबैलाई धन्यवाद दिएकी छन्।

‘साथीहरू, पाहुना, समुदायका नेतालगायत सबैलाई यस भव्य कार्यक्रममा आउनुभएकोमा र समर्थन जनाउनुभएकोमा हृदयदेखि कृतज्ञ छु,’ उनले लेखेकी छन्, ‘यो विशेष अवसरको साक्षीका रूपमा तपाईँहरूलाई यहाँ देख्न पाउनु मेरो लागि धेरै महत्त्वपूर्ण छ।’

साथै, संयुक्त कार्यालयका अन्य दुई सहयात्रीलाई उत्कृष्ट सेवासहितको सहयात्राका लागि आफू प्रतिबद्ध रहेको गुरुङको कथन छ।

‘प्रिय साथीहरू काउन्सिलर एलेक्स पुन र विधायिकी परिषद् सदस्य विन्सेन्ट चेङलाई याउचि मङ जिल्लाको सेवा गर्न हाम्रोतर्फ उत्कृष्ट प्रयास गर्ने वचनबद्धता व्यक्त गर्दछु,’ गुरुङले भनेकी छन्।

अरुणा गुरुङ जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दैै नेपाली समुदायबाट यो पदमा पुग्ने पहिलो नेपाली हुन्।

हङकङका जातीय अल्पसंख्यक समुदायलाई सरकारका अंगमा समावेश गर्ने उद्देश्यले सरकारले विभिन्न समुदायबाट प्रत्येक कार्यकालका लागि सदस्य चयन गर्ने गर्दछ। यो व्यवस्था यहाँको आधारभूत कानुनमै रहेको छ।

यो कार्यकालमा याउचि मङ जिल्लाका लागि अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने गुरुङ एक्लो प्रतिनिधि हुन्।

यस जिल्लाका याउमा तेइ र जोर्डन क्षेत्रमा नेपालीको बाक्लो बसोबास छ।

सन् २०२७ सम्म कार्यकाल रहने उनको कार्यारम्भ गएको जनवरी १ देखि सुरु भएको हो।
 
स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङ विगतदेखि सामाजिक कार्यमा क्रियाशील रहँदै आएकी छन्। उनी नेपालीका अलावा भारतीय, पाकिस्तानी समुदायसँग पनि उत्तिकै घुलमिल छन्।

यसअघि गुरुङले महिला आयोगको सदस्य, जातीय सद्भाव प्रवर्धन समितिको सदस्यमा सक्रिय भूमिका निभाइसकेकी छन्।

त्यस्तै, सन् २००६ मा होम अफेयर्स डिपार्टमेन्टको ‘द प्रमोसन अफ रेसल हार्मोनी’ मा बसेर काम गरिन्। यो समिति अल्पसंख्यक समुदायको कुरा सुन्दिने एड्भाइजरी बोर्ड हो। उनी यसको सदस्य थिइन्।

त्यस्तै, याउचि मङ क्षेत्रको साउथ एरिया कमिटीमा ६ वर्ष काम गरिन् भने पछिल्लो समय यसै जिल्लाको फायर सेफ्टी कमिटी सदस्यको भूमिका निभाइन्।

सामाजिक क्षेत्रमा उनको योगदान दुई दशकभन्दा बढी छ। उनको यो योगदानलाई उनले पाएका विभिन्न समयका पदक र सम्मानले पनि पुष्टि गर्दछन्। उनी हङकङ सरकारबाटै सम्मानित भइसकेकी व्यक्तित्व हुन्।

उनलाई सरकारले सन् २०१२ मा ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’बाट सम्मान गरेको थियो।

यस्तै, गतवर्ष एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ उनलै जितेकी थिइन्।

हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानको मूल्याङ्कन गर्दै दि हङकङ फेडरेसन अफ कमर्स फर स्मल एण्ड मिडियम इन्टरप्राइजेजले उनलाई यो अवार्ड प्रदान गर्ने गरेको थियो।

विभिन्न क्षेत्रका ११ जनालाई प्रदान गर्ने गरिएको यो अवार्ड नेपाली समुदायबाट अरुणा गुरुङलाई प्रदान गरिएको थियो।

लामो समयदेखि हङकङ बस्दै आएकी गुरुङसँग हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा ३२ वर्षको सेवा अनुभव छ। उनले दुई वर्षअघि मात्रै ‘इन्फ्लाइट सर्भिस म्यानेजर’ पदबाट अवकाश लिएकी थिइन्।

हङकङमा यो तहको पोजिसनमा काम गर्ने नेपाली सायदै होलान्।

याउचि मङ जिल्लाको जिल्ला परिषद् सदस्य चुनिएपछि गुरुङले नेपालखबरसँगको कुराकानीमा नेपाली समुदायका लागि मुख्य चार क्षेत्रमा केन्द्रित रहेर काम गर्ने बताएकी थिइन्।

जसमा शिक्षा, स्वास्थ्य, जागिर र वृद्धाश्रम खोल्ने काम आफ्नो विशेष प्राथमिकतामा रहने उनको भनाइ थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .