हङकङमा फेरीको भाडा २१ प्रतिशतसम्म वृद्धि, आइतबारदेखि लागु हुने

हङकङमा फेरीको भाडा २१ प्रतिशतसम्म वृद्धि, आइतबारदेखि लागु हुने

समायोजित भाडा आइतबारदेखि लागु हुनेछ (तस्बिर : सटरस्टक)


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १५:३९, हङकङ

हङकङमा सेन्ट्रल र डिस्कभरी बेबीच चल्ने फेरीको भाडामा वृद्धि हुने भएको छ। बढेको भाडा आइतबारदेखि लागु हुनेछ।

यातायात विभागले शुक्रबार घोषणा गरेको मूल्यवृद्धि अनुसार भाडा २१ प्रतिशतसम्म वृद्धि हुने भएको हो।

यसअघि डिस्कभरी बे ट्रान्सपोर्टेसन सर्भिसेज लिमिटेडले ६० प्रतिशतसम्म वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको थियो।

सरकारी राजपत्रमा प्रकाशित पछिल्लो भाडा संरचनाअनुसार अब नगद भुक्तान गर्ने वयस्क तथा डिस्कभरी बे सेवा व्यवस्थापनमा दर्ता नभएका अक्टोपस कार्ड प्रयोग गर्नेले हङकङ डलर ५५.८ तिर्नुपर्नेछ। यसअघि यो ४६ हङकङ डलर थियो।

सेवा व्यवस्थापनमा अक्टोपस कार्ड दर्ता भएका वयस्कले भने ३८.२ हङकङ डलर तिर्नुपर्नेछ। यो हालको मूल्यमा १४ प्रतिशत वृद्धि हो।

यसैगरी मान्यता प्राप्त अक्टोपस कार्ड भएका वृद्ध यात्रुले हङकङ डलर २४ तिर्नुपर्नेछ। डिस्कभरी बेमा बस्ने २६ वर्षमुनिका विद्यार्थी र १ देखि १२ वर्षसम्मका बालबालिकालाई हङकङ डलर १९.१ शुल्क लाग्नेछ।

यातायात विभागले पश्चिम जिल्ला परिषद्मा पेस गरेको कागजातमा फेरी सेवाको लागि अन्तिम पटक ६ वर्षअघि जुन २०१८ मा भाडा समायोजन गरिएको उल्लेख छ।

उक्त कागजात भनिएको छ– यात्रु संख्या घटेको छ। ज्याला र इन्धन जस्ता सञ्चालन लागत बढ्दै गएका छन्। बढ्दो परिचालन लागत पूरा गर्न संकलित राजस्व अपर्याप्त छ।

‘उपयुक्त भाडा समायोजनले डिस्कभरी बेका बासिन्दा र आगन्तुकका लागि पानी यातायात सेवा उपलब्ध गराइराख्न फेरी सेवाको सञ्चालनमा निरन्तरता दिन मद्दत गर्नेछ,’ विभागले परिषद्लाई बुझाएको कागजातमा भनिएको छ।

सेवाको विगतको कार्यसम्पादनका साथै सञ्चालन लागत, राजस्व र प्रतिफल दरमा हुने अनुमानित परिवर्तन जस्ता कारकलाई ध्यानमा राखी मूल्यवृद्धि गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ।

भाडा वृद्धिका सम्बन्धमा जिल्ला काउन्सिलर जोनाथन चाउले यात्रुहरूका लागि बोझ भएको टिप्पणी गरेका छन्।

अझ विभागले प्रस्ताव गरेको ६० प्रतिशत वृद्धि त ‘अस्वीकार्य’ नै भएको उनले बताए। बासिन्दाहरूको लागि भएको १४ प्रतिशत वृद्धि पनि अझै धेरै उच्च रहेको उनको धारणा छ।

‘बारम्बार यात्रा गर्ने यात्रुको लागि यो ठूलो आर्थिक बोझ हुनेछ,’ चाउ भन्छन्, ‘जस्तै, काम गर्नको लागि सेन्ट्रल जानुपर्ने र सेन्ट्रलका स्कुलमा पढ्ने बच्चाहरूका लागि यो बोझिलो हुनेछ। ’

बारम्बार यात्रा गर्ने यात्रुका लागि छुट र विशेष योजनाहरू ल्याउन उपयुक्त रहेको उनी बताउँछन्। जस्तै, १८ पटक फेरीको यात्रा पूरा गरेपछि २ वटा निःशुल्क यात्रा प्रदान गर्ने एउटा योजना हुनसक्छ।

यसले मानिसहरूलाई फेरी सेवा छनोट गर्न आकर्षित गर्ने पनि उनको दाबी छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .